कांग्रेस प्रवक्ता महतले भने- एमालेले एमसीसी पारित गर्न सघायो, धन्यवाद

नेपालभ्युज

कांग्रेस प्रवक्ता महतले भने- एमालेले एमसीसी पारित गर्न सघायो, धन्यवाद

काठमाडौं। प्रमुख प्रतिपक्ष एमालेले औपचारिक रुपमा सहभागिता नजनाए पनि अनौपचारिक रुपमा एमसीसी पारित गराउन सहयोग गरेको नेपाली कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले बताएका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रवक्ता महतले एमसीसीबारे सकारात्मक दृष्टिकोण राखी संसदबाट पारित गराउन अनौपचारिक ढंगले भए पनि सहयोग गरेको भन्दै एमालेलाई धन्यवादसमेत दिए।

सो परियोजना संसदबाट अनुमोदन गराउन परिपक्व, सुझ्बुझ्पूर्ण र नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै नेपाली जनताले आफ्नो पार्टीको प्रशंशा गरेको प्रवक्ता महतको भनाइ थियो।

उनले भने, “एमसीसी सही ढंगले संसदले पारित गर्‍यो। त्यसमा विपक्षी दलको राजनीतिक कारणले औपचारिक सहभागिता नभएपनि उहाँहरुको पनि यसमा सहयोग रह्यो। हामीले यसरी बुझेको छौं। समग्रमा अपवाद बाहेक सबैको सहयोगबाट संसदले एमसीसी परियोजनालाई जुन पारित गरेको छ। यसले यसमा रहेको भ्रम र अन्यौलको माहौललाई समाप्त गरेको छ। र, यो क्रममा हाम्रो पार्टी सभापति, देशका प्रधानमन्त्री आदरणीय शेरबहादुर देउवाजीको सुझबुझपूर्ण, परिपक्वता र धैर्यताले यो विन्दुमा समझदारीका साथ यो परियोजनालाई संसदबाट पारित गर्ने आधार तयार भयो। त्यसको लागि हामी पार्टीकोतर्फबाट उहाँलाई पनि धन्यवाद दिन चाहन्छौं।”

प्रवक्ता महतले एमसीसी सम्झौंता पारित गराउन सबै दलको सहयोग रहेसँगै सोबारे जनस्तरमा उठेका भ्रमहरुको पनि निवारण भएको विश्वास व्यक्त गरे। एमसीसीबारे जनस्तरमा अझै केही भ्रम भए त्यसलाई निवारण गरेर अघि बढन आफ्नो पार्टी लागि रहने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।

एमसीसी परियोजना विशुद्ध विकास सहयोग भएको उल्लेख गर्दै प्रवक्ता महतले त्यसबारे नकारात्मक दृष्टिकोण राखिरहन आवश्यक नभएको तर्क समेत गरे।

प्रवक्ता महतले एमसीसीको डकुमेन्ट र संसदबाट पारित व्याख्यात्मक घोषणाले पनि एमसीसीबारे नकारात्मक टिप्पणी गर्नुपर्ने अवस्था नभएको दोहोर्‍याए। उनले भने, “बाँकी अझै केही भ्रम र अफवाह छन भने त्यसलाई पनि नेपाली कांग्रेस पार्टीले निरन्तर मेट्न निरन्तर लागिरहन्छ। र अझै पनि यस विषयलाई लिएर जो नकारात्मक दृष्टिकोण राखिरहनुभएको छ। उहाँहरूलाई पनि हामी अनुरोध गर्न चाहन्छौं–यो शुद्ध विकास सहयोग हो।”

प्रवक्ता महतले यो परियोजनाको रकम विद्युत प्रशारण लाइन र सडक परियोजनामा खर्च हुने भन्दै त्यसको कार्यान्वयनमा आफ्नो पार्टी केन्द्रित हुने बताए। यो परियोजना संसदबाट पारित भएसँगै नेपालको आवश्यक्ता अनुसार बाह्य लगानी आउने नयाँ नजिर स्थापित भएको पनि उनले बताए।

एमसीसी सर्वस्वीकार्य बनिसकेको पनि उनले दाबी गरे। प्रतिपक्षी एमाले अन्य कारणले संसदमा नाराबाजी गरिरहेको प्रसंग निकाल्दै सत्ता गठबन्धन र प्रतिपक्षी दुवै एमसीसीमा सहमत भएका दाबी गरे । “र यो अवस्था ल्याउनुमा प्रधानमन्त्री शेरबहादुर देउवाको भूमिका महत्वपूर्ण छ”, उनले भने, ‘ढिलो भए पनि झुठको अन्तय र सत्यको जित भएको छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved