काठमाडौं । माझी समुदायको लदी पुजा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल चलचित्र कर्मी माझी संघको आयोजनामा शनिबार ‘लदी पुजा’ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।
माझी समुदायहरुको प्रमुख चाड लदी पुजा अर्थात घाट पुजा यही फागुन १५ गते देशव्यापी रुपमा मनाईदैछ ।
शुभकामना आदानप्रदान कार्यक्रममा माझी राष्ट्रिय मुक्ति मोर्चा की केन्द्रीय सचिव लक्ष्मी माझी (कृपा) ले माझी संस्कृतिलाई जीवन्त राख्न लदी पुजामा सम्पूर्ण माझी समुदायको सक्रिय सहभागीता रहनुपर्नेमा जोड दिईन् ।
उनले माझी समुदायको लदी पुजामा बिदा दिनुपर्ने बिषयमा गम्भीर राष्ट्रिय बहस चलिरहेको भन्दै बिदाका लागि सबैले पहल गर्नु पर्ने बताइन् ।
नेपाल माझी उत्थान संघकी केन्द्रीय अध्यक्ष चिनीमाया माझीले सुरुवाती समयमा रामेछाप, काभ्रे, सिन्धुपाल्चोक जिल्लाका केही माझी जातीले आफ्नो चाडको रुपमा मनाउँदै आएको लदी पुजा पछिल्लो समय देशभरका माझीले प्रमुख चाडको रुपमा मनाउन थालेकोमा खुसी व्यक्त गरेकी छन् ।
उनले माझी संस्कार र संस्कृति जोगाउन सबैले आ–आफ्नो ठाउँबाट आवाज उठाउनु पर्ने बताइन् । कार्यक्रममा देशभरबाट करिब ३ सय माझी जातीले सहभागिता जनाएका थिए ।
Facebook Comment
Comment