कोशी अस्पताललाई १७ करोड बक्यौता तिर्न बीमा बोर्डको आलटाल

यता, पटकपटक सूचना निकाल्दा पनि अस्पतालले पैसा क्लेम नगरेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ। अस्पतालका शाखा अधिकृत सोभित रिजाल अस्पतालबाट मागदाबी पत्र प्राप्त नभएको बताउँछन्। उनी भन्छन्, ‘‘हामी बिल, भरपाई बिना जेल जाने गरी भुक्तानी दिन सक्दैनौं।”

कोशी अस्पताललाई १७ करोड बक्यौता तिर्न बीमा बोर्डको आलटाल

विराटनगर। नेपाल बीमा बोर्डले कोशी अस्पताललाई स्वास्थ्य बीमा बापतको १७ करोड रुपैयाँ बक्यौता निकासा गर्न आलटाल गरेको छ।

विराटनगरस्थित कोशी अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको रकम मागदाबी गरेको भन्दै स्वास्थ्य बीमा बोर्डले रकम निकासा गर्न आलटाल गरेको हो। बिरामीहरूले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपचार गराएपछि स्वास्थ्य बीमा बोर्डले अस्पताललाई १७ करोड भुक्तानी गर्नुपर्ने देखिन्छ। गएको २३ पुसमा कोशी अस्पतालले टेकुस्थित स्वास्थ्य बीमा बोर्डलाई स्वास्थ्य बीमाको रकम भुक्तानी गर्ने बारे चलानी नं. २०७५ भएको मागदाबी पत्र समेत पठाइसकेको छ। तर, अस्पतालले बिल, भरपाई सहित मागदाबी नै नगरेको भन्दै स्वास्थ्य बीमा बोर्ड रकम निकासा गर्नबाट पन्छिँदै आएको छ।

चालु आर्थिक वर्षको असार मसान्तदेखि नै अस्पतालले स्वास्थ्य बीमामार्फत् उपचार गराएका बिरामीको रकम निकासा पाएको छैन। २३ माघसम्म १७ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी देखिएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार चालु आवको असार मसान्तसम्मको मात्रै ४ करोड ३० लाख ९५ हजार ९११ रुपैयाँ मागदाबी भुक्तानी पाउन बाँकी देखिन्छ। त्यसयता साउनदेखि दाबी गरिएकोमध्ये २ करोड ६५ लाख ९१ हजार १२७ रुपैयाँ पनि अस्पतालले नपाएको बताएको। त्यसमध्ये स्वीकृत भएको ८५ लाख ६५ हजार १६८ रुपैयाँ पनि अस्पतालले प्राप्त गर्न बाँकी रहेको अस्पतालका लेखा प्रमुख राजेन्द्र सुवेदीले बताए। स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत दाबी नगरिएको औषधीको ४ करोड ५७ लाख ४२ हजार ४५० र सेवा प्रदान बापतको ५ करोड ४१ लाख ३२ हजार ९३१ रुपैयाँ पनि बीमा बोर्डबाट पाउन बाँकी रहेको उनले जानकारी दिए। तर, रकम भुक्तानीका लागि पत्राचार गरिसकेको भएपनि बीमा बोर्डले हालसम्म कुनै प्रक्रिया अघि नबढाएको उनको भनाइ छ।

यता, पटकपटक सूचना निकाल्दा पनि अस्पतालले पैसा क्लेम नगरेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ। अस्पतालका शाखा अधिकृत सोभित रिजाल अस्पतालबाट मागदाबी पत्र प्राप्त नभएको बताउँछन्। उनी भन्छन्, ‘‘हामी बिल, भरपाई बिना जेल जाने गरी भुक्तानी दिन सक्दैनौं। भोलि बेरुजु देखिए अख्तियार लाग्न सक्छ। जे पनि हुनसक्छ। पैसा पाउन उहाँहरूले बिल पेश गर्नुपर्छ।’’ कोशी अस्पतालका कर्मचारीहरूकै अकर्मण्यताको कारणले बक्यौता भुक्तानी गर्न नसकिएको बीमा बोर्डको तर्क छ।

बीमा बोर्डले रकम उपलब्ध गराउन आलटाल गर्दा कोशी अस्पतालमा कार्यरत कर्मचारीको तलब, अवकाश प्राप्त कर्मचारीको औषधी/उपचार तथा उपदान खर्च र अत्यावश्यक औषधी खरीदमा कठिनाई सिर्जना भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार बीमा बोर्डले विगतको अढाई वर्षदेखि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको रकम भुक्तानी गर्न बाँकी छ। बोर्डबाट विगत लामो समयदेखि बीमा कार्यक्रम अन्तर्गतको रकम प्राप्त नहुँदा अस्पताललाई स्वास्थ्य सामाग्री, ल्याबमा प्रयोग हुने केमिकल र आवश्यक औषधी खरिदमा समेत कठिनाई भएको अस्पतालको प्रशासन फाँटका कर्मचारी नवराज लुइँटेल बताउँछन्। ‘‘हामीले टेण्डर निकालेर स्वास्थ्य सामाग्री र औपधी खरिद गर्ने गरेका छौं। तर, अस्पतालसँग पैसा नभएको थाहा पाएपछि कसैले माग बमोजिमको औषधी र स्वास्थ्य सामाग्री आपुर्ति गर्न मान्दैनन,’’ उनी भन्छन्, ‘‘अस्पतालको सेवा प्रवाह चुनौतीपूर्ण छ।’’

अस्पतालमा कार्यरत कर्मचारीहरूले समेत ३ महीनादेखि तलब पाएका छैनन्। कोशी अस्पतालमा हाल अस्पताल विकास समितिमार्फत् नियुक्ति पाएर काम गरिरहेका २६७ जना कर्मचारीहरू छन्। जसमा समयमै तलब नपाएर १७० जनाभन्दा बढी कर्मचारीहरूको अवस्था दयनीय बनेको छ। बीमा बोर्डका कारण अवकाश प्राप्त १७ जना कर्मचारीहरूको अवस्था पनि उस्तै बनेको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलले नेपालभ्यूजलाई बताए।

अस्पतालबाट बीमितले बहिरङ्ग तथा अन्तरङ्ग सेवा, शल्यक्रिया, प्रसूति, फार्मेसी, ल्याब, फिजियोथेरापी र एक्सरे लगायतका सेवा लिँदै आएका छन्। सरकारले समयमै स्वास्थ्य बीमाको रकम उपलब्ध नगराए बाध्य भएर अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतका सेवा तत्कालका लागि बन्द गर्नुपर्ने अवस्था सृजना हुनसक्ने अस्पतालले जनाएको छ। अस्पतालले उधारोमा औषधि ल्याएर बिरामीलाई वितरण गरिरहेको छ। स्वास्थ्य बीमा कार्यक्रमले सर्वसाधारणको उपचार सहज भएपनि औषधीको लागि अस्पतालले लगानी गर्नसक्ने अवस्था नभएको अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले बताए। बोर्डमा पटकपटक रकम निकासाको लागि पहल गरिए पनि रकम नआएको उनको भनाइ छ।

निजी अस्पताललाई बोर्डले बीमाको रकम समयमै भुक्तानी गर्ने गरेको स्रोतको दाबी छ।

कोशी अस्पतालमा गएको साउनदेखि हालसम्म स्वास्थ्य बीमा कार्डमार्फत् ६७ हजार बिरामीले सेवा लिएका छन्। जसमा मासिक करीब ५ हजारभन्दा बढी र दैनिक ५ सयको संख्यामा बिरामी लाभान्वित भएको अस्पतालको तथ्याङ्क छ। कोशी अस्पतालमा २०७४ साल माघबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको हो। नेपालमा ४२ लाख २२ हजार ६ सय ११ जना बीमा कार्यक्रममा आबद्ध छन् भने प्रदेश १ मा १३ लाख ७५ हजार ६ सय ८२ जनाले बीमा गराएका छन्। प्रदेश १ मा सरकारी ७२, निजी २१ र सामुदायिक ५ गरि कुल ९८ वटा अस्पतालबाट बीमितहरूले सेवा पाईरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved