‘अमेरिकी राष्ट्रपति निर्वाचन जित्ने जो कोहीसँग युक्रेनले काम गर्छ’

नेपालभ्युज

‘अमेरिकी राष्ट्रपति निर्वाचन जित्ने जो कोहीसँग युक्रेनले काम गर्छ’

स्विट्जरल्यान्ड । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले यस वर्षको अन्त्यमा अमेरिकी राष्ट्रपति निर्वाचन जित्ने जो कोहीसँग युक्रेनले काम गर्ने बताएका छन् । डाभोसमा विश्व आर्थिक मञ्चका अवसरमा एएफपीसँग कुरा गर्दै बिहीबार उनले सो कुरा बताएका हुन् ।

पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रिपब्लिकन उम्मेदवार जित्ने अग्रपङ्क्तिमा रहेकाले उनले निर्वाचन जितेको अवस्थामा युक्रेनबारे वासिङ्टनको नीति परिवर्तन हुने आशंका गरिएको छ । युक्रेनलाई हतियार दिने विषयमा कांग्रेस पहिला नै विभाजित भएकाले किएभलाई समर्थन गर्ने ट्रम्पको इच्छा अझ कम हुने चिन्ता व्यक्त गरिएको छ ।

यद्यपि विदेशमन्त्री कुलेबा ट्रम्पको कुनै पनि जितलाई लिएर आशावादी देखिएका  छन् । “म अमेरिकी जनताको राय स्वीकार गर्छु र हामी निर्वाचनपछि आउने कुनै पनि वास्तविकतासँग काम गर्नेछौँ”, स्विस अल्पाइन रिसोर्टमा वार्षिक ‘डाभोस युक्रेनी ब्रेकफास्ट’ कार्यक्रमपछि उनले भने, “युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र ट्रम्प एकअर्कालाई चिन्नुहुन्छ र एकअर्कालाई सम्मान गर्नुहुन्छ ।”

ट्रम्प सशरीर डाभोसमा उपस्थित नभए पनि उनको सम्भावित जित मञ्चमा धेरै निजी र सार्वजनिक चर्चाहरूमा आएको छ ।

कुलेबाले पश्चिमाहरूसँग युक्रेनलाई आफ्नो समर्थन बढाउन पनि आह्वान गरे । “मुद्दा व्यापक मात्रामा विकास र स्थिरता सुनिश्चित गर्न हो”, उनले भने। मस्कोको सेनाविरुद्धको युद्धमा आफ्नो आकाशमा नियन्त्रण हासिल गर्नु सन् २०२४ को प्राथमिकता रहेको किएभले बताएको छ ।

विदेशमन्त्री कुलेबाले युक्रेनलाई थप हवाई रक्षा प्रणालीहरूको आवश्यकता रहेको बताए । “एफ–१६ तथा अन्य पश्चिमी विमानहरूलाई रुसी क्षेप्यास्त्र र विमानहरूमा फायर गर्न सक्ने पर्याप्त मात्रामा रकेट दबाउन इलेक्ट्रोनिक युद्धको आवश्यकता पनि थियो”, उनले भने ।

क्रोएसियाका प्रधानमन्त्री एन्ड्रेज प्लेन्कोभिकले भने, “युक्रेनको सफलता र विजयको मुख्य पक्ष भनेको पश्चिमाहरू यसको समर्थनमा एकजुट रहनु हो ।” अमेरिकी निर्वाचनका बारेमा सोधिएको प्रश्नमा उनले भने, “अमेरिका युक्रेनलाई समर्थन गर्नका लागि प्रतिबद्ध रहन्छ भन्ने मलाई लागेको छ ।”

युक्रेनको आर्थिक सुधारका लागि अमेरिकी राजदूत पेनी प्रिट्जकरले कार्यक्रमका क्रममा वासिङ्टनमा युक्रेनका लागि द्विदलीय समर्थन रहेकामा जोड दिए। “अमेरिकाले युक्रेनप्रति आफ्ना प्रतिबद्धताहरू पूरा गर्नुपर्दछ, उसले यस्तै गर्छ भन्ने मेरो विश्वास छ ।”

युक्रेनलाई समर्थन जुटाउन र युद्ध थकानको सामना गर्न सन् २०२२ फेब्रुअरीमा रुसको आक्रमणपछि पहिलो पटक जेलेन्स्की व्यक्तिगतरूपमा डाभोसमा उपस्थित भए ।

कुलेबाले डाभोस र युक्रेनमा राजनीतिज्ञहरू तथा लगानीकर्ताहरूसँगको ‘फलदायी’ बैठकमा ‘आशावादी मनस्थिति’ को प्रशंसा गरे । उनका अनुसार यसबाट थप वित्तीय सहयोग प्राप्त हुनेछ । “मानिसहरू युक्रेनको जितमा थप लगानी गर्न इच्छुक छन्, उनीहरू युक्रेनमा विश्वास गर्छन्”, उनले भने ।

ब्रेकफास्ट कार्यक्रममा प्लेन्कोभिक, पोल्यान्डका राष्ट्रपति एन्ड्रेज डुडा र बेलायती विदेशमन्त्री डेभिड क्यामरुनसहित धेरै शीर्ष युरोपेली अधिकारीहरू सहभागी हुनुहुन्थ्यो । प्यानलका क्रममा पोल्यान्डका राष्ट्रपति डुडाले रुसी आक्रमणविरुद्ध लड्नका लागि पश्चिमाहरू युक्रेनलाई लामो समयसम्म समर्थन गर्न तयार रहनुपर्ने चेतावनी दिए ।

“हामी लामो दौडका लागि तयार हुनुपर्छ जसमा हामी आफ्ना नागरिकहरूको सुरक्षा गर्छौं र युक्रेनको सङ्घर्षमा उसलाई समर्थन गर्नेछौँ”, डुडाले रुस र यसका राष्ट्रपति भ्लादिमिर पुटिन माथिको टिप्पणीमा कुनै कसर नराखी भने, “कुनै शङ्काबिना पुटिनले विश्वमा आगो लगाउने निर्णय गर्नुभयो ।” एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved