पुनःमिलन अभियानबाट विद्यालयलाई एक करोड

नेपालभ्युज

पुनःमिलन अभियानबाट विद्यालयलाई एक करोड

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गास्थित धवलागिरि माविलाई रु एक करोड ११ लाख आर्थिक सहयोग जुटेको छ ।

दश जोड दुई तहको कक्षा सञ्चालनका लागि विद्यालयले सञ्चालन गरेको पूर्व शिक्षक, विद्यार्थी र शुभचिन्तकको पुनःमिलन अभियान मार्फत सो रकम सङ्कलन भएको हो ।

विसं २०७४ देखि थालिएको उक्त अभियानका संयोजक तथा पूर्व प्रधानाध्यापक डण्डपाणी सापकोटाले रु नौ लाख ६६ हजार प्राप्त हुन बाँकी रहेको जानकारी दिए । सङ्कलन गरेको रकमको ब्याजबाट कक्षा ११ र १२ को पठनपाठन सञ्चालन गरिएको उनले बताए ।

गाउँकै विद्यालयमा दश जोड दुईको पठनपाठन सञ्चालन भएपछि विपन्न बालबालिकालाई पढ्नका लागि डेरा लिएर बस्नुपर्ने समस्या हटेको छ ।

दुई सय ४९ जनाले सहयोग घोषणा गरेकामा हालसम्म दुई सय सात जनाबाट सहयोग प्राप्त भएको छ । बेनी नगरपालिका–४ बास्कुना घर भई हाल न्युजिल्याडमा रहनुभएका लालबहादुर केसीले सबैभन्दा बढी रु २५ लाख सहयोग गर्नुभएको संयोजक सापकोटाले जानकारी दिए । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) न्युजिल्याण्डका अध्यक्षसमेत रहेका उनले हजुरआमा गौमति खत्रीको स्मृतिमा सो रकम सहयोग गरेका हुन् ।

विद्यालयमा हाल करिब दुई सय ५० विद्यार्थी अध्ययनरत छन् । श्रवण क्षमता नभएका बालबालिकालाई लक्षित गरेर बहिरा स्रोत कक्षा पनि सञ्चालनमा रहेको विद्यालयका प्रधानाध्यापक भुवन रेग्मीले बताए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved