भीम रावलका भिना-सालासँगको हारेको बदला लिने दाउमा खड्का

०५४ मा जिविस सदस्य बनेका दुवै जना प्रदेश सभा सदस्यका लागि प्रतिस्पर्धामा गर्दै

नेपालभ्युज

भीम रावलका भिना-सालासँगको हारेको बदला लिने दाउमा खड्का

काठमाडौं। नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री मेघराज खड्का तेस्रो पटक चुनावी मैदानमा उत्रिएका छन्। २०७० सालको संविधान सभा र २०७४ को प्रदेश सभा चुनावमा उनी पराजित भएका थिए।

यस पटक उनी अछाम क्षेत्र नम्बर १ को प्रदेश सभामा ‘क’ बाट सत्ता गठबन्धनको साझा उम्मेदवार बनेका छन्। तेस्रो प्रयासलाई सार्थक तुल्याएर प्रदेश सभा सदस्य चुनिने दाउमा उनी छन्।

खड्का ०७४ मा बाम गठबन्धनका उम्मेदवार हर्कबहादुर कुँवरसँग झिनो मतान्तरले पराजित भएका थिए। ०७० को संविधान सभा निर्वाचनमा उनी नेकपा एमालेका नेता भीम रावलसँग पराजित भए। कुँवर र रावल भिना-साला हुन्।

‘०७० मा सबै पार्टी अलग-अलग चुनाव लडिएको थियो, त्यो बेला कांग्रेसको संगठन केही कम्जोर पनि थियो’, खड्काले भने,’०७४ मा बाम गठबन्धन भयो, यो पटक कांग्रेसको संगठन पनि बलियो भएको छ, त्यसैमा गठबन्धनसमेत भएकाले चुनाव जित्नेमा ढुक्क छु।’

खड्का यो पटक एमालेका देवबहादुर कुँवरसँग प्रतिस्पर्धा गर्दैछन्। कुँवर पूर्व शिक्षक हुन्। उनले पञ्चायतकालमा प्रधानपञ्च लड्न शिक्षकको स्थायी जागिर राजीनामा गरेका थिए। तर उनको उम्मेदवारी दावी विरोधमा रद्द भयो। उम्मेदवारी रद्द हुनुको कारण थियो राजीनामा स्वीकृत नहुनु।

‘२०४३ सालमा प्रधानपञ्च हुन शिक्षकबाट राजीनामा दिएको थिँए, विद्यालय सञ्चालक समितिले स्वीकृत गरे पनि जिल्ला शिक्षा समितिले स्वीकृत नगरेकाले उम्मेदवारी रद्द भयो’, कुँवरले भने,’विद्यालय सञ्चालक समितिले राजीनामा स्वीकृतका लागि जिल्ला शिक्षा समितिलाई सिफारिस गर्नुपर्ने रहेछ, त्यो कुरा थाहा भएन।’ त्यसपछि उनी एमालेमा लागेर राजनीतिमा सक्रिए बने।

देवबहादुर कुँवर

‘समृद्ध नेपाल सुखी’ नेपालीको नाराका साथ विकासलाई पहिलो प्राथमिकतामा राखेर भोट माग्न जाने उनले बताए। गुणस्तरिए शिक्षा, स्वास्थ्यका साथै स्थानीय साधन स्रोतको प्रयोग गरेर रोजगारी सृजना गर्ने प्रविधिको विकास गर्ने आफ्ना चुनावी मुद्दा भएको उनले बताए।

खड्का २०३६ सालमा जनमत संग्रहको घोषणा भएसँगै राजनीतिमा लागेका हुन्। करिब चारदशक लामो राजनीतिक यात्राका क्रममा कहिले बहुदल, कहिले प्रजातन्त्र त कहिले गणतन्त्रका पक्षमा लाग्दा आफूले थुप्रै पटक प्रहरीको चरम यातना तथा जेल जीवन सहनु परेको उनले सुनाए।

नेपाल विद्यार्थी संघबाट २०४१ सालमा कैलाली बहुमुखी क्याम्पसको स्ववियू उपसभापति र ०४२ सालमा सभापति भएर काम गरेका खड्का २०४८ सालमा नेपाली कांग्रेस अछामको जिल्ला कार्य समिती सदस्य हुँदै २०६२ देखि २०६७ सम्म कांग्रेस अछामको सभापति बने।

२०५४ सालमा जिल्ला विकास समिति अछामको सदस्य निर्वाचित हुँदा आफ्नो क्षेत्रमा विकास निर्माणका महत्वपूर्ण काम गरेर खड्का जनतामाझ लोकप्रिए छन्। पदमा हुँदा पनि नहुँदा पनि निरन्तर अछामको विकास र समृद्धिका लागि सक्रिए खड्काले निष्ठावान राजनीतिकर्मीको छवि बनाएका छन्।

आफू तेस्रो पटक जनतामा भोट माग्न जाँदा शिक्षा, स्वास्थ्य, विकास निर्माणका मुद्दा उठाउने उनले बताए। विशेष गरी अछाम, बाजुरा र डोटीका जनताका लागि स्वास्थ्यमा बरदान सावित भइरहेको बयालपाटा अस्पताललाई दीर्घकालिन व्यवस्थापन गर्ने उनको योजना छ। सरकारीस्तरबाटै अस्पतालको दीर्घकालिन व्यवस्थापन गर्ने तथा स्वास्थ्यकर्मी उत्पादन गर्ने शैक्षिक संस्थाको रुपमा विकास गर्नेमा आफू लाग्ने उनले योजना सुनाए।

अछामको विकासमा महत्वपूर्ण टेला पुर्‍याउने बुढीगंगा जलविद्युत आयोजनाको काम छिटो अघि बढाउन, सेती लोक मार्गलाई छिटो सुचारु गर्न, साँफेबगर बजार व्यवस्थित गर्न, नयाँ शहर योजनाको कामलाई द्रुत गतिमा अघि बढाउन पहल गर्ने उनका मुख्य योजना छन्।

सवै पालिकादेखि वडा सम्मका सड्कलाई बाह्रै महिना सञ्चालनमा ल्याउने गरी कामगर्ने। ती सडकलाई प्राथमिक्तामा राखेर कालोपत्रे गर्ने, खानेपानीका समस्या समाधान गर्ने, युवालाई रोजगारी सृजना गर्नका लागि विभिन्न कार्यक्रम तथा योजनाहरू ल्याउन पहल गर्ने योजना खड्को छ।

आफूले जिते प्रदेश सरकारलाई साँच्चिकै जनताको सरकारका रुपमा स्थापित गर्न सशक्त रुपमा लाग्ने खड्काको योजना छ। जनताको हित हुने गरी प्राथमिक्ताका आधारमा जनतामूखी कार्यक्रम बनाउने, पर्यटन क्षेत्रको विकासलाई प्राथमिक्तामा राखेर काम गर्ने, शिक्षाको गुणस्तर वृद्धि गरी आफ्नै प्रदेशमा विद्यार्थी पढ्ने वातावरण सृजना गर्ने, सवैका लागि सवैखाले स्वास्थ्य सेवा निशु:ल्क गर्ने, गेटा मेडिकल कजेललाई छिटो संचालनमा ल्याउन पहल गर्ने, सुशासन र सामाजिक न्यायका पक्षमा प्रदेश सरकारलाई उभ्याउन प्रयत्नशिल रहने उनको प्रतिबद्धता जनाए।

प्रतिनिधि सभामा यहाँ सत्ता गठबन्धनबाट नेकपा समाजवादीका नेता तथा श्रममन्त्री शेरबहादुर कुँवर उम्मेदवार बनेका छन्। एमालेबाट झपट बोहोरा तथा कांग्रेसका बागी राजन कुँवरसहितका उम्मेदवार चुनावी मैदानमा छन्।

कुँवर पनि खड्कासँगै ०५४ को स्थानीय निर्वाचनमा जिविस सदस्यमा निर्वाचित भएर काम गरेका थिए। चौरपापाटी गाउँपालिका र साँफेबगर नगरपालिका गरी दुई वटा स्थानीय तह रहेको क प्रदेशमा वैशाख ३० को स्थानीय निर्वाचनमा दुवै पालिका कांग्रेसले जितेको छ।

चौरपाटीमा एकल चुनाव लडेर जितेको कांग्रेसले साँफेबगरमा नेकपा एकीकृत समाजवादीसँग गठबन्धन गरेर जितेको हो। यो प्रदेशमा ३७ हजारभन्दा बढी मतदाता छन्।

सम्भावित मुख्यमन्त्री
राजनीतिमा आफ्नो छुट्टै छवि बनाउन सफल खड्का खड्कालाई भावि मुख्यमन्त्रीको रुपमा समेत हेरिएको छ। कांग्रेसको नेतृत्वमा प्रदेश सरकार निर्माण हुँदा खड्काले जितेमा उनी मुख्यमन्त्री हुने सम्भावना पनि बलियो देखिन्छ।

खड्का कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका प्रिय पात्र हुन्। उनी देउवा गृहमन्त्री हुँदा स्वकीय सचिव बसेर काम गरेका थिए। आफूले चुनाव जिते आफ्नो परिवार र नातागोताका लागि नभएर आज अछामी जनताका पक्षमा काम गर्ने उनले प्रतिवद्धता जनाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved