गण्डकीमा अब ७० प्रतिशत अंक ल्याए सवारी लाइसेन्स

अनुमतिपत्र परीक्षाको लागि प्रयोगात्मक (ट्रायल) मा ७० अंक प्राप्त गरे मात्र पास हुने व्यवस्था भएको छ। एक सय अंकको लिखित परीक्षामा अब पास गर्न ६० अंक ल्याउनुपर्ने छ।

गण्डकीमा अब ७० प्रतिशत अंक ल्याए सवारी लाइसेन्स

पोखरा। गण्डकी प्रदेशले सवारीचालकको लागि अनुमतिपत्र (लाइसेन्स) प्राप्तको प्रयोगात्मक र लिखित परीक्षामा परिवर्तन गरेको छ।

अनुमतिपत्र परीक्षाको लागि प्रयोगात्मक (ट्रायल) मा ७० अंक प्राप्त गरे मात्र पास हुने व्यवस्था भएको छ। एक सय अंकको लिखित परीक्षामा अब पास गर्न ६० अंक ल्याउनुपर्ने छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यससम्बन्धी सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ जारी गरेको छ। गण्डकी प्रदेश सरकारले यही आइतबारदेखि यो व्यवस्था कार्यान्वयनमा ल्याएको छ। निर्देशिकाअनुसार परीक्षाको परिवर्तित व्यवस्था मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप, डेलिभरी भ्यानका लागि हो।

जिप, मोटरसाइकल, स्कुटर, डेलिभरी, मोपेड, कार, भ्यान चालकले प्रयोगात्मक परीक्षाका लागि ७ चरणको परीक्षा पास गर्नुपर्ने छ। जसमा घुमाउरा आठ परीक्षण, साँघुरो फलेक, घुम्ती परीक्षण, उकालो परीक्षण र व्यवहारगत पक्षको समग्र परीक्षण छन्।

परिवर्तित प्रयोगात्मकको उद्घाटन गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुमार खड्काले गरेका हुन्। उनले व्यवस्था परिवर्तन भएसँगै नागरिकता जसरी सहज रुपमा लाइसेन्स पाउने बताए। पुरानो व्यवस्थामा थोरै मात्रामा पास हुने भएपनि नयाँ प्रयोगात्मक परीषाबाट २५ प्रतिशत पास हुने अपेक्षा लिएको बताए। ‘‘यो व्यवस्था विस्तारै सहज रुपमा अगाडि बढ्नेछ,’’ उनले भने, ‘‘प्रदेश सरकारले यसअघि १० मिनेटमै अस्थायी लाइसेन्स पाउने व्यवस्था गरिसकेको छ।’’

यातयात व्यवस्था कार्यालय गण्डकीमा २ लाख आवेदन छन्। कार्यालय प्रमुख प्रेम सुवेदीले आगामी असारदेखि असोजसम्म लाइसेन्समा सहजता बनाउँदै लैजाने बताए।

प्रयोगात्मक परीक्षाको अंक भार 

१ सय अंकको प्रयोगात्मक परीक्षा विभिन्न चरणमा हुनेछन्। सवारी चलाउनुपूर्व सवारीको ब्रेक, टायर र ऐनाहरूको सामान्य निरीक्षण नगरेमा ३ अंक घट्नेछ। सिट बेल्ट नलगाई सवारी चलाएमा ४ अंक र अस्वभाविक गतिमा वा असंयमित रुपमा सवारी चलाएमा ३ अंक घट्ने जनाइएको छ।

वर्ग ‘‘ख’’ कार/जिप/डेलिभरीका लागि दिइने प्रयोगात्क परीक्षको अंक घुमाउरो आठमा २० अंक, स्पीड ब्रेकमा १०, दुई प्रांग्रेको हकमा पनि १० अंक, युटर्नमा १० अंक, ट्राफिक संकेतमा १५ अंक र दुई प्रांगेको १५ अंक छ। र्‍याम्प उकालोमा १५ र दुई पांग्रेको उकालोमा २० अंक छ। चार पांग्रेको ग्यारेज पार्किङमा २० र परीक्षार्थीको व्यवहारगत पक्षको सम्रग मूल्यांकन १० अंकमा गरिन्छ।

घुमाउरो आठको अंकभार २० छ। घुमाउरो आठको एक पटकसम्म रेखा छोएमा र एक पटकसम्म खुट्टाले भुइँमा टेकेमा १० अंक घट्नेछ। यति हुँदैमा परीक्षार्थी फेल हुने छैनन्। एक पटकभन्दा बढी खुट्टाले भुइँ टेकेमा, बढी अंकित रेखा छोएमा, सवारी अगाडि बढ्ने क्रममा सवारीलाई पछाडीतिर सारेमा टायर रेखाभन्दाबाहिर गएमा, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाएमा, फेल हुन सकिन्छ।

दुई पांग्रेको हकमा हुने साँघुरो फलेकको अंकभार १० छ। चार पांग्रेको स्पिड ब्रेकरमा एक पटकभन्दा बढी स्टार्ट बन्द भएमा अनुत्तीर्ण हुन्छ। युटर्नको अंकभार १० छ। टर्निङमा इन्डिकेटर नबालेमा दुई पांग्रेमा १५ र चार पांग्रेमा १० अंक घट्छ। युटर्नमा अंकित रेखा छोएमा पनि परीक्षार्थी फेल हुने छन्। यो चार पांग्रे र दुई पांग्रे दुवैका लागि हो।
उकालोको अंकभार दुई प्रांग्रेको २० र चार प्रांग्रेको १५ छ। ग्यारेज पार्किङको २० अंक छ। सवारीलाई ब्याक गर्दा एक पटकसम्म अगाडि सारेमा १० अंक घट्नेछ। पछाडि गुडाउने क्रममा एक पटकभन्दा बढी अगाडि सरेमा वा अंकित रेखा छाएमा अनुत्तीर्ण हुने प्रावधान छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved