कानूनमन्त्रीकै अगाडि कुटिएका रामकाजी श्रेष्ठले प्रहरीमा जाहेरी दिए

कानूनमन्त्रीकै अगाडि कुटिएका रामकाजी श्रेष्ठले प्रहरीमा जाहेरी दिए

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीमा गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दु कुमार थापाकै अगाडि कुटिएका रामकाजी श्रेष्ठको जाहेरी प्रहरीले दर्ता गरेको छ।

गत सोमबार पोखरा महानगरपालिका-८ बुद्धमार्गमा उपभोक्ता समितिका कोषाध्यक्ष नारायण श्रेष्ठले उनलाई कुटपिट गरेका थिए। जाहेरी बिहीबार मात्रै दर्ता भएको छ।

अभद्र व्यवहारबाट शारीरिक नभई नैतिक चोट पुगेको बताएका श्रेष्ठको केस नम्बर ४ सय ३९ हो। उनले मुक्काले हानेर लडाएको भनेर अभद्र व्यवहारमा मुद्दा दर्ता गराएका हुन्। कास्की प्रहरीले सो विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।

पोखरा-८ न्युरोडस्थित बुद्धमार्गमा निर्माणाधीन ढलानको स्थलगत अवलोकनमा पुगेका गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापालाई गुणस्तर र लेवलिङ नमिलेको भन्दै पीडित श्रेष्ठले प्रश्न गर्दा उपभोक्ता समितिका कोषाध्यक्ष नारायण श्रेष्ठले हातपात गरेका थिए।

भएको यस्तो हो

पोखरा–८ न्युरोडको बुद्धमार्गमा ४ सय २० मिटर सडक ढलानको कार्य हुँदै थियो। महानगरको २५ लाख बजेटमा ढलान हुन लागेको थियो।

स्थानीय उपभोक्ता समितिमार्फत निर्माणाधीन ढलानको काम निरीक्षण गर्न गत सोमबार गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभामन्त्री थापासमेत बुद्धमार्ग पुगेका थिए। मन्त्रीलाई उपभोक्ता समितिका अध्यक्ष ऐनकुमार शाही नेतृत्वको टोलीले ढलानबारे प्रगति विवरण प्रस्तुत गरिरहेको थिए।

ढलानको लेबल नमिलेको भन्दै रामकाजी श्रेष्ठले आफै मिलाउँदै दिए। त्यतिकैमा मन्त्रीलाई गुणस्तर र लेवलिङबारे प्रश्न गरेका थिए। तर उपभोक्ता समितिका कोषाध्यक्ष नारायण श्रेष्ठले पीडित श्रेष्ठलाई चुप लाग्न दबाब दिँदै हस्तक्षेप गरेको स्थानीय प्रत्यक्षर्शीले बताए।

रामकाजीलाई अपमान गर्दै ‘तँ चुप बस्’सम्म भन्न भ्याएका सुन्नेहरूले बताएका छन्। पछि नारायणले हातपात नै गरेका थिए। कोषाध्यक्ष श्रेष्ठले मन्त्रीकै अगाडि धक्का मार्दा लडेर उत्तानो परेका थिए। उनले उठेर कानूनमन्त्रीसँग कारबाहीको जवाफ मागेका थिए। त्यो समय मन्त्री मूकदर्शक बनेर आफ्नो बाटो लागेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved