शुरु भयो जनगणना

‘सही सूचना दिनु नागरिकको दायित्व हो’

जनगणनाबाट प्राप्त तथ्यांकका आधारमा देशको विकास तथा सामाजिक सुरक्षासम्बन्धी योजना बन्ने भएकाले नछुट्न र सही सूचना दिन सरकारी अधिकारीले अनुरोध गरेका छन्।

नेपालभ्युज

‘सही सूचना दिनु नागरिकको दायित्व हो’

काठमाडौं। १२ औं राष्ट्रिय जनगणना हिजो (३० भदौ)बाट शुरु भएको छ । जनगणनाको पहिलो चरण अन्तर्गत घर तथा परिवारको सूचीकरण शुरु भएको हो ।

नेपाल सरकारले पूर्वस्थगित राष्ट्रिय जनगणना–२०७८को कार्यक्रम भदौदेखि मंसीरसम्म सम्पन्न गर्ने निर्णय २१ भदौमा गरेको थियो ।

‘मेरो गणना, मेरो सहभागिता’ नारासहित ३० भदौदेखि १८ असोजसम्म सूचीकरणको काम शुरु भएको छ ।

१३ देखि १६ कात्तिकसम्म गणक तालिम हुनेछ । १९६८ सालबाट नेपालमा शुरु भएको जनगणना १२औं पटक २५ कात्तिकदेखि ९ मंसीरसम्ममा हुनेछ ।

यसपटकको जनगणना अघिल्लाभन्दा फरक भएको केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डिराज लामिछानेले बताएका छन् ।

“अघिल्ला जनगणनामा लैंगिक पहिचान महिला र पुरुष मात्रै थियो भने यसपटक यौनिक अल्पसंख्यकलाई पनि समावेश गरिने गरी प्रश्नावली बनाइएको छ”, लामिछानेले भने । उनका अनुसार तेस्रो लिङ्गी वा समलिङ्गीलाई पनि यसपटकको जनगणनामा समावेश गरिएको छ ।

यसपटकको जनगणनामा व्यक्तिगत जनसांख्यिक विवरणका साथै बालबालिका, महिलाका विषयलाई मध्यनजर गरी मातृ मृत्युदरलाई विस्तृत अध्ययन गर्नको लागि छुट्टै व्यवस्था गरिएको समेत उनले जानकारी दिए ।

देशैभर रहेका घरहरुको संख्या र तिनको प्रयोजनको तथ्यांक समेत आउनेगरी तयारी गरिएको लामिछानेले जानकारी दिए ।

“कुनै पनि घरमा परिवार मात्रै बसिरहेका छन् कि, खाली छ कि या व्यवसाय वा भाडा लगाइएको छ भनेर पनि खुलाउन चाहेका छौँ,” लामिछानेले भने, “भूकम्प लगायत विभिन्न प्रकोपले क्षति पु¥याएका घरहरू निर्माणका लागि सरकारले दिएको अनुदानबाट हालसम्म कति घर बने भन्ने पनि विवरण प्रश्नावलीमा समेटेका छौँ ।”

यसपटकको जनगणनामा परिवारका कति सदस्यले व्यवसायिक सीप तालिम लिएका छन्, कति जनाको बैंकको खाता छ वा ऋण लिएको छ वा छैन भनेर समेत विवरण उल्लेख गर्नुपर्छ । साथै कृषि क्षेत्रमा लागेका व्यक्तिहरूसँग कुन कुन पालुवा जनावर वा पशुपक्षी कति छन् भन्ने पनि जानकारी लिइनेछ ।

काठमाडौंमा कम्प्युटर असिस्टेन्ट पर्सनल इन्टरभ्यु मेथडका माध्यमबाट ट्याबलेट र मोबाइलबाट जनगणनामा गरिने भएता पनि अन्य क्षेत्रमा भने कागजी फाराम नै भरिने उनले बताए । त्यसैले २०७९ सालको शुरुतिर मात्रै जनगणनाको नतिजा आउने समेत जानकारी गराए ।

“आफ्नो सही सूचना टिपाउनु नागरिकको दायित्व पनि हो । गणकले विवरण भर्ने क्रममा कोही नछुटोस् भनेर आफु र आफ्नो वरिपरि भएको जानकारी दिएर सहयोग गर्नुहोला,” लामिछाने भन्छन्, “यही तथ्याङ्कका आधारमा देशको सामाजिक सुरक्षासम्बन्धी योजनाका साथै महिला, बालबालिका, मानवअधिकार लगायतका योजना बन्ने भएकोले कोही नछुट्नुहोला ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved