अत्यधिक गर्मी बढेपछि तराई मधेसको जनजीवन प्रभावित

नेपालभ्युज

अत्यधिक गर्मी बढेपछि तराई मधेसको जनजीवन प्रभावित

धनुषा । अत्यधिक गर्मी बढेपछि धनुषासहित तराई–मधेसको जनजीवन प्रभावित भएको छ ।

एक सातादेखि अधिकतम् तापक्रम ३८ देखि ४२ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेपछि जनजीवन प्रभावित भएको हो ।

गर्मीका कारण दिउँसोतीर मुख्य बजार सुनसान हुन थालेका छन् भने सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्यासमेत घट्न थालेको छ ।

अहिले बालबालिका, ज्येष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई अझ बढी समस्या भएको चिकित्सकको भनाइ छ ।

प्रादेशिक अस्पताल जनकपुरधामका प्रवक्ता डा कृष्णदेव दासले अहिले स्वास्थ्य संस्थामा घाउ, खटिरा, टाइफाइड, ज्वरो, झाडापखालालगायत रोगका बिरामीको चाप बढ्न थालेको बताए ।

डा दासले भने, “गर्मी बढेसँगै धनुषामा ‘हिट स्ट्रोक’ अर्थात् ‘लू’ लाग्ने जोखिमसमेत बढ्दै गएको छ । यसले दिउँसोका समयमा दैनिक ज्यालादारी तथा कडा श्रम गर्ने व्यक्तिलाई समस्या हुने देखिन्छ । त्यसैले सबैले आफ्नो स्वास्थ्यको ख्याल गर्न जरूरी छ ।”

अहिले तातो हावाका कारण टाउको दुख्ने, शरीर शिथिल हुने, घाँटी दुख्ने, आँखा पोल्नेजस्ता स्वास्थ्य समस्यासमेत बढ्दै गएका छन् । यस्तै, तातो हावा चल्दा तरकारी, मकैलगायतका बालीनालीसमेत सुक्न थालेका छन् ।

क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका रामदेव बनरैतले तातो हावाहुरीका कारण मौसमी फल आँप, लिची र लहरे तरकारीखेती प्रभावित भएका बताए ।

गर्मीले जनजीवन प्रभावित भए पनि चिसो पेयपदार्थको माग भने बढेको छ । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved