राष्ट्रपतिद्वारा पाँच हजार ५५५ किलोको ‘मुक्तिनाथ महाघण्ट’ उद्घाटन

नेपालभ्युज

राष्ट्रपतिद्वारा पाँच हजार ५५५ किलोको ‘मुक्तिनाथ महाघण्ट’ उद्घाटन

ढोरपाटन । राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा स्थापना गरिएको पाँच हजार ५५५ किलोको मुक्तिनाथ महाघण्ट उद्घाटन गरेका छन् ।

बिहिबार राष्ट्रपति पौडेलले करिब दुई करोड लागतमा निर्माण भएको महाघण्टको उद्घाटन गरेका हुन् ।

पञ्चकोटधामका परिकल्पनाकार एवं संस्थापक मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा बागलुङ नगरपालिका–५ स्थित पञ्चकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न यो महाघण्ट स्थापना गरिएको थियो । पञ्चकोटमा बुधबारदेखि अनन्तश्री ब्रह्माण्डीय महायज्ञ सुरु भएको छ ।

फागुन ९ देखि सुरु भएको महायज्ञमा पनि राष्ट्रपति पौडेल सहभागी भएका छन् । करिब आधाघण्टा पञ्चकोटमा रहेका पौडेलले यहाँ बन्दै गरेको १०८ फिट गण्डकी कलशकोसमेत अवलोकन गरेका थिए ।

दश वर्षअघि स्थापना भएको पञ्चकोटमा निर्माण भएका धार्मिक संरचनाका साथै निर्माणाधीन सो कलसका बारेमा स्वामी कमलनयनाचार्यले राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।

मुक्तिनाथ महाघण्ट पञ्चधातु सुन, चाँदी, तामा, पित्तल र फलाम मिसाएर बनाइएकाले यो घण्टीलाई ‘महाघण्ट’ भनिएको हो । महाघण्ट बनाउन आठ वर्ष लागेको जानकारी पनि स्वामी कमलनयनाचार्यले बताए ।

जलसम्पदाको संरक्षण गर्न सो कलश तथा विश्वमा शान्तिको सन्देश फैलाउन सो महाघण्टको स्थापना गरिएको उनले जानकारी दिएका हुन् । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved