सञ्चालन नहुँदै बिग्रियो पुल, अख्तियारमा उजुरी

सञ्चालन नहुँदै बिग्रियो पुल, अख्तियारमा उजुरी
प्रतिकात्मक फोटो

पोखरा । पोखरा महानगरपालिकाका वडा नं ३३ लामगादी र वडा नम्बर ३२ गगनगौंडा जोड्ने पुल सञ्चालन हुनुअघि नै लच्किएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। निर्माणमा लापरबाही भएको भन्दै भ्रष्टाचार विरुद्ध नागरिक निगरानी संस्था कास्कीका सचिव रामबहादुर पौडेलको नेतृत्वमा रहेको टोलीले अख्तियारमा उजूरी गरेको हो।

‘सडकपुल आफ्नै भार थेग्न नसकी लच्किनुमा कमिसनको खेल भएको सोझै अनुमान लगाउन सकिन्छ,’ पौडेलले भने, ‘फास्ट ट्रयाकमा सूक्ष्म छानबिन गरी अनियमितामा संलग्न हुनेलाई कारबाही गरियोस् भनी उजुरी दिएका छौं।’ पौडेलले अख्तियारमा शुक्रबार उजुरी दिएको जानकारी दिए।

‘प्राविधिक र ठेकदारको लापरबाहीले गर्दा यस्तो हुन गएको हो। कमसल निर्माण सामाग्री प्रयोग भएका कारण पुल लच्किएको प्रारम्भिक अनुमान छ,’ उनले भने, ‘ज्ञान भएर पनि कमिसनको खेलमा लागेपछि समस्या आएको हो। मैले आफै पनि स्थलगत निरीक्षण गरेर हेर्दा पुलको स्टिल ट्रस्ट बाङ्गिएको छ भने स्टिल ट्रस्टसहितका माथिल्लो संरचना चर्किएको छ। परीक्षणमै यस्तो समस्या आउँदा बनावट कस्तो रहेछ भन्ने अनुमान लगाउन सकिन्छ,’ उनले भने।

६ करोडमा सम्झौता
६१ मिटर लामो पुल निर्माणका लागि एमएस इलिट कन्स्ट्रक्सन कम्पनी प्रालिसँग ६ करोड ११ लाख रुपैयाँमा सम्झौता भएको थियो। १८ महिनाभित्र काम सक्नेगरी भएको सम्झौता पुसमा सकिएको थियो। सम्झौता अवधिभित्र पुल निर्माणको ९८ प्रतिशत काम सकेपछि १० माघमा पुलको परीक्षण गर्ने तयारी थियो। त्यसपछि एक सातामै पुल हस्तान्तरण गर्ने योजना निर्माण कम्पनीको रहेको थियो ।

तर, पुल लच्किएपछि परीक्षण गर्न माटो बोकेर गएका टिप्परहरू बाटोबाटै फर्काइएको स्थानीयले बताए। पुलको गुणस्तर, डिजाइन जस्ता पक्षमा प्रश्न उठेको स्थानीय ऋषिराम अधिकारीले बताए।

छानविन चल्दैछ : वडाध्यक्ष आचार्य
पोखर–३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यले यस विषयमा छानविन चलिरहेको बताए। ‘काठमाडौंबाट प्राविधिक टोली आएर अध्ययन सुरु गरेको छ। चार दिनमा रिपोर्ट आउँला। त्यसपछि पुल निर्माणमा समस्या के रहेछ भन्ने बारे थाहा होला,’ उनले भने, ‘रिपोर्टमा के आउँछ त्यही अनुसार मर्मत गर्ने की पूरै पुल भत्काएर नयाँ ढंगबाट सुरु गर्ने निर्णय हुन्छ।’

उजुरीका आधारमा छानबिन गरी अध्ययन अघि बढाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोग कास्कीले जनाएको छ । पुल लच्किएको खबर आएपछि संघीय सांसद् विद्या भट्टराई र संघीय सांसद एवं एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीले छुट्टाछुट्टै निरीक्षण गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved