राष्ट्रपति भण्डारी, ओली र दाहाललाई भेट्दै चिनियाँ परराष्ट्रमन्त्री वाङ

नेपालभ्युज

राष्ट्रपति भण्डारी, ओली र दाहाललाई भेट्दै चिनियाँ परराष्ट्रमन्त्री वाङ

काठमाडौं । नेपालको तीन दिने भ्रमणमा रहेका चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले भ्रमणको अन्तिम दिन आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्दैछन्। राष्ट्रपति निवासमा विहान १० बजे चिनियाँ परराष्ट्रमन्त्री यीले राष्ट्रपति भण्डारीलाई भेट्ने कार्यक्रम तय भएको छ।

राष्ट्रपति भण्डारीसँग भेटे लगत्तै आज नै चिनियाँ परराष्ट्रमन्त्री यीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्ने कार्यक्रम छ। दुवै नेतालाई चिनियाँ परराष्ट्रमन्त्री यीले बौद्धस्थित हयात होटलमा भट्ने जनाइएको छ।
११ चैतमा नेपाल भ्रमणमा आएका चिनियाँ परराष्ट्रमन्त्री यीले १२ चैतमा नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गरेका थिए।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नेपालका परराष्ट्रमन्त्री र उनका चिनियाँ समकक्षीबीच भेटवार्ता भएको थियो। उक्त भेटमा विभिन्न ९ विषयमा सम्झौता भएका छन्। सम्झौतामा नेपाल–चीनबीच सन् २०१७ मा भएको बीआरआई सम्झौताका विषयमा भने केही प्रगति भएको छैन।

चिनियाँ परराष्ट्रमन्त्री यी नेपाल भ्रमणमा आउने सार्वजनिक भए लगत्तै बीआरआई कार्यक्रम अगाडी बढाउन चिनियाँ परराष्ट्रमन्त्री नेपाल भ्रमण्मा आउन लागेको चर्चा चलेको थियो।

नेपालको संसद्ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गरेको केही समयमा नै हुँदै गरेको चिनियाँ परराष्ट्रमन्त्रीको नेपाल भ्रमणका क्रममा हुने दुई पक्षीय छलफलमा बीआरआईले प्राथमिकता प्राप्त गर्ने अनुमान गरिएको थियो। यद्यपि, यस विषयमा ठोस प्रगति भने भएन।

नेपाल सरकारले निर्वाचनअघि बीआरआईका विषयलाई अगाडी नबढाउन चिनियाँ पक्षसँग आग्रह गरेका कारण पनि बीआरआईले प्राथमिकता प्राप्त नगरेको परराष्ट्र मन्त्रालयका एक अधिकारी बताउँछन्।

चिनियाँ परराष्ट्रमन्त्रीको नेपाल भ्रमणको तयारीमा समेत संलग्न परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार नेपालको आग्रहलाई चीनले सकारात्मक हिसाबमा लिँदै दुई पक्षीय सम्झौतामा समेत बीआरआईको विषय प्रवेश नगरेको हो।

अर्कोतर्फ प्रधानमन्त्री देउवासँग भएको चिनियाँ परराष्ट्रमन्त्रीको भेटमा भने प्रधानमन्त्री देउवाले ऋणमा नभई नेपालले चिनियाँ अनुदानमा विकास निर्माणको कार्य अगाडी बढाउन चाहेको बताएको प्रधानमन्त्रीको निकट एक जानकारले बताए।

यस्तै चिनियाँ परराष्ट्रमन्त्री यीले प्रधानमन्त्री देउवालाई चीन भारत प्लस वान अवधारणा अन्तर्गत सहकार्य गर्ने विषयमा प्रस्ताव राखेको समेत प्रधानमन्त्री निकट स्रोतले बतायो।

नेपाल भ्रमणमा आउन अघि दक्षिण एशियाका पाकिस्तान, अफगानिस्तान र भारत भ्रमणमा रहेका चिनियाँ परराष्ट्रमन्त्री यीले ११ चैतमा भारतका उनका समकक्षी एस.जयशंकरसँग पनि चीन भारत प्लस वान अवधारणाका विषयमा छलफल गरेका थिए।

दक्षिण एशियाको एक साता लामो भ्रमण सकेर आजै चिनियाँ परराष्ट्रमन्त्री स्वदेश फर्किने कार्यक्रम छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved