बढ्दै प्रविधिको दुरुपयोग : साइबर अपराधको शिकार बन्दै बालबालिका

सिन्धुपाल्चोककी नौ वर्षीया पासाङ तामाङ स्कूलबाहेकको समय मोबाइलमै ब्यस्त हुन्छिन्। उनको हातमा ७ वर्षको उमेरदेखि नै व्यक्तिगत फोन छ। मोबाइलमै घोत्लिरहने उनी परिवारका सदस्य बाहेक अरुसँग बोल्दिननन्। उनले साथी पनि बनाएकी छैनन्, मोबाइल नै उनको साथी हो।

नेपालभ्युज

बढ्दै प्रविधिको दुरुपयोग : साइबर अपराधको शिकार बन्दै बालबालिका

काठमाडौं। काठमाडौंका सुदीप (नाम परिवर्तित) पब्जी खेलेरै संसार जित्छु सोच्थे। उनी एकदमै झगडालु भएका थिए। मोबाइल नपाउँदा घरका सबै भाँडा फालिदिने, आफैलाई चोट पुर्‍याउने उनको स्वभाव बनेको थियो। उनको यो स्वभाव बढ्दै गएर समस्या थपिएपछि उनका अभिभावकले उपचारका लागि आफूकहाँ ल्याएको मनोविश्लेषक वाशु आचार्य बताउँछन्।

पब्जी खेल्दा उनको पढाइ समेत कमजोर भएकाले अभिभावक निकै चिन्तित थिए। मोबाइलको लत छुटाउन उनलाई एक महीना ‘स्किल डेभलपमेन्ट ट्रेनिङ्ग’मा सहभागी गराएपछि अहिले केही सुधार हुँदै देखिएको त छ तर अझैपनि मोबाइल लत उनीबाट छुटेको छैन। मोबाइलमा घोत्लिरहन्छन्। मोबाइल नपाए झगडा गर्छन्।

सिन्धुपाल्चोककी नौ वर्षीया पासाङ तामाङ स्कूलबाहेकको समय मोबाइलमै ब्यस्त हुन्छिन्। उनको हातमा ७ वर्षको उमेरदेखि नै व्यक्तिगत फोन छ। मोबाइलमै घोत्लिरहने उनी परिवारका सदस्य बाहेक अरुसँग बोल्दिननन्। उनले साथी पनि बनाएकी छैनन्, मोबाइल नै उनको साथी हो। धेरै मोबाइल नचलाउन भनेपछि उनी रोएर बस्छिन्।

स्कूलको समय बाहेक अन्य समयमा मोबाइलमा नै झुण्डिनु उनको दैनिकी बनेको छ। जसकारण उनको पढाइ बिग्रिदै गएको छ।

कपनका दिवस बञ्जाराको अवस्था पनि ठ्याक्कै उस्तै छ। उनी विहान उठ्ने बित्तिकै ल्यापटप खोल्छन् बेलुका १० बजेसम्म ल्यापटपमै झुण्डिरहन्छन्। उनको आमाबा दुवै जना जागिरे छन्। प्राय उनी घरमा एक्लै हुन्छन्।

अनलाइन कक्षा सञ्चालन भएको समयमा समेत उनको अभिभावकले निगरानी गरेका थिएनन्। अन्य समयमा पनि उनी के गर्छन भन्नेमा उनको परिवारले चाँसो दिदैन। कहिलेकाहीँ ‘ल्यापटपमा धेरै नबस्’ भनेर हप्काउदाँ उनी रिसाएर खाना नखाइ बस्छन्। आमा देवकी बञ्जारा भन्छिन, “ल्यापटप र टीभी हेर्दा आँखा कमजोर भएर चश्मा लगाएको ३ वर्षभन्दा बढी भयो।”

भक्तपुरका उत्कर्ष खड्गी पनि मोबाइल भनेपनि हुरुक्कै हुन्छन्। जतिबेला पनि मोबाइल चलाएर बस्न खोज्छन्। लामो समय मोबाइल चलाएर बसे उनकी आमाले मोबाइल खोसेर राखिदिन्छन्। आमालाई घुर्काउन उनी वल्लो पल्लो घरमा गएर लुकिदिन्छन्। उनकी आमा बाध्य भएर मोबाइल दिन्छन्। उनी मोबाइलमा भिडियोहरू हेरेर बस्छन्।

भक्तपुरकी सम्झना अर्यालको छोराको समस्या पनि उस्तै छ। उनको छोरा पनि दिन रात मोबाइल र ल्यापटपमै हुन्छन्। छोराले अनलाइन कक्षा भएको समयमा समेत पब्जी र फ्री-फायर खेल्ने गुनासो आमा सम्झनाको छ। उनी भन्छिन्, “मोबाइल चलाउन थालेपछि पढ्न, होमवर्क गर्न र खान पनि बिर्सिन्छ।”

“मोबाइल नदिए ल्यापट चलाएर बस्छ,” उनी भन्छिन्, “मोबाइल नपाए रातभरी छट्पटाएर यताउता गर्छ, सुत्दै सुत्दैन।” छोराको अत्यधिक मोबाइल चलाउने बानी छुटाउन गाह्रो भएको अनुभव उनले सुनाइन्।

अनलाइन कुलतका यी केही प्रतिनिधि उदाहरण मात्र हुन्। यस्ता बालबालिकाको संख्या दिनानुदिन बढिरहेको मनोविद् गोपाल ढकाल बताउँछन्।

प्रविधिको विकाससँगै प्रयोकर्ताको संख्या पनि वृद्धि भएको छ। अहिले बोली नफुटेका बालबालिकाको हातमा समेत मोबाइल देखिन्छ। कोभिड १९ संक्रमण शुरु भएदेखि बालबालिकाको सिकाइ सहजीकरण इन्टरनेटको माध्यमबाट हुनथाल्यो। जसका कारण इन्टरनेटको पहुँच बालबालिकाको संख्या ह्रवातै वृद्धि भयो।
प्रविधिको सदुपयोग गर्न सके अत्यावश्यक सुचना सहजै पाउन सकिन्छ। तर यसको दुरुपयोग गर्नेको संख्या पनि उत्तिकै छ। अहिले धेरैजसो बालबालिका सामाजीक सञ्जालमा लामो समय बिताउँछन्। चाइल्डसेफनेट र युनिसेफ नेपालले कोभिड–१९ को पहिलो लहरपछि गरेको एक सर्वेक्षणमा नेपालमा चारजनामा एकजना बालबालिका वा युवाले दिनको १० घण्टा भन्दा बढी इन्टरनेट चलाउने गरेको पाइएको छ।

बन्दाबन्दीमा शैक्षिक क्षेत्रलाई चलायमान बनाउन ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ अनुसार अनलाइन कक्षा सञ्चालन गर्न अनुमती दिइयो। त्यसपछि बालबालिका सहजै अनलाइनको पहुँचमा पुगे।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हाल ९४.४१ प्रतिशत नेपाली इन्टरनेटको पहुँचमा छन्। २०१० मा २.६५ प्रतिशत नेपाली मात्र इन्टरनेटको पहुँचमा थिए।

बालबालिकामा प्रविधिको प्रयोग कसरी गर्ने भन्ने जानकारी नहुँदा यसको दुरुपयोग बढेको मनोविश्लेषक वाशु आचार्यले बताए। उनी भन्छन्, “अहिले केही बालबालिका यौनजन्य अपराधको शिकार हुन पुगेका छन्।” “१० वर्ष माथिका केही बालबालिका पोर्न साइट समेत पुगेका छन्। ” उनले थपे, “केही बालबालिका भने साइबर यौन दुरव्यवहारमा परेका छन्।”

सन् २०२० मा सिविन–नेपालले गरेको अनलाइन यौन शोषणसम्बन्धी अध्ययनमा ३४० जना बालबालिका तथा किशोर किशोरीले अनलाइन यौन शोषण भोगेको उल्लेख गरेका थिए। सो अध्ययन ९ वर्ष देखि १९ वर्ष उमेर समूहका एक हजार ७१४ जना बालबालिका तथा किशोर किशोरीमा गरिएको थियो।

मोबाइलको पहुँचमा भएका केही बालबालिका भने फ्री-फायर, पब्जी र रोमाञ्चक भिडियोमा रमाइरहेका छन्। बालबालिकाले प्रविधिलाई शिक्षा र सूचनाको स्रोतभन्दा पनि आनन्दको माध्यमका रुपमा लिएका छन्।

अहिले बालबालिकामा सामाजिक सञ्जाल, अनलाइन खेल खेल्ने लत विश्वभरी नै बढेर गएको मनोविद् गोपाल ढकाल बताउँछन्। अभिभावकले बालबालिकाको कार्यमा निगरानी नगर्दा लत लाग्न सघाउने उनको मत छ।

मनोविद् गोपाल भन्छन्, “बालबालिकालाई मोबाइलको लत लाग्न नदिन अभिभावकको भुमिका महत्वपुर्ण हुन्छ। ” अभिभावकले बालबालिकालाई लत लाग्न नदिन बालबालिका के गरिरहेका छन् निगरानी गरिहन उनी सुझाउँछन्। मोबाइलभन्दा बाहिर अन्य विषयमा बालबालिकालाई ब्यस्त राख्नुपर्ने उनको तर्क छ।

मनोविश्लेषक वाशु भन्छन्, “बालबालिकालाई लत लागिसकेको छ भने उपचारका साथै बालबालिकामैत्री पारिवारिक वातावरण बनाउनुपर्छ।” बालबालिकाको भावना बुझेर घुम्न जाने, गीत सुन्ने, डान्स गर्ने, पेन्टिङ गर्न लगाउने सँगै अधिक समय उनीहरूसँग बिताए लत छुटाउन सघाउँ पुग्ने उनको ठहर छ।

“बालबालिका लामो समय मोबाइल चलाएर महत्वपुर्ण काम जस्तै पढ्ने, गृहकार्य गर्ने र खाना खाने समयमा पनि मोबाइल चलाएर बसे लत लागेको बुझ्नुपर्छ,” मनोविश्लेषक वाशु भन्छन्, “इन्टरनेटविना बस्दा छट्पटी हुने, रीस उठ्ने, झर्को लाग्ने सामाजिक सञ्जालमा केही पोष्ट गरेपछि मिनेट मिनेटमा लाइक कमेन्ट हेर्न मन लाग्ने भएमा पनि लत लागेको हुनसक्छ।”

उनका अनुसार, मोबाइलको लत लागे मोबाइलविना धैर्य गर्न नसक्ने, मोबाइल चलाउन नपाए अत्यधिक रिसाउने, झगडा गर्ने, खाना खान पनि घुर्की लगाउने गर्छन्। यस्ता व्यक्तिले आफू र अरुलाई पनि हानी पुर्याउन सक्ने उनको भनाइ छ।

मोबाइलको लत कसरी छुटाउने ?

मनोविश्लेषक वाशु भन्छन्, “लत लाग्न जति समय लाग्छ छुटाउन पनि उत्तिकै समय लाग्न सक्छ।” लत छुटाउनका लागि उसको विचार र व्यवहारिक पक्ष बदल्नुपर्ने उनले सुझाए।

कोही बालबालिका दिनमा १० घण्टासम्म मोबाइलमा बिताउँछन् भने उनीहरूले मोबाइलमा बिताउने समय अलिअलि गरेर विस्तारै घटाउँदै जानुपर्ने उनले बताए।

त्यस्तै, बालबालिकालाई लतको नकारात्मक पक्षका बारेमा विस्तृतमा सुझाइदिने र यसलाई छोड्न प्रेरणा दिने गरेमा लतबाट छुट्कारा पाउन सहयोग पुग्ने जानकारी उनले दिए।

उनका अनुसार, बालबालिकाले आत्म विश्लेषण गरी लतबाट छुटकारा पाउने चाह राख्नुपर्छ। उनले भने, “निश्चित समय तोकेर प्रविधिको प्रयोग गर्नु सबैभन्दा उत्तम उपाय हो। बालबालिकाले आफूलाई समय समयमा चेतावनी दिन लगाउन सक्छन्।”

बालबालिकालाई साथीसँग घुलमिल हुन लगाउनुपर्ने र अन्य रुचिका काम गर्न प्रेरणा दिनुपर्ने उनी बताउँछन्।

मनोविश्लेषक वाशु भन्छन्, “बालबालिकालाई लतबाट छुटाउन थेरापी र औषधिको प्रयोग गरिन्छ।” थेरापी अन्तर्गत बानी, मनोभाव, विचार र जीवनशैली परिवर्तन गर्नेगरी उपचार गर्नुपर्ने उनले बताए।  केही बालबालिकालाई औषधि समेत दिनुपर्ने बताउँदै यसले आवेग घटाउने जानकारी उनले दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved