तापक्रम घटेपछि चीनमा उच्च मौसमी चेतावनी जारी

नेपालभ्युज

तापक्रम घटेपछि चीनमा उच्च मौसमी चेतावनी जारी

काठमाडौं । चीनको दक्षिणी भागमा तापक्रम घटेपछि र बेइजिङमा हिउँ परेपछि बुधबार गम्भीर मौसमी चेतावनी दिइएको छ ।

अधिकारीहरूले मुलुकको त्रिस्तरीय प्रणालीमा सबैभन्दा उच्च रहेको अरेन्ज चेतावनी जारी गरेका छन् । यसले दक्षिणमा औसत तापक्रम शुक्रबार छ देखि १२ डिग्री सेल्सियससम्म घट्न सक्ने चेतावनी दिएको छ ।

राष्ट्रिय मौसम विज्ञान केन्द्र (एनएमसी)ले केही क्षेत्रमा तापक्रम २० डिग्री सेल्सियसभन्दा धेरैले घट्नसक्ने सामाजिक सञ्जालमा बताएको छ ।

सरकारी समाचार समिति सिन्ह्वाले एनएमसीले स्थानीय सरकारहरूसँग चिसो मौसमप्रति सावधानी अपनाउन आह्वान गरेको, जनतालाई न्यानोमा बस्न सल्लाह दिएको र बाली र जलीय उत्पादनको सुरक्षाका लागि आवश्यक उपाय गर्न आग्रह गरेको बताएको छ ।

बुधबार तापक्रम शून्यको नजिक रहेको बेइजिङमा रातभर हिमपात भएको छ । मानिसहरूले बिहान उठ्दा राजधानी सेतो रङले ढाकिएको देखेका थिए ।

सहरका राजमार्गहरूमा यातायात सुस्त भएको छ भने यात्री र साइकल चालकका लागि हिउँले भरिएका फुटपाथ जोखिमपूर्ण भएका छन् ।

नगरपालिकाका अधिकारीहरूले केही उपनगरीय क्षेत्रमा चार दशमलव एक सेन्टिमिटरसम्म हिमापात भएको बताएका छन् । उनीहरूले हिउँ परेका सडकहरूमा चेतावनी जारी गरेका छन् ।

“आफ्नो भ्रमण कम गर्नुहोस्, सार्वजनिक बस र सबवेको प्रयोग गर्नुहोस् र आफ्ना कारहरूलाई विस्तारै चलाउनुहोस्, सुरक्षामा ध्यान दिनुहोस्”, सहर सरकारले अनलाइन विज्ञप्तिमा बासिन्दाहरूलाई सिफारिस गर्दै भनेको छ । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved