फ्रेन्च ओपन खेल्न अनिवार्य खोप लगाएको हुनुपर्ने

नेपालभ्युज

फ्रेन्च ओपन खेल्न अनिवार्य खोप लगाएको हुनुपर्ने
जोकोभिच २०१६ र २०२१ का फ्रेन्च ओपन विजेता हुन्।

काठमाडौं। यस वर्षको फ्रेन्च ओपन टेनिस प्रतियोगिता खेल्ने सबै खेलाडीले खोप लगाउनुपर्ने घोषणा फ्रान्स सरकारले गरेको छ। खोप नलगाएका नोभाक जोकोभिचका लागि यो अर्को टाउको दुखाई हो।
यहाँ, विश्व नम्बर एक जोकोभिचलाई कुनै विशेष छुट हुनेछैन। २२ मेई २०२२ मा प्रतियोगिता शुरू हुने भएकाले त्यसअघि खोप लगाउने विकल्प मात्रै उनीसँग छ।

हिजोमात्रै अस्ट्रेलियाको संघीय अदालतले त्यहाँको सरकारले गरेको जोकोभिचको भिसा स्थगनको पक्षमा फैसला सुनाएको थियो। खोप लगाएको प्रमाणपत्र नदेखाएको भन्दै अस्ट्रेलिया सरकारले उनको भिसा स्थगन गरेको थियो। त्यसयता, मुद्दा लडेपनि अदालतले विपक्षमा फैसला सुनाएपछि मेलवर्न ओपन नखेली विश्व नम्बर एक पूरुष खेलाडी जोकोभिच अस्ट्रेलियाबाट फर्किए।

यता, फ्रान्सेली संसद्ले आइतबारै सामाजिक गतिविधिमा सहभागी हुनका लागि अनिवार्य खोप लगाएको हुनुपर्ने विधेयक पास गरेको थियो। खेलकुद गतिविधिमा उपस्थित हुन पनि खोप अनिवार्य लगाएको हुनुपर्छ। यस विधेयक पास भएको केही घण्टाभित्रै फ्रान्सका खेलकुदमन्त्री रोक्साना मारासिनेऊले प्रतियोगिता खेल्नका लागि अनिवार्य खोप लगाएको हुनुपर्ने घोषणा गरेका हुन्। ‘‘यो नियम सरल छ। कानून लागू हुनासाथ खोप पास चाहिनेछ,’’ मन्त्री रोक्सानाले भने।

सर्बियाली नोभाक जोकोभिच टेनिस इतिहासकै सर्वाधिक सफल खेलाडीमध्ये एक हुन्। सन् २०१६ मा पहिलोपटक फ्रेन्च ओपन जितेका जोकोभिच डिफेन्डिङ च्याम्पियन अर्थात् २०२१ का समेत विजेता हुन्। पूरुषतर्फ सर्वाधिक धेरै ग्रान्ड स्लाम उपाधि जित्ने किर्तिमान स्विजरल्यान्डका रोजर फेडेरर, स्पेनका राफाल नाडाल र जोकोभिचको नाममा संयुक्त छ। उनीहरू सबैले २०–२० पटक उपाधि जितेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved