काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघ काठमाडौं र ललितपुरले पौष १२ गतेदेखि १५ गतेसम्म आठौं रियल इस्टेट एक्स्पो,२०२३ आयोजना गर्ने भएको छ ।
मंगलबार संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पौष १२ गतेदेखि १५ गतेसम्म आठौं रियल इस्टेट एक्स्पो,२०२३ काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने बताएको हो ।
संघले अहिलेसम्म ७ वटा रियल इस्टेट एक्स्पो आयोजना गरिसकेको छ । २०७७ मा कोभिड महामारीको कारण एक्स्पो हुन सकेन । २०७८ र २०७९ मा मन्दीको कारण गर्न नसकिएको संघले बताएको छ । घरजग्गा कारोबार बढ्न थालेसँगै एक्स्पो गर्न लागिएको संघले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष तथा एक्स्पोका संयोजक विदुर धमलाले पौष १२ गतेदेखि १५ गतेसम्म आठौं रियल इस्टेट एक्स्पो,२०२३ काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न लागेको बताए ।
उनले रियल इस्टेट एक्स्पो गर्नुको मुख्य उद्देश्य घरजग्गा कारोबारमा आएको नयाँ–नयाँ कारोबार र घरजग्गा सम्बन्धि कारोबारको विषयमा एउटै छानामुनी जानकारी दिने रहेको बताए । उनले प्रदर्शनीमा खरिद गर्ने र बेच्ने मात्रै नभएर जानकारी पनि दिइने बताए ।
उनका अनुसार एक्स्पोमा ६५ भन्दा बढी स्टलहरू रहने छन् । धमलाले रियल इस्टेट एक्स्पोले मुलुकको अर्थतन्त्रमा समेत ठुलो योगदान गर्ने बताए । एक्स्पोमा अपार्टमेन्ट र टाउन हाउस कम्प्लेक्स, घडेरी, विद्युतीय सामग्री, फर्निचर, सिरेमिक, घर जग्गा एजेन्ट, निर्माण सामाग्री आपूर्तिकर्ता र वितरक, निर्माण उपकरण लगायतका स्टल रहने धमलाले जानकारी दिए ।
उनले जग्गा तथा भवन विकासकर्ता, खरिदकर्ता, लगानीकर्ता, उपभोक्ता,इन्जिनियर, आर्किटेक्ट, टाउन प्लानर, इन्टेरियर डिजाइनर, प्रबलीकरण तथा पुनःनिर्माणसम्बन्धी डिजाइनरहरूको साझा मञ्च हुने बताए ।
जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले घरजग्गा कारोबार अनौपचारिक क्षेत्रमा बढी कारोबार भइरहेको बताएका छन् । उनले अनौपचारिक क्षेत्रबाट बढी र औपचारिक क्षेत्रबाट कम कारोबार भइरहेको अवस्था भएकाले सरकारले देशभरका व्यवसायीहरूको लागि कानुन बनाएर अनुमति प्राप्त कम्पनीले मात्रै घरजग्गा कारोबार गर्न पाउने व्यवस्था गरिन्थ्यो भने कारोबार गर्ने वास्तविक कम्पनीको रेकर्ड आउने बताए । आर्थिक मन्दीको कारण देशभर घरजग्गाको कारोबार सुस्त भएता पनि ५० हजार घर वार्षिक रूपमा बनिरहेको उनको भनाई छ ।
मेलामा एक लाखभन्दा बढी मानिसले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । संघले अघिल्लो सातौँ एक्स्पोमा करिब २ अर्ब ६५ कारोबार भएको भए पनि आठौं एक्स्पोमा कारोबार यकिन यति हुन्छ भन्ने अवस्था नरहेको जनाएको छ ।
Facebook Comment
Comment