क्यालिब्रेशन फ्लाइटपछि ध्वजाबाहक विमानबाट परीक्षण उडान गर्छौंः मन्त्री आले

वैशाख १ गते ‘न्यू इअर विथ न्यू एअरपोर्ट’ को शुभारम्भ गर्ने योजना

नेपालभ्युज

क्यालिब्रेशन फ्लाइटपछि ध्वजाबाहक विमानबाट परीक्षण उडान गर्छौंः मन्त्री आले

बुटवल। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन फ्लाइट सम्पन्न भइसकेपछि नेपाल एअरलाइन्सको ध्वजाबाहक विमान वाइडवडीबाट परीक्षण उडान गरिने बताएका छन्।

उनले फागुन १५ गतेसम्म क्यालिब्रेशन फ्लाइट हुन्छ भनेर डेडलाइन तोकिए पनि करिब ८-९ दिन अघि नै छिटो काम शुरु भएको बताए।

शनिबार विमानस्थलको निरीक्षण पश्चात पत्रकारहरुसँग मन्त्री आलेले भने,”क्यालिब्रेशन फ्लाइट सम्पन्न गरिसकेपछि मलाई लाग्छ अब १०-१२ दिनको बीचमा नेपाल एअरलाइन्सको ध्वजाबाहक विमानबाट टेष्ट फ्लाइट गर्नेछौं।”

टेष्ट फ्लाइटपछि विमानस्थल उद्घाटनको तयारी गरिने उनले बताए। उनले क्यालिब्रेशन फ्लाइटको रिपोर्ट आइसकेपछि १ वैशाखमा ‘न्यू इअर विथ न्यू एअरपोर्ट’ को शुभारम्भ गरिने बताए।

मन्त्री आलेले भने, “विगतमा ५६ दिनमा क्यालिब्रेशन फ्लाइटको रिपोर्ट आउने कुरा भएको थियो, तर मैले ४२ दिनमा रिपोर्ट आउने गरी अहोरात्र खटेर काम गर्न आयोजना तथा एरो थाइ कम्पनीका प्रोजेक्ट म्यानेजर तथा नेपालका प्रतिनिधिलाई अनुरोध गरेको छु।”

अब बुद्ध जयन्तीमा विभिन्न देशका बौद्ध धर्मावलम्बीहरु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउने उनकोे भनाइ थियो। उनले भने, “मलाई लाग्छ हामीले चाप धान्न सक्दैनौं। “टर्मिनल भवन (टी-२) को लागि अर्थमन्त्रीसँग कुरा भएको उनले जानकारी दिए। टी-२ का लागि छिट्टै टेण्डर प्रक्रियामा बढ्ने उनले बताए। ‘यो राष्ट्रिय गौरवको आयोजना हो, काठमाडौंमा एउटा एयरपोर्ट थियो, अब दोस्रो विमानस्थलको शुभारम्भ गर्दैछौं,” उनले भने।

समस्याको रूपमा विमानस्थलमा हवाई अवतरणका क्रममा भारतमा रहेको आर्मी ब्यारेक नजिक भएकाले यो समस्या समाधानका लागि आफूले भारतका उड्डयन मन्त्रीलाई भेटेर सहयोग गरिदिनुपर्‍यो भनेर अनुरोध गरेको बताए। उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि यसबारे कुरा राख्दिनुपर्‍यो भनेर अनुरोध गरेको तर पछि कोभिड-१९ को महामारीले भ्रमण रद्द भएको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved