माघे संक्रान्तिका अवसरमा विभिन्न नदी किनारमा दर्शनार्थीको घुइँचो

नेपालभ्युज

माघे संक्रान्तिका अवसरमा विभिन्न नदी किनारमा दर्शनार्थीको घुइँचो
फाइल फोटो

काठमाडौं । माघे संक्रान्तीका अवसरमा मुलुकभरका नदीमा श्रद्धालु भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ । झापाको कन्काई माईमा बिहान ३ बजेदेखि नै भक्तजनहरु स्नानका लागि पुगेका छन् ।

झापा, मोरंग, सुनसरीसहित भारतबाट समेत भक्तजनहरु स्नानका लागि त्यहाँ पुगेका हुन् । त्यहाँ मेला समेत लागेको छ ।

तीन जिल्लाको संगमस्थल गुल्मीको रुरुस्थित रिडीमा पनि माघे संक्रान्ति मेलामा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ ।

गुल्मी, पाल्पा र स्याङ्गजाको संगमस्थल रुरुक्षेत्र गाउँपालिकाको रिडीस्थित कालीगण्डकी नदीमा स्नान गर्ने र मेला अवलोकन गर्नेहरुको बिहानैदेखि घुइँचो लागेको हो । यहाँ स्नान गर्नाले देव ऋण, पितृ ऋण तिरिने धार्मिक विश्वास छ । भुल गरेर गरेका पाप नष्टसँगै मन शान्तिकालागि रिडी मेलामा आउने भक्तजनको विश्वास छ ।

त्यस्तै, देवघाटमा पनि माघे संक्रान्तिमा स्नान गर्न जाने भक्तजनको घुइँचो लागेको छ । देवघाट क्षेत्र विकास समितिका अनुसार रातभर जाग्राम बस्ने भक्तजनले देवघाटको नदी तटीय क्षेत्र भरिएको थियो । कतिपय भक्तजन स्नान गरेर फर्किन थालेका छन् ।

सुरक्षाका लागि सशस्त्र प्रहरीको गोताखोरसहितको टोली परिचालन गरिएको छ । देवघाट क्षेत्र विकास समितिले विभिन्न समिति बनाएर काम गरेको छ । माघे संक्रान्ति मेलाको अवसरमा हिजैदेखि नारायणगढ मुग्लिन सडकखण्डसमेत निर्वाधरुपमा सञ्चालनमा ल्याइएको छ ।

देवघाटमा भारतलगायत तेस्रो मुलुकबाट समेत भक्तजन स्नानका लागि आउने गर्दछन् । समितिले पाँच लाखभन्दा बढी भक्तजन आउने अनुमान गरेको छ ।

त्यस्तै, आज त्रिशूली, नुवाकोटको देवीघाट, कालीगण्डकी, बाग्मती, इन्द्रावतीलगायतका स्थानमा पनि मेला लागेको छ । यी ठाउँमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved