नेपाल-भारत सीमा नाकामा सीसीटीभी क्यामरा जडान

नेपाल-भारत सीमा नाकामा सीसीटीभी क्यामरा जडान

धनगढी । कैलालीको गौरीफन्टा सीमा नाका र कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा सीसीटीभी क्यामरा जडान गरिएको छ। सीमामा आपराधिक गतिविधि नियन्त्रणको सीसीटीभी क्यामरा जडान गरिएको हो।

गौरिफन्टा हेल्थ डेस्कका इन्चार्ज गणेश साँउदले सीसीटीभी क्यामरा जडान भएसँगै थप सुरक्षित महशुस भएको बताए। उनले, सीसीटीभी क्यामराको सहायताले अब सीमानाकाबाट हुने चेलीबेटी बेचबिखन, मानव तस्करी लगायतका घटनाहरूको नियन्त्रण तथा रोकथाममा समेत सहज हुने विश्वास व्यक्त गरे।

नाकामा यसअघि चोरीका घटना र सामग्रीहरूको दुरुपयोग समेत हुने गरेकाे उनले बताए। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले “कोभिड-१९ विरूद्ध द्रुत प्रतिक्रिया र पूर्वतयारी निम्ति आइसोलेशन केन्द्र र सीमानाकाको सवलीकरणमार्फत प्रभावकारी केश व्यवस्थापन” (इको/आईओएम) परियोजनाअन्तर्गत दुवै नाकामा क्यामेरा जडान गरेको हो।

परियोजनाका संयोजक पाण्डव पुजाराले आप्रवासी तथा हेल्थ डेस्कको समग्र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सीसीटीभी क्यामरा जडान गरिएको बताए। “नाकामा आप्रवासीहरू लुटिने, ठगिने तथा दुर्व्यवहारमा पर्ने सम्भावना उच्च छ।” उनले, “यी र यस्ता घटनाहरूको निगरानी, नियन्त्रण र कारवाही गर्न सहज होस् भन्ने उद्देश्यले सीसीटीभी क्यामरा जडान गरेका हौँ।”

स्थानीय पालिका र जिल्ला प्रशासन कार्यलयसँगको समन्वयमा दुवै नाकामा सीसीटीभी क्यामरा जोडिएको उनले जानकारी दिए । हेल्थ डेस्क इन्चार्ज, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसँग छलफल गरी नाकामा आवश्यक स्थानमा क्यामरा जडान गरिएको छ भने, क्यामराको नियन्त्रणका लागि सशस्त्र प्रहरी बलको अस्थाई भवनमा मोनिटर राखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved