पोखरा महानगरमा शतप्रतिशतले लगाए खोप, ५ एम्बुलेन्स सञ्चालन

पोखरा महानगरमा शतप्रतिशतले लगाए खोप, ५ एम्बुलेन्स सञ्चालन

पोखरा। पोखरा महानगरपालिकाभित्र ३३ वडा छन्। यीमध्ये एउटा मात्र वडामा स्वास्थ्य संस्था छैन। वडा नम्बर ६ मा कार्यालयबाटै स्वास्थ्यसम्बन्धी काम हुँदै आएको छ। बाँकी ३२ वटै वडामा स्वास्थ्य संस्था पूर्ण रूपमा सञ्चालित छन्।

महानगरमा हाल ४७ वटा स्वास्थ्य संस्थाहरू सञ्चालित छन्। महानगरको आफ्नै एउटा सुविधासम्पन्न अस्पताल, २१ वटा शहरी स्वास्थ्य केन्द्र, १९ वटा स्वास्थ्य चौकी, दुई ओटा प्राथमिक स्वास्थ्य केन्द्र, एउटा स्वास्थ्य प्रवर्द्धन केन्द्र, र दुईवटा आयुर्वेदिक औषधालय सञ्चालनमा छन्।

यी स्वास्थ्यसंस्थामध्ये पोखरा-३ नदीपुरस्थित शहरी स्वास्थ्य केन्द्र, पोखरा -१२ स्थित शहरी स्वास्थ्य केन्द्र, पोखरा ७ रत्नचोकस्थित शहरी स्वास्थ्य केन्द्र यसै वर्ष शुरु भएका हुन्। शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र पोखरा -८ मर्मतसम्भार गरिएको छ। विगतमा जीर्ण अवस्थामा रहेको उक्त केन्द्र मर्मतपछि नियमित सेवा प्रवाह भइरहेको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले जानकारी दिए। पोखरा -३२ दुर्गामन्दिर स्थित शहरी स्वास्थ्य केन्द्र र पोखरा ३१ पचभैयास्थित शहरी स्वास्थ्य केन्द्र पनि मर्मतपछि सञ्चालित छन्।

प्रमुख पौडेलका अनुसार महानगरले ५ वटा स्वास्थ्य संस्थाहरू निर्माण पूरा गरेको छ। पोखरा -३० स्थित सिशुवा अस्पतालमा थप भवन निर्माण भएको छ। १५ शैयामात्र रहेको शिशुवा अस्पतालपछि बढाएर ५० शैयाको सञ्चालनमा आयो। बेगनास आयुर्वेद औषधालय पोखरा-३१ मा पनि भवन निर्माण कार्य भइरहेको छ। महानगरको आफ्नै व्यवस्थापनमा ५ वटा एम्बुलेन्स सञ्चालन भइरहेको पौडेलले जानकारी दिए। “हामीसँग अहिले ५ वटा एम्बुलेन्स पूर्ण रूपमा सञ्चालनमा आएका छन्। कोभिडको बेलामा अन्य संघसंस्थाहरूबाट एम्बुलेन्स प्रयोग गरेर भए पनि नागरिकलाई निशुल्क सेवा दियौं,” उनले भने।

महानगरबासीको आवश्यकतालाई ध्यानमा राखी थप एक शववाहन र थप एक एम्बुलेन्स खरीद कार्य अन्तिम चरणमा पुगेको उनले सुनाए। महानगरका वटाबाट नेपाल सरकारले तोकेको आधारभूत स्वास्थ्य केन्द्रहरूको स्थापना गरी नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिँदै आएको उनले बताए। “नेपाल सरकारले तोकेबमोजिम कर्मचारी नभए पनि सेवा सुविधा नागरिकका सेवा सुविधामा कमी आउन दिएका छैनौं,” उनले भने, “स्वास्थ्य संस्थाहरूमार्फत निरन्तर रूपमा ज्येष्ठ नागरिक स्वास्थ्य शिविर सञ्चालन हुँदै आएको छ।” मुलुक संघीयता गएसँगै महानगरमा स्वास्थ्य महाशाखा थपियो। त्यसअघि जिल्ला जनस्वास्थ्य कार्यालयले सेवा दिँदै आए पनि पछि संविधानअनुसार स्थानीय तहले नेतृत्व लिएको हो।

कोरोनामै केन्द्रित

पछिल्लो १३ महीना कोभिडको लागि भनेरै फिल्डमा उत्रेको महाशाखा प्रमुख पौडेलले बताए। “महानगरले नै कोभिड अस्पताल सञ्चालन गरेको छ। अहिले कोभिड बिरामी घटेपछि सञ्चालनमा छैन,” उनले भने, “कोभिडले गर्दा खोपमै बढी केन्द्रित भयौ। महानगरबाट तीन सय जनशक्ति नागरिकलाई खोप लगाउन सक्रिय थिए।” महानगरले कोरोना रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टाइन सञ्चालन, आइसोलेसन सेन्टर सञ्चालन, पिसिआर स्वाब संकलनलगायत कार्य पनि गर्दै आएको उनले जानकारी दिए। यो बाहेक महिलाहरूको विशेष स्वास्थ्य समस्याहरूमा पनि काम गरेको उनले बताए। “निःशुल्क औषधि तथा स्वास्थ्य सामग्रीको नियमित आपूर्तिको सुनिश्चितता गर्दै गर्भवती एवं सुत्केरी महिला तथा शिशुहरूको पोषण प्रवर्द्धन गरिएको छ,” उनले भने, “महानगरले स्वास्थ्य संस्थामा प्रसूति हुने आमा तथा जन्मिने बच्चाको स्वास्थ्य रक्षाका लागि न्यानो कपडा एवं यातायात खर्चको व्यवस्था गर्दै आएको छ।”

खोप कतिलाई ?

पोखरा महानगरमा शतप्रतिशत नागरिकले कोभिडविरुद्ध खोप लगाएको महाशाखा प्रमुख हेमन्त पौडेलले बताए। उनका अनुसार पोखरा महानगरमा ७ लाख ५० हजार डोज नागरिकले लगाइसकेका छन्। “दुवै डोज गरेर ७ लाख बढी नागरिकले कोभिडको खोप लगाइसकेका छन्,” उनले भने, “बुस्टर डोजको पनि भर्खर शुरु भएको छ। दुवै खोप लगाएर ६ महीना पूरा भएका नागरिकलाई बुस्टर डोज माघ महिनादेखि शुरु गरेका छौैं।”

उनले थपे, “खोप केन्द्रमा पहिलाको तुलनामा खोप लगाउनेहरूको भीडभाड नहुँदा सहज हुँदै छ, अहिले भीडभाड छैन। पहिला खोप लगाउन पाइँदैन कि भन्ने हुनाले जुनसुकै उमरे समूह आइदिँदा भीड हुने गर्थ्यो तर अहिले सहज भएकोले सबैले बुझ्न थालेका छन्।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved