माओवादी केन्द्र फुटनजिक, नारायणकाजीनिकट दुई सांसद्ले ‘फ्लोर क्रस’ गरेको खुलासा

“ध्वनि मतका आधारमा निर्णय गरिएकाले परिणाममा अन्तर परेन तर त्यही दुई मतले एमसीसी फेल हुन पनि त सक्थ्यो,” ती नेताले भने, “पोखरेलले विपक्षमा बोल्नु ठूलो कुरा भएन तर विपक्षमा मत हाल्नु पार्टी अनुशासनको उल्लंघन हो ।”

नेपालभ्युज

माओवादी केन्द्र फुटनजिक, नारायणकाजीनिकट दुई सांसद्ले ‘फ्लोर क्रस’ गरेको खुलासा

काठमाडौं। प्रतिनिधिसभामा आइतबार राति भएको अमेरिकी सहायता सम्झौता एमसीसीसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा माओवादी केन्द्रका दुई जना सांसद्हरू गिरिराजमणि पोखरेल र अञ्जना बिसंखेले ‘फ्लोर क्रस’ गरी विपक्षमा दिएको खुल्न आएको छ।

सभामुख अग्निप्रसाद सापकोटाले ‘पक्षमा हुनेले हुन्छ भन्नुस्’ भन्दा हात नउठाएका दुवैले ‘विपक्षमा हुनेले हुन्न भन्नुस्’ भन्दा हात उठाएपछि सो पार्टीभित्र हल्लीखल्ली मच्चिएको छ ।

दुवै जनाले विपक्षमा मत हालेको सँगै बसेका माओवादी सांसद्हरूले देखेका र यो विषय अध्यक्ष प्रचण्डसमक्ष पनि राखिसकेको माओवादी स्थायी कमिटीका एक जना सदस्यले नेपालभ्यूजलाई जानकारी दिए ।

“सँगै बसेकाले हुन्न भन्ने पक्षमा हात उठाएको देखियो। सभामुखले मत विभाजनमा नलगे पनि ध्वनि मतबाट निर्णय गराउँदा पार्टी निर्णयको विपक्षमा मत हाल्नु भनेको अनुशासन उल्लंघन हो,” ती नेताले भने ।

“ध्वनि मतका आधारमा निर्णय गरिएकाले परिणाममा अन्तर परेन तर त्यही दुई मतले एमसीसी फेल हुन पनि त सक्थ्यो,” ती नेताले भने, “पोखरेलले विपक्षमा बोल्नु ठूलो कुरा भएन तर विपक्षमा मत हाल्नु पार्टी अनुशासनको उल्लंघन हो ।”

दुवै जना सांसद् पूर्वउपाध्यक्ष नारायणकाजी श्रेष्ठनिकट मानिन्छन् । माओवादी केन्द्रले एमसीसी अनुमोदन गर्ने निर्णय गरेलगत्तै आइतबार श्रेष्ठले त्यसको विरोधमा ट्विट गरेका थिए।

माओवादी केन्द्रले एमसीसी अनुमोदन गर्ने निर्णय गरेलगत्तै आइतबार श्रेष्ठले ट्विट गरेका थिए, ‘५ दलीय गठबन्धनमा अध्यक्ष कम्रेड प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्ने जानकारी गराउनुभएको छ। यो ‘निर्णय’प्रति मेरो गम्भीर असहमति र आपत्ति रहेको छ। आज बिहानको पार्टीको छलफलमा मलगायत केही कमरेडहरुले मतभेद राखिसकेका छौँ। यो महाधिवेशनको विरुद्ध छ र गलत छ ।’

श्रेष्ठले सोमबार बिहानै ट्वीटमार्फत् एमसीसी पास भएको दिनलाई ‘कालो दिन’को संज्ञा दिएका छन् ।

‘अन्तत व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराइछाडे,’ नारायणकाजीले ट्विटमा भनेका छन्, ‘आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रुपमा लिनेछन्। सम्पूर्ण देशभक्त शक्तिहरु एकताबद्ध होऔँ र नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौँ।’

पार्टीको महाधिवेशनले दिएको निर्देशनविपरीत एमसीसी पास गराउने निर्णय गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा पार्टी फुटनजिक पुगेको संकेत गरे। तर उनले छाडेर जानेले पार्टी चलाउन नसक्ने कुरा ०५४ सालमा  एमाले फुटाउने वामदेव गौतमलाई ‘विचरा वामदेव’ भन्दै उदाहरण पनि दिए ।

“यो भनेपछि भएभरका कार्यकर्ता मतिर केन्द्रित हुन्छन् भन्ने ठान्नुभयो होला । जनता ह्वार्र मतिर आउँछन् भन्ने ठान्नुभयो होला ,” प्रचण्डले नारायणकाजीकाे नामै लिएर भने, “असहमति राख्ने पनि आफ्ना तरिका हुन्छ । केन्द्रीय समिति बैठकमा राखेर छलफल गर्न सकिन्थ्यो। तर एमसीसीको विरोध गर्नेबित्तिकै जनताको समर्थन पाइन्छ भन्ने लागेको हुनसक्छ । विचरा वामदेवले महाकाली सन्धिपछि एमाले फुटाएकै हुन् तर शून्य भोट पाए, एक सीट पनि जितेनन्।”

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved