निसीखोला दुर्घटना : सात जनाको शव रुकुम पठाइयो, घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर

नेपालभ्युज

निसीखोला दुर्घटना : सात जनाको शव रुकुम पठाइयो, घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर
सांकेतिक तस्विर

बागलुङ । बागलुङको निसीखोला दुर्घटनामा परी घाइते भएका २५ जनालाई धौलागिरि अस्पताल बागलुङमा पठाइएको छ ।

पूर्वी रुकुमदेखि काठमाडौँका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस सोमबार साँझ सवा ५ बजे बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो ।

बागलुङमा भएको बस दुर्घटनामा आठजनाको मृत्यु भएको छ । घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा चार पुरुष र एक नाबालिकासहित चार महिला रहेका छन् । मृतक कसैको पनि सनाखत नभएको विकको भनाइ छ ।

बुर्तिबाङमा सबै घाइतेको उपचार सम्भव नभएपछि धौलागिरि अस्पताल बागलुङमा पठाइएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा नविन्द्र ढकालले जानकारी दिए ।

घाइतेलाई एम्बुलेन्स तथा गाडी व्यवस्थापन गरी बागलुङ पठाएको उनको भनाइ छ । बस सडकदेखि एक सय ५० मिटर तल खसेको छ ।

प्रहरी निरीक्षक विकका अनुसार सातजनाको घटनास्थलमै मृत्यु भएको र एकजनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

अधिकांश रुकुमका रहेको हुँदा घटनास्थलमै मृत्यु भएका सातजनाको शव सङ्कलन गरी रुकुम पठाइएको उनको भनाइ छ । बाटोमा मृत्यु भएका एकजनाको शव बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved