नयाँ नेतृत्वको शपथ ग्रहणमा नभएका कमल थापा ट्विटरबाट पोख्दैछन् कुण्ठा

प्रज्ञा भवनमा जारी शपथ ग्रहण कार्यक्रममा निवर्तमान कार्यसमितिका अधिकांश सदस्य सरिक भए पनि अध्यक्ष कमल थापा भने अनुपस्थित छन्।

नेपालभ्युज

नयाँ नेतृत्वको शपथ ग्रहणमा नभएका कमल थापा ट्विटरबाट पोख्दैछन् कुण्ठा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। प्रज्ञा भवनमा जारी शपथ ग्रहण कार्यक्रममा निवर्तमान कार्यसमितिका अधिकांश सदस्य सरिक भए पनि अध्यक्ष कमल थापा भने अनुपस्थित छन्। निवर्तमान अध्यक्षहरू पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनी भने उपस्थित छन्।

निर्वाचनमा थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देन अध्यक्ष पदमा निर्वाचित भएका हुन्। आफूलाई लिङ्देनले हराउनुमा पूर्वाराजा र उनको परिवारको दोष रहेको भन्दै कथा आक्रोश पोखिरहेका छन्।

थापाले लिङदेन विजयी भएकोमा सामाजिक सञ्जालमार्फत बधाई दिए पनि पूर्व राजा ज्ञानेन्द्र शाहको हस्तक्षेपका कारण आफू पराजित भएको आरोप लगाएका थिए। साथै फेरि एउटा फेक आइडीबाट गरिएको ट्विट सेयर गर्दै उनले थप आक्रोश पोखेका छन्।

पूर्वयुवराज्ञी हिमानी शाहको नाममा खुलेको फेक आइडीबाट ट्विट गर्दै राप्रपामा अध्यक्ष निर्वाचित भएका राजेन्द्र लिङदेनलाई बधाई दिइएको थियो। त्यसमा लेखिएको छ, ‘‘अवसरवाद, नातावाद, कृपावादको अन्त्य गर्न सफल हुनु भएकोमा राष्ट्रवादी नेता राजेन्द्र लिङ्देनलाई हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना। राजेन्द्र लिङ्देनको जित सङ्गै मुलुकले मुलुकले आज सच्चा राष्ट्रवादी नेता पाउन सफल भएको छ।’’
सो फेक आइडीबाट झुक्किएका थापाले सो पोस्टलाई सेयर गर्दै कटाक्ष गर्दै भनेका छन् ‘‘अब चाँडै राजसंस्था पुनः स्थापना हुने भएको हुँदा हिमानीलाई पनि हार्दिक बधाई तथा शुभकामना ।’’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा अध्यक्षका उम्मेदवार कमल थापाले हारे पनि पदाधिकारीमा उनी पक्षकै वर्चस्व छ। राप्रपाका चार उपाध्यक्षमध्ये तीन उपाध्यक्ष थापा पक्षका विजयी भएका छन्। त्यसैगरी तीन महामन्त्रीमा दुई जना थापा पक्षका उम्मेदवार विजयी भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved