पोखरा उपत्यकामा जलपंक्षी गणना शुरु

नेपालभ्युज

पोखरा उपत्यकामा जलपंक्षी गणना शुरु

पोखरा। पोखरा उपत्यकामा जलपक्षी गणना शुरु गरिएको छ। सन् १९८७ देखि बर्सेनि नियमित रूपमा गरिँदै आएको जलपक्षी गणना कार्यक्रम आजदेखि पोखरा उपत्यकामा रहेका तालहरूबाट शुरु गरिएको हो। सन् २००४ बाट पोखरा उपत्यकामा नियमित आधिकारिक गणना र अभिलेख राखिएको छ। यो गणना भोलिसम्म जारी रहनेछ।

प्रत्येक वर्ष अंग्रेजी महीना जनवरीको पहिलो हप्तादेखि तेस्रो हप्तामा गरिने उक्त गणना कार्यक्रममा स्वयंसेवी पक्षी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकाय, पत्रकार र संरक्षण संघ संस्थाको सहभागिता हुने गर्दछ।

सिमसारमा आश्रित पानीचराहरूको अवस्था पत्ता लगाउन, संख्याको अध्यावधि गर्न, संरक्षणमा स्थानीय समुदायलाई सहभागी बनाउँदै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष नेपालभर जलपक्षीहरूको अनुगमन र गणना गर्ने गरिन्छ।

यस वर्ष पनि पुस १७ देखि माघ ५ (जनवरी १ देखि १९) सम्म विश्वभरका साथै नेपालका ६० भन्दा बढी ताल तलैया र नदीका भागहरूमा जलपक्षीहरूको गणना गरिने पोखरा पक्षी समाजका अध्यक्ष तथा गणनाका क्षेत्रीय प्रतिनिधी मनशान्त घिमिरेले जानकारी दिए।

दक्षिण एसियामै पहिलो पटक वन्यजन्तु पर्यटन भित्राउने पायोनियर कम्पनी टाइगर टप्सको चेन होटल टाइगर माउण्टेन पोखरा लजका प्रबन्धक मार्कस कटनको अगुवाईमा सन् २००४ देखि पोखरा उपत्यकामा शुरु गरिएको पानी चरा गणना पोखरामा रहेका केही पथ प्रर्दशकहरू, नेपाल पक्षी संरक्षण संघ पोखरा र पछिल्लो समयमा पोखरा पक्षी समाजको संलग्नतामा गर्दै आएको छ।

पहिलो दिन बिजयपुर खोला, कमलपोखरी, गुँदे, खास्टे, न्युरेनी, दिपाङ, मैदी ताल, बेगनास र रुपा तालमा र दोस्रो दिन फेवातालमा जलपक्षी गणना कार्यक्रम गरिने टाइगर माउण्टेन पोखरा लजका नेचुरलिस्ट झलक चौधरीले जानकारी दिए।

यसबर्ष टाइगर माउण्टेन पोखरा लज, पोखरा पंछी समाज, हिमालयन डटर्स बर्ड क्लब, नेपाल पक्षी संरक्षण संघपोखरा शाखा, पर्यटन गाइड, संरक्षणकर्मी, पत्रकार, पक्षी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकायहरूको सहभागिता रहने संघका अध्यक्ष घिमिरेले बताए।

हालसम्म गरिएको गणनामा पोखरा उपत्यकामा ४६ प्रजातिका पानी चराको अभिलेख गरिए पनि वर्षैभरि गरिने अध्ययनमा १०२ प्रजातिका पानीचरा देखिएको समाजका अध्यक्ष घिमिरेले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved