रवि लामिछानेविरुद्ध सहकारी ठगीमा अनुसन्धान, गैरकानूनीरूपमा ऋण लिएको आरोप

पुलेसो ऋण कर्जा लिएर सहकारीको रकम हिनामिना गरेको भनेर रविविरुद्ध उजुरी परेको छ । ‘तोकिएभन्दा बढी रकम ऋण प्रदान गर्दा जमानत वा सुरक्षण नराखी ऋण प्रदान गरेमा,’ भन्ने व्यवस्थालाई टेकेर रविमाथी अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

नेपालभ्युज

रवि लामिछानेविरुद्ध सहकारी ठगीमा अनुसन्धान, गैरकानूनीरूपमा ऋण लिएको आरोप

काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पनि प्रहरीले अनुसन्धान सुरू गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले गैरकानूनीरूपमा ऋण लिएर बचत हिनामिना गरेको भन्दै पूरक जाहेरी दिएपछि रविमाथि पनि छानबिन थालिएको हो ।

सहकारी संस्थाबाट गैरकानुनीरूपमा ऋण लिई अपचलन गरेको आरोपमा पीडितहरूले गोर्खा मिडिया नेटवर्कअन्तर्गतको ग्यालेक्सी टेलिभिजनका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसहित १८ जनाविरुद्ध जाहेरी दिएका छन् ।

महानगरपालिकाको जाहेरीका आधारमा यसअघि मुद्दा दर्ता भइसकेकाले यही विषयमा पूरक जाहेरी दर्ता भएपछि अनुसन्धान सुरु भएको हो ।

रवि लामिछानेले ऋण लिएको प्रतिवेदन सार्वजनिक भए पनि अन्य १७ व्यक्ति तथा संस्थाको विषयमा अनुसन्धानपछि मात्रै थाहा हुने कास्की प्रहरीले जनाएको छ ।

सहकारीबाट करिब ६\७ सयले ऋण लगेका र पूरक उजुरीसँगै ती ऋणीमाथि पनि अनुसन्धान सुरु गरिने जनाइएको छ । एक प्रहरी अधिकारीले भने ‘‘कास्की कारागारमा रहेका सहकारीका आइटी अफिसरलाई झिकाएर अनुसन्धान थालिसकेको छौँ । ऋण कसकसले लगेका छन्। कसकसले तिरेका छैनन् । सबै रेकर्ड हेरिदैछ ।’’

पुलेसो ऋण कर्जा लिएर सहकारीको रकम हिनामिना गरेको भनेर रवि लामिछानेविरुद्ध उजुरी परेको छ । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहन थापाका अनुसार ऋणीविरुद्ध पनि हिनामिना उजुरी परेकोले छानबिन थालिएको बताए ।

एसपी थापा भन्छन्, ‘‘उजुरी अनुसार अनुसन्धान गर्दैछौँ । यसको लागि रविले सहकारीबाट पैसा लिँदा धितो कति राखेका थिए ? कुन प्रक्रियामा सहभागी भएका थिए भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।’’

जाहेरीका आधार हेर्दा रविको कसुर सहकारी ऐन– २०७४ को दफा १२२ (ग) बमोजिमको कसुर देखिएको प्रहरीले बताएको छ ।

यस दफाको खण्ड (छ)मा ‘झुट्टा वा गलत विवरण पेस गरी कर्जा लिएमा, राखेको धितो कच्चा भएमा वा ऋण हिनामिना गरेमा’ कसुर मानिने व्यवस्था छ । ‘तोकिएभन्दा बढी रकम ऋण प्रदान गर्दा जमानत वा सुरक्षण नराखी ऋण प्रदान गरेमा,’ भन्ने व्यवस्थालाई टेकेर रविमाथी अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

दफाको खण्ड (च) मा कुनै पनि सदस्यले एक्लै वा अन्य सदस्यको मिलेमतोमा सहकारी संस्थाको शेयर वा बचत रकम आफूखुशी परिचालन गरी सहकारी संस्थालाई हानी नोक्सानी पुर्‍याएमा कसुर मानिने भनिएको छ ।

सहकारी ऐन दफा १२२ (ट)मा झुट्टा विवरणको आधारमा परियोजनाको लागत अस्वाभाविक रूपमा बढाई बढी ऋण लिएमा वा दिएमा पनि कसुर मानिने भएकाले पनि अनुसन्धान प्रक्रिया अगाडि बढाएको एसपी थापाले बताए ।

ग्यालेक्सी टीभीका अध्यक्ष रहेका जीबी राई समूहले पोखराका १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना गरेको निष्कर्ष पोखरा महानगरको अध्ययन समितिले निकालेको छ ।

पीडित बचतकर्ताले गत साउनमै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । पोखरा महानगरको विज्ञ टोलीको राय प्रतिवेदनका आधारमा सहकारीका सञ्चालक, लेखा समिति संयोजक, सदस्य, लेखा अधिकृत र ऋण अधिकृतसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । उनीहरूविरुद्ध जिल्ला अदालतमा मुद्दा दायरसमेत भइसकेको छ ।

अहिलेसम्म उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक समिति सदस्य भवीश्वर अर्याल, पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङ पक्राउ परेका छन् ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना अभियोग लागेका जीबी राईविरुद्ध डिफ्युजन नोटिस जारी भइसकेको छ । इन्टरपोलले गत १२ गते राईका नाममा डिफ्युजन नोटिस जारी गर्दै उनलाई फरार सूचीमा राखिसकेको छ ।

यसअघि सूर्यदर्शन सहकारी प्रकरणमा १९ जना सञ्चालकविरुद्ध मुद्दा परिसकेको छ । जीबी राई समूहले पोखराका पौने १९ हजार बचतकर्ताबाट १ अर्ब ३५ करोड रुपैयाँ हिनामिना गरेको निष्कर्षसहित पोखरा महानगरपालिकाले जाहेरी दिएको थियो ।

प्रहरीले अहिलेसम्म सूर्यदर्शन बचत सहकारीका उपाध्यक्ष कैलाश कुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक समितिका समदस्य भवीश्वर अर्याल, पूर्व सञ्चालक समिति सदस्य शिवबहादुर गुरूङलाई पक्राउ गरेको छ ।
ग्यालेक्सी टीभीका अध्यक्ष समेत रहेका जीबी राईविरुद्ध इन्टरपोलमार्फत डिफ्यूजन नोटिस जारी गरेर खोजी भइरहेको छ ।
जीबी राईको समूहले देशका पोखरा, बुटवल, वीरगञ्ज, चितवन, नेपालगञ्ज र काठमाडौंबाट ७ अर्बभन्दा धेरै पैसा हिनामिना गरेर ठगी गरेको आरोप छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved