डरलाग्दोगरी बढ्दै छ मधुमेह

नेपाल जस्ता विकाशोन्मुख राष्ट्रमा ८० प्रतिशत मानिसमा मधुमेह रोग देखिरहेकाले यो तथ्यांक डरलाग्दो भएको विशेषज्ञ बताउँछन्।

डरलाग्दोगरी बढ्दै छ मधुमेह

काठमाडौं। मधुमेहका बिरामी बढ्न थालेका छन्। नेपालमा पनि घरैपिच्छेजसो मधुमेहका बिरामी भेटिन थालेका छन्।

नेपालमा आजसम्म मधुमेहका बिरामी कति छन् भनेर अध्ययन अनुसन्धान नभएकाले यकिन तथ्यांक भने उपलब्ध छैन। तथापि नेपालको कुल जनसंख्याको आठ प्रतिशत बढीमा यो रोग हुन सक्ने अनुमान गरिएको वरिष्ठ मधुमेह रोग विशेषज्ञ ज्योति भट्टराईले बताइन्।

पछिल्लो दशकयता मधुमेहका बिरामी तीव्र रूपमा बढिरहेका छन्।

परीक्षणको दायरा पनि फराकिलो भएको र बद्लिँदो जीवनशैलीका कारण यो रोगका बिरामी अहिले घरैपिच्छे पाइने गरेका उनी बताउँछिन्। भन्छिन्, “मजस्तै मधुमेह रोग विशेषज्ञले बिहानैदेखि राति ११ बजेसम्म पनि यही रोगका बिरामीहरू हेरिरहेका हुन्छौं, मैले भने दैनिक ५० जनाको हाराहारीमा बिरामीहरू हेर्ने गरेको छु त्यसमध्ये १०–१२ जना त नयाँ पत्ता लागेका बिरामीहरू नै हुने गर्छन्।”

विकशित राष्ट्रभन्दा पनि नेपाल जस्तै विकाशोन्मुख राष्ट्रहरूका ८० प्रशित मानिसमा यो रोग देखिरहेकाले मधुमेह डर लाग्नेगरी नै बढिरहेको उनी बताउँछिन्। उनका अनुसार मधुमेहले रोगीको संख्या मात्र नभई मृत्युदर नै बढाउने गर्छ। यो निकै ठूलो रोग भएकाले बेलैमा सचेत हुन उनले सुझाइन्।

समयमै चेकजाँच गरेर नियन्त्रण गर्न सके यो रोगका कारण आउने समस्याहरू कम हुन्छन् तर यसको समयमै उपचार गरिएन र रक्तचाप, खराब कोल्डस्टोर, सुगरको मात्रा अनियन्त्रित हुँदै गए मिर्गौला फेल, पक्षघात, ह्दयघात, अन्धोपना, स्पर्शशक्तिमा कमी, यौन दुर्भलता, गिजाको घाउ, डिप्रेशनलगायत विभिन्न अंगलाई हानि पुर्‍याउने उनले बताइन्।

यो रोग नियन्त्रण गर्न सरकारी क्षेत्रबाट भएका पहल पर्याप्त छैन। विद्यालयीयस्तरबाटै यसप्रति सिकाउनुपर्ने उनले धारणा राखिन्। पाठ्यक्रममै स्वस्थ जीवनशैलीबारे विषय राखिएको भए केही हदसम्म यसलाई कम गर्न सकिने उनको भनाइ छ।

नेपालमा मधुमेह रोग विशेषज्ञहरू पनि कम भएकाले पनि मधुमेहबारे तथ्यांकका साथै बिरामीहरूले समयमै उपचार पाउन सकिरहेका छैनन्। नेपाल मधुमेह रोगबाट निकै प्रभावित बनिरहेको र आउँदा दिनहरूमा अझै यो रोग भयावह नबनोस् भन्न सम्पूर्ण नियकायले यसप्रति चासो देखाउनुपर्नेमा उनले जोड दिए।

विश्वभर २०१२ सम्म ५३ करोडलाई मधुमेह रोग छ भनिएको थियो। तर ५० प्रतिशतभन्दा बढी मानिसलाई त मधुमेह रोग छ भनेर थाहा नभई मुत्युवरण गर्नुपरेको उनले बताइन्।

सरकारले जनशक्ति उत्पादन र रोकथामका लागि बढी पहल गर्नुपर्नेमा उनले डा भट्टराईले जोढ दिइन्।

मधुमेह रोग नियन्त्रणमा सरकारको भूमिका

पछिल्लो एक दशकयता नसर्ने रोगहरू तीव्र गतिमा बढिरहेको विज्ञहरू बताउँछन्। नसर्ने रोग बढिरहेका कारणले स्वास्थ्य सेवा विभागअन्तगर्त इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसलाई रोक्न केही वर्षदेखि बजेटसमेत छुट्याउँदै आइरहेको छ।

७७ वटै जिल्लामा सरकारले मधुमेह रोग पहिचान र दुई प्रकारको औषधि पनि निः शुल्क रूपमा वितरण गरिहेको छ।

महाशाखाले नसर्ने रोगहरू मध्ये मुटुको धमनीसम्बन्धी समस्या, मधुमेह, सीयोपीडी र क्यान्सरलाई प्रमुख प्रथामिकतामा राखेको शाखाका जनस्वाथ्य अधिकृत टेकराज डीसीले बताए।

उनका अनुसार सरकारले मधुमेह रोग नियन्त्रण र रोकथामका लागि प्रादेशिक अस्पतालदेखि स्थानीय तहमा रहेका हेल्थ पोष्टहरूमा मधुमेह रोग पत्ता लगाउन पिसाब जाँचदेखि लिएर रगतमा गुल्कोजको मात्रा पनि निःशुल्क जाँच गरिरहेको छ।

त्यस्तै हरेक प्रदेशमा यी चार रोगका लागि औषधि खरिदका लागि एक करोड रुपैयाँ, तालिमका लागि ९० लाख, औजार उपकरण खरिदका लागि एक करोडको हाराहारीमा बजेट पठाइएको उनले बताए।

सातै प्रदेशका प्रादेशिक अस्पतालहरूमा मधुमेह रोग बिरामीहरूका लागि भनेर १० वटा बेड छुट्याई उपचार सेवा दिन लागेको समेत जानकारी दिए।

उनी भन्छन्, “यो आर्थिक वर्षबाटै मधुमेहका बिरामीहरूका लागि भनेर प्रादेशिक अस्पतालहरूमा छुट्टै १० वडा बेडहरू छुट्याइएको छ जसका लागि सरकारले ६६ करोड बजेटसमेत विनियोजन गरिसकेको छ।”

जनशक्ति अभाव हुँदा मधुमेहलगायत नसर्ने रोगहरूमा भनेजति काम गर्न नसकिएको समेत उनले बताए। चेकजाँच गर्ने प्रविधि विकास र बद्लिँदो जीवनशैलीका कारण मधुमेह फैलिरहेको उनको भनाइ छ।

मधुमेह रोगले भयावह रूप बढ्दै गइरहेको छ उनले भने तर पहाडी भेगमा भने त्यति बिरामी भेटिएका छैनन्।

यसलाई रोक्न सरकारले सक्दो सहयोग गरिहेको छ। तर जनता पनि मधुमेह रोगबारे जानकार रहेर सचेत हुनु आवश्यक रहेको उनले बताए। छिटोभन्दा छिटो रोग पहिचान गरी सबै जना उपचारको पहुँचमा पुग्नुपर्नेमा उनले जोड दिए।

कुन जिल्लामा कतिमा मधुमेह बिरामी छन् भनेर अहिलेसम्म कुनै अध्ययन नगरिएकाले यो रोग कुन अवस्थामा फैलिरहको छ भनेर तथ्याकं आउन नसकेको समेत उनले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved