काठमाडौं। टिकट नपाएपछि एमाले परित्याग गरेका नेता घनश्याम भुसालले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन्। उनले आइतबार बिहान प्रतिनिधि सभाका लागि रूपन्देही १ बाटै उम्मेदवारी दिने घोषणा गरेका हुन्।
आइतबार बिहान पत्रकार सम्मेलन गर्दै उनले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। स्वतन्त्र भने पनि उनी गठबन्धनको सहयोगमा उम्मेदवार बनेका छन्।
आफूलाई सत्तारुढ गठबन्धनले निर्वाचनमा सहयोग गर्ने उनले बताए। सत्ता गठबन्धनको भागबण्डामा रूपन्देही १ माओवादीको भागमा परेको थियो। माओवादीले आफ्नै चुनाव चिह्नबाट चुनाव लड्न अनुरोध गरे पनि उनले अहिले आफू स्वतन्त्रकै रुपमा लड्ने जानकारी गराए।
भुसालले शनिबार एमाले छोडेको घोषणा गरेका थिए।
भुसालले एमाले परित्याग गरेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूलाई मध्यरातमा फोन गरेको बताए। दाहालले स्वतन्त्र रहने गरी आफ्नो दलको चुनाव चिह्न लिएर चुनाव लड्न आग्रह गरेका थिए।
भुसालले भने आफू वाम एकताको मुद्दा उठाएवापत एमालेमा किनारामा पारिएकाले वाम एकताको झण्डा कायमै राख्ने बताए। साथै २०७४ मा आफू घर भएको क्षेत्र रुपन्देही १ बाट उठ्न चाहेको भएपनि पार्टी अध्यक्ष केपी शर्मा ओलीको आग्रहका कारण ३ मा गएको उनले बताए।
Facebook Comment
Comment