हाम्रो लक्ष्य र उद्देश्य चुनाव होइन, जनता हुन्ः माधव नेपाल

अध्यक्ष नेपालले आफ्नो राजनीतिक यात्रा जनतादेखि जनतासम्म नै भएको बताए। उनले जनताको हित र कल्याणको लागि सुकुम्बासीको समस्या, समावेशिताको राजनीति, समाजवादको यात्रालगायतका धेरै लोकप्रिय कार्यक्रमहरु अघि सारेको बताए।

नेपालभ्युज

हाम्रो लक्ष्य र उद्देश्य चुनाव होइन, जनता हुन्ः माधव नेपाल
फाइल तस्वीर

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरुको लक्ष्य, उद्देश्य चुनाव नभएर जनता भएको बताएका छन्।

एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषद् नेपालबीचको एकता घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफूहरुका लागि जनता सबैभन्दा माथि रहेको बताएका हुन्।

“हाम्रो उद्देश्य भनेको चुनाव होइन, हाम्रो लक्ष्य भनेको चुनाव होइन, हाम्रो उद्देश्य, लक्ष्य जनता हुन्। जनताका समस्याहरु हुन्, जनताका पीर मर्काहरु हुन्। युवाले भोग्नुपरेका समस्याहरु हुन्”, अध्यक्ष नेपालले भने, “नयाँ पुस्ताले, पुरानो पुस्ताले, आम जनताले मजदुर, किसानले, निम्न पूँजिपति वर्गले, मध्यम वर्गले, यी सबै समुदायले, समाजका विभिन्न वर्ग र तहका वर्गले भोगिरहेका समस्याहरुलाई हामी आफ्नो समस्याको रुपमा लिने गरेका छौँ।”

अध्यक्ष नेपालले आफ्नो राजनीतिक यात्रा जनतादेखि जनतासम्म नै भएको बताए। उनले जनताको हित र कल्याणको लागि सुकुम्बासीको समस्या, समावेशिताको राजनीति, समाजवादको यात्रालगायतका धेरै लोकप्रिय कार्यक्रमहरु अघि सारेको बताए।

अध्यक्ष नेपालले आफ्नो पार्टीले अन्याय, अत्याचारको विरुद्धमा, शोषण उत्पीडनका विरुद्धमा, विभेदहरुको विरुद्धमा, अनेकौँ आन्दोलन, मजदुर, किसान, श्रमजीविको हकहितको बारेमा विभिन्न कार्यक्रम गरिरहेको पनि बताए। उनले आफ्नो पार्टीको उद्देश्य र लक्ष्य चुनावदेखि चुनावसम्म नभएर जनतादेखि जनतासम्म भएको बताए।

“अहिले हामी जुन राजनीतिक यात्रामा अघि बढेका छौँ, त्यो राजनीतिक यात्रालाई हामीले भनेका छौँ, जनतादेखि जनतासम्म। कसैकसैले त्यसलाई भन्ने गर्दछन्, चुनावदेखि चुनावसम्म”, अध्यक्ष नेपालले भने, “हामी भन्दैनौँ, किनभने हाम्रो उद्देश्य भनेको चुनाव होइन, हाम्रो लक्ष्य भनेको चुनाव होइन, हाम्रो उद्देश्य, लक्ष्य जनता हुन्।”

अध्यक्ष नेपालले नयाँ पुस्ता, पुरानो पुस्ता, आम जनता, मजदुर, किसान, निम्न पूँजीपति वर्ग, मध्यम वर्गका मानिसहरुले भोगिरहेका समस्याहरुलाई आफ्नो समस्याको रुपमा लिने गरेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved