हिन्दूराष्ट्रको पक्षमा उभिन कांग्रेस बैठकमा २२ नेताको पूरक प्रस्ताव

नेपालभ्युज

हिन्दूराष्ट्रको पक्षमा उभिन कांग्रेस बैठकमा २२ नेताको पूरक प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले ‘पार्टी हिन्दूराष्ट्रको पक्षमा उभिनुपर्ने भन्दै’ पूरक प्रस्ताव पेस गरेका छन् ।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा २२ जना केन्द्रीय सदस्यले हस्ताक्षरसहित पार्टी सभापति शेरबहादुर देउवालाई पूरक प्रस्ताव बुझाएका हुन् ।

नेता शंकर भण्डारीको नेतृत्वमा बुझाइएको पूरक प्रस्तावमा बहुमत महासमिति सदस्यको भावना र आम नेपाली जनताको व्यापक चासो र चिन्ताको विषयलाई छलफलमा नसमेटिएको उल्लेख छ ।

प्रस्तावमा भनिएको छ, ‘हामी कांग्रेसका केन्द्रीय कार्यसमितिका सदस्यहरूले महासमितिको वैठकबाट छलफल गरेर सनातन हिन्दूराष्ट्रको पक्षमा पार्टी दृढतापूर्वक उभिन यो कार्यसमिति बैठकमा पूरक प्रस्तावको रूपमा वैदिक सनातन हिन्दूधर्मको पक्षमा यो प्रस्ताव पेस गरेका छौं ।’

कांग्रेसजस्तो प्रजातान्त्रिक पार्टीले बौद्ध र किरातसहित ९४ प्रतिशतभन्दा बढी वैदिक सनातन हिन्दू धर्म-संस्कृतिमा आस्था र विश्वास राख्ने जनताको भावनालाई पूरै उपेक्षा धर्मनिरपेक्षताको पक्षमा उभिएकोप्रति उनीहरुले गम्भीर आपत्ति जनाएका छन् ।

प्रस्ताव पेस गर्नेमा केन्द्रीय सदस्यहरु शंकर भण्डारी, दीलेन्द्रप्रसाद बडू, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, प्रकाश रसाइली ‘स्नेही’, शुक्रराज शर्मा, इन्द्रबहादुर बानियाँ, रंगमती शाही, विद्या तिमिल्सिना, गेहेन्द्र गिरी, सीता देवकोटा, अर्जुनजङ्गबहादुर सिंह र डिला संग्रौला छन् ।

साथै, सीताकुमारी राना, शारदा पौडेल, चम्पादेवी खड्का, नागिना यादव, नृपबहादुर वड, सञ्जय गौतम, भीम पराजुली, दिनेश कोइराला र मुक्ताकुमारी यादवले पनि प्रस्तावमा हस्ताक्षर गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved