मिडिया विधेयकका विषयमा धेरै शंका नगर्नुहोस्ः मन्त्री थापा

नेपालभ्युज

मिडिया विधेयकका विषयमा धेरै शंका नगर्नुहोस्ः मन्त्री थापा

पोखरा। गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री विन्दु कुमार थापाले मिडिया विधेयकका विषयमा धेरै शंका नगर्न आग्रह गरेका छन्। नेपाल पत्रकार महासंघ केन्द्रको आयोजना र पत्रकार महासंघ कास्कीको संयोजनमा शुरु भएको आधारभूत पत्रकारिता तालिमको उदघाटन गर्दै मन्त्री थापाले मिडिया विधेयक पत्रकारको हितबमोजिम नै आउने बताए।

आम सञ्चार विधेयक अहिले विचाराधीन अवस्थामा रहेको र विद्यायन समितिमा छलफलकै क्रममा रहेको मन्त्री थापाले जानकारी गराए। पत्रकारिता जगतका विज्ञहरुलाई राखेर मिडियामैत्री कानून निर्माण गर्ने पक्षमा आफू रहेको उनको भनाइ छ।

“विधायन समितिका सभापतिसँग मिडिया विधेयकबारे पटकपटक छलफल भइरहेको छ। बालबालिकाको विधेयक अहिले छलफलमा रहेछ र यसपछि आमसञ्चार विधेयकलाई अगाडि बढाउने प्रक्रियामा हामी छौं”, उनले भने।

आमसञ्चार विधेयक समयानुकूल पास गरिसकेपछि प्रेस रजिष्टारको कार्यालय पोखरामा रहने र प्रेस रजिष्टारको नियुक्तिका विषयमा पनि देखिएका विवादलाई सम्बोधन गर्ने गरी मिडिया विधेयक ल्याइने मन्त्री थापाले जनाए।

पोखरालगायत गण्डकी प्रदेशमा सञ्चालनमा रहेका मिडियाहरूले दर्ता, नवीकरणका विषयमा भोग्नुपरेका समस्या समाधानमा प्रदेश सरकार प्रतिबद्ध रहेको मन्त्री थापाको भनाइ छ।

पत्रकार महासंघ कास्कीको भौतिक स्तर उन्नतिका लागि १५ लाख रुपैयाँ विनियोजन गर्नु, प्रदेशका ११ वटै जिल्लामा पत्रकार महासंघको भवन निर्माणका लागि ६० लाख विनियोजन गर्नुले अहिलको सरकार पत्रकार र सम्बद्ध संघसंस्थाको हितबमोजिम नै रहेको जनाउने उनले जानकारी दिए।

“लोककल्याणकारी विज्ञापनलाई समेत प्रभावकारी ढंगबाट वितरण गर्ने गरी सञ्चार मन्त्रालय अगाडि बढेको छ,” उनले भने, “मन्त्रालयका लागि विनियोजित भएको बजेटलाई सदुपयोग गर्ने लागि परेको छु।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved