ओलीसँग दुई घण्टा भेटेका शेखर कोइरालाले आफ्नै सभापति देउवासँग अझै पाएनन् भेट

पटकपटक भेट्ने प्रयास गरे पनि नेतृत्वको रूपमा नस्विकारेकाले सभापति शेरबहादुर देउवाले शेखर कोइरालालाई भेट समेत नदिएको विश्लेषकको मत छ।

ओलीसँग दुई घण्टा भेटेका शेखर कोइरालाले आफ्नै सभापति देउवासँग अझै पाएनन् भेट

काठमाडौं। नेपाली कांग्रेसको महाधिवेशन सकिएको दुई महीना बितिसक्दा पनि सभापति शेरबहादुर देउवा र उनका प्रतिद्वन्द्वी शेखर कोइरालाबीच भेट भएको छैन। कोइरालाले भेटको प्रयास गरे तापनि देउवाले समय नदिएका हुन्।

कोइरालालाई नेता नै स्वीकार नगर्ने मानसिकतामा देउवा रहेको कांग्रेसनिकट पुरञ्जन आचार्यको टिप्पणी छ।

आफ्नै सभापति देउवाले भेट नदिएका कोइरालाको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग भेट भएको छ। राष्ट्रिय राजनीति, स्थानीय तहको निर्वाचनलगायत अमेरिकी सहयोग परियोजना मिलिनेयम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) का विषयमा दुई नेताबीच छलफल भएको थियो। भेटवार्तामा कोइरालाले एमसीसी संसद्बाट पारित गर्नका लागि संसद्को अवरोध खुलाउन एमाले अध्यक्ष ओलीसँग आग्रह गरेका थिए।

“सभापति देउवा शेखर कोइरालालाई नेता स्वीकार नगर्नेगरी घेराबन्दी गरिरहनुभएको छ”, आचार्यले भने, “सभापति पदमा पराजित व्यक्तिलाई पार्टीको प्रतिस्पर्धी नेताका रूपमा स्वीकार गर्ने कांग्रेसभित्र चलन नै हो।”

१३ औं महाधिवेशनमा उनै देउवासँग सभापति पदमा पराजित रामचन्द्र पौडेललाई वरिष्ठ नेताको पद दिइएको थियो। तर कोइरालालाई त्यस्तो कुनै पद दिइएको छैन।

कांग्रेस महाधिवेशन पूर्वस‌ंस्थापन इतर समूहको नेतृत्व रामचन्द्र पौडेलले गर्थे। तर गत महाधिवेशनमा उनले आफ्नै समूहबाट सभापति पदका लागि आफूलाई सर्वसम्मत बनाउन सकेनन्, जसकारण सभापति पदमा उनले उम्मेदवारी नै दिएनन्। साथै उनले आफ्नै समूहका अन्य नेतालाई सहयोग पनि नगर्ने नीतिसहित तटस्थ बसे।

पूर्व पौडेल समूहबाट कोइरालासँगै प्रकाशमान सिंहले सभापतिमा प्रतिस्पर्धा गरेका थिए। सिंह पहिलो चरणबाट नै बाहिरिएका थिए।

कांग्रेसको चौधौँ महाधिवेशनमा पहिलो चरणमा सभापतिमा प्रतिस्पर्धा गरेका सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले दोस्रो चरणको प्रतिस्पर्धामा देउवालाई समर्थन गरेपछि कोइराला पराजित भएका थिए।

कोइराला सभापति पदमा पराजित हुँदै गर्दा उनको प्यानलबाट महामन्त्रीमा प्रतिस्पर्धा गरेका गगन थापा विजयी भए भने नव गठित कांग्रेसको केन्द्रीय समितिमा पनि कोइराला पक्षको सम्मानजनक उपस्थिति रहेको छ।

कोइराला निकट एक नेता भन्छन्, “पार्टीको महाधिवेशनले सभापति देउवालाई ६० प्रतिशतभन्दा कम कार्यकर्ताले भोट हाल्दा ४० प्रतिशतभन्दा बढी कार्यकर्ताको मत कोइरालालाई थियो। त्यसैले कोइराला कांग्रेसभित्रका अर्का नेता हुन्। तर प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवाले कोइरालालाई सँगै लिएर जाने मनस्थिति देखाएको पाइएन।”

महाधिवेशनमा प्रतिस्पर्धा पनि नगरेका र मतदान पनि नगरेका केही नेताले कोइरालालाई नेताको रूपमा स्वीकार नगर्न देउवालाई दबाब दिएको विश्लेषक पुरञ्जन आचार्यको आरोप छ।  भन्छन्, “पार्टीको महाधिवेशनमा प्रतिस्पर्धा पनि नगरेका र मतदान पनि नगरेका केही व्यक्तिले कोइरालाको अस्तित्व स्वीकार नगर्न दबाब दिएका छन्।”

शेखर कोइरालाले दुई घण्टा बिताए ओली निवासमा, कांग्रेसलाई गठबन्धनमुक्त बनाउनेबारे छलफल


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved