सहकारीहरुलाई आफ्ना सदस्यप्रति उत्तरदायी बन्न मन्त्री श्रेष्ठको आग्रह

सहकारीबाट तल्लो तहका जनता लाभान्वित हुने र सहकारी त्यहीअनुसार चल्ने भएकाले सोहीअनुसार भिजन पेपर तयार पारिरहेको पनि मन्त्री श्रेष्ठले जानकारी दिइन्।

नेपालभ्युज

सहकारीहरुलाई आफ्ना सदस्यप्रति उत्तरदायी बन्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीहरु आफ्ना सदस्यहरुप्रति उत्तरदायी बन्नु पर्नेमा जोड दिएकी छन्।

काठमाडौंमा आज आयोजित राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभा, एकाइ प्रतिनिधिहरुको सभामा मन्त्री श्रेष्ठले समुदायतर्फ सदैव जिम्मेवार बनेर आममानिसको भरोसा बढाउनु सहकारीको दायित्व भएको बताइन्।

मन्त्री श्रेष्ठले सहकार्यको भावनामा सञ्चालन हुने निकाय सहकारीमा सबैभन्दा बढी ब्याज रहेको भन्ने व्यापक रुपमा जनगुनासो आइरहेकाले यसलाई तत्काल निकास दिन आवश्यक रहेकोमा जोडसमेत दिइन्।

“सहकारीको सिद्दान्त, उद्देश्य र मर्मअनुसार नचल्दा वित्तीय सुशासन कायम हुन नसकी सहकारीप्रति बचतकर्ताको विश्वासमा कमी आएको देखिएको छ। सहकारी क्षेत्रमा देखिएका चुनौती र जोखिमलाई न्यूनीकरण गर्दै यस क्षेत्रप्रति आमनागरिकको विश्वास र भरोसा बढाउँदै लगानी गर्न आकर्षित गर्नु सबैको दायित्व हो,” उनले भनिन्।

मन्त्री श्रेष्ठले संविधानले सहकारीलाई आर्थिक विकासको मेरुदण्डका रुपमा लिएको र आर्थिक विकास र समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने भन्दै सहकारीहरुलाई सदस्य केन्द्रित भई व्यावसायिक बनाउनुपर्नेमा दुई मत नरहेको पनि बताइन्।

सहकारीबाट तल्लो तहका जनता लाभान्वित हुने र सहकारी त्यहीअनुसार चल्ने भएकाले सोहीअनुसार भिजन पेपर तयार पारिरहेको पनि मन्त्री श्रेष्ठले जानकारी दिइन्।

सहकारीको सिद्धान्त मूल्य मान्यता र प्रचलित ऐन कानूनको पूर्ण परिपालना गर्दै संविधानमा समृद्धिको आधारस्तम्भ मानिएको सहकारी अभियानलाई थप प्रभावकारीताका साथ अघि बढाउन राष्ट्रिय सहकारी बैंकले अझै महत्वपूर्ण भूमिका निर्वांह गर्नु पर्नेमा पनि मन्त्री श्रेष्ठले जोड दिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved