महेश खड्काले भने : वसन्त सापकोटाले मिडियाबाजी गरे

नेपालभ्युज

महेश खड्काले भने : वसन्त सापकोटाले मिडियाबाजी गरे

काठमाडौं। संगीतकार महेश खड्काले संगीत चोरी गरेको आरोप निराधार रहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संगीतकार खड्काले संगीतकार वसन्त सापकोटाको भनाइ खण्डन गरेका हुन्। संगीत चोरी गरेको भनी संगीतकार सापकोटाले उनीमाथि आरोप लगाएका थिए।

उनले बौद्धिक सम्पतिको चोरीको विषयमा कानूनी उपचार खोज्ने धेरै कानूनी उपाय छोडेर संगीतकार सापकोटाले मिडियाबाजी गरेर आफ्नो प्रतिष्ठामा आँच पुर्‍याएको बताए।

गायक प्रमोद खरेल र बाल गायिका रुक्साना लिम्बूले गाएको ‘नोगेन’ बोलको गीतको संगीत केही अंश चोरेको आरोप अर्का संगीतकार वसन्त सापकोटाले लगाएका छन्।

संगीतकार सापकोटाले आफूले संगीत भरेको नेपाली चलचित्र ‘सिलसिला’को सागरसरी भन्ने गीतको धेरै अंश चोरी भएको एक सार्वजनिक कार्यक्रममा आरोप लगाएका थिए। यसलाई संगीतकार खड्काले प्रमाणित गरेर देखाउन चुनौती दिए।

पछिल्लो समय नेपाली गीत संगीत र शब्द चोरीको आरोप प्रत्यारोपको सिलसिला चलेको छ। केही दिनअघि गायिका रचना रिमालले अन्जु पन्तले गाएको गीत ‘न बिर्से तिमीलाई, न पाएँ तिमीलाई’ गाएपछि गायिका रिमाल विवादमा आएको थियो।

यस्तै गायक दुर्गेश थापा ‘पैसा’ नामको गीतमा प्रयोग भएको शब्दको कारण निकै आलोचित बनेको थियो।

यता सार्वजनिक आरोप प्रत्यारोपमा उत्रिएका दुवै संगीतकार खड्का र सापकोटा आफ्नो प्रतिलिपि अधिकारका लागि कानूनी उपचारमा भने गएका छैनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved