जनकपुरधाममा आज रामसीताको विवाह हुँदै, यस्तो छ इतिहास

आजु मिथिला नगरिया निहाल सखिया

जनकपुरधाममा आज रामसीताको विवाह हुँदै, यस्तो छ इतिहास

जनकपुरधाम । आजु मिथिला नगरिया निहाल सखिया, चारों दुलहा में बड़का कमाल सखिया!
यस लोकभाकाका धार्मिक गीत संगीतले अहिले जनकपुर गुञ्जायमान भएको छ । विवाहपञ्चमी अवधीभर यस्ता संगीतले जनकपुर संगीतमय भएको हो ।

साता व्यापी विवाहपञ्चमी महोत्सवको आज मुख्य दिन जानकी मन्दिरमा रामसीताको विवाह हुँदैछ ।

त्रेतायुगमा भगवान राम र सीताको विवाह भएको सम्झानामा जनकपुरधाममा मंसिर शुक्ल पञ्चमीका दिन विवाहपञ्चमी महोत्सव मनाइन्छ । आज दिउँसो साधुसन्तको अगुवाइमा झाँकी किर्तनसहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला निस्केर ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान पुगेर स्वयम्वर गरिने छ ।

ढोल पिपही, सहनाई, बैण्ड बजा र पञ्चेबाजासहित निस्किने दुबै डोला वाह्रविघा मैदानमा मिलन भएपछि वैदिक परम्परा अनुसार मालाफेर गरी राम र जानकीको स्वयम्वर गर्ने प्रचलन छ । डोलाको दर्शन र रामसीताको सोयमम्बर हेर्न बाह्रविघा मैदानमा हजारौँको संख्यामा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । स्वयम्भरपछि आज बेलुकी जानकी मन्दिरमा विवाह हुनेछ ।

 

जनकपुरधाममा सप्ताहव्यापीरूपमा विवाह पञ्चमी मनाउने क्रममा हिजो मटकोर महोत्सव मनाइएको छ । त्यसअघि तिलकोत्सव, नगर दर्शन, फूलबारी लीला तथा धनुष यज्ञ सम्पन्न भइसकेको छ ।

सातौँ अर्थात् अन्तिम दिन भोलि रामकलेवा विधि सम्पन्न भएसँगै यस वर्षको विवाहपञ्चमी विधिवतरुपमा सम्पन्न हुनेछ ।

नेपालकी राजकुमारी सीता र भारतको अयोध्याका राजकुमार राम बीच त्रेता युगमा भएको उक्त विवाह नेपाल–भारतबीचको सांस्कृतिक सेतुको पर्याय बनेको छ । त्यती बेला देखि नै नेपाल र भारत बीच रोटी बेटीको सम्बन्ध रहेको अथ्र्याइन्छ । यस सम्बन्धको साक्षी बन्न प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सवमा सहभागी हुन लाखौं भारतीय तथा तेश्रो मुलुकमा पर्यटक जनकपुर आइपुगेका छन् ।

पाहुनाहरूको स्वागत– सत्कारका लागि सम्पूर्ण जनकपुरवासीहरू निकै खटेका छन् ।
‘पाँच सय वर्ष पुरानो परम्परालाई हामीले निरन्तरता दिइरहेका छौं’ महन्थ रामरोशनदास भन्छन् – पहिले अयोध्याबाट जन्ती ल्याउने चलन थिएन । अयोध्याबाट अनौपचारिक रूपमा आउनेहरूलाई जनकपुरवासीले जन्ती मानेर स्वागत गर्थे ।

२०६१ सालदेखि अयोध्याबाट विधिवत् जन्ती ल्याउन थालिएको हो ।,’ अयोध्याबाट जन्ती ल्याउनका लागि दुई देशका सरकार र तत्कालीन विश्व हिन्दु परिषद्का अशोक सिंघलले पहल गरेको महन्थ बताउँछन् । पहिलो पटक चार–पाँच सय जन्ती गाडीमा आएका थिए । रामायणमा जुन बाटोबाट जन्ती आएको उल्लेख थियो, त्यही बाटो भएर जनकपुरबाट जन्ती आएका थिए । त्यसयता हरेक पाँच वर्षमा औपचारिक रूपमा जन्ती ल्याउने गरिएको छ ।

विवाहपञ्चमीको अवसरमा मधेस प्रदेश मा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले महामहोत्सवको रुपमा मनाउन विवाहपञ्चमीको लागि बिदा दिने निर्णय गरेको हो ।

साता व्यापी यस महोत्सव अन्तर्गत कुन दिन के गरीन्छ ?
पहिलो दिन

मंसिर २६ गते यस वर्ष महोत्सव सुरु भयो। पहिलो दिन नगर दर्शन कार्यक्रम गरिएको थियो। त्रेता युगमा भगवान् राम आफ्ना भाइहरूका साथ जनकपुर आउँदा नगर क्षेत्रको अवलोकन गरेका थिए ।

रामायणमा उल्लेखित सोही क्षणहरूको स्मरण गर्दै विवाहपञ्चमी महोत्सवको पहिलो दिन नगरदर्शन झाँकीको आयोजना गर्ने गरिन्छ। जसमा राम, लक्ष्मण र उनका भाइहरूको प्रतीकस्वरूप स–साना बालबालिकालाई सजाएर नगरमा घुमाउने गरिन्छ ।

दोस्रो दिन

महोत्सवको दोस्रो दिन बुधबार फूलबारी लीला मनाइएको थियो। भगवान् राम जनकपुरमा घुम्ने क्रममा पुष्प वाटिकामा छिरेका थिए, जहाँ सीता पनि आफ्नी बहिनी र साथीहरूसँग घुम्न निस्केकी थिइन्। राम र सीताको पहिलो भेट सोही वाटिकामा भएको स्मरणमा फूलबारी लीला मनाउने गरिन्छ ।

तेस्रो दिन

महोत्सवको तेस्रो दिन बिहीबार धनुष यज्ञको आयोजना गरियो। सीताको विवाहका लागि बुवा जनकले सर्त राखेका थिए। उनले भगवान् शिवको धनुष जसले उचालेर त्यसमा प्रत्यन्चा चढाउन सक्छ, उसैसँग छोरी सीताको विवाह गरिदिने सर्त राखेका थिए ।

उक्त सर्तसहित जनकले धनुष यज्ञको आयोजना गरे । सो यज्ञमा ठूलठूला पराक्रमी राजा, महाराजा र वीर पुरुषहरू सहभागी भए। तर, कसैले पनि जनकको सर्त पूरा गर्न सकेनन् ।

शिवको धनुष उचाल्न त परै जाओस्, हल्लाउन पनि सकेनन् । तर, रामले भने सहजै धनुषलाई उचाले र भाँचिदिए । जनकको सर्त पूरा गरेपछि सीताको पतिका रूपमा चुनिए राम ।

सोही प्रसंगलाई जीवन्त बनाउन धनुष यज्ञको आयोजना गर्ने गरिन्छ ।

चौथो दिन

महोत्सवको चौथो दिनमा विशेष कार्यक्रम हुन्छ– तिलकोत्सव । रामले स्वयंम्बरको सर्त पूरा गरेपछि राजा जनक र अयोध्याका राजा दशरथबीच छोराछोरीको विवाहको मिति तय गर्न भेटघाट गरिन्छ । जसलाई तिलकोत्सव समारोह भनिन्छ ।

यस समारोहमा सीताको अभिभावकको भूमिकामा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास र रामको अभिभावकको रूपमा राम मन्दिरका महन्थ राम गिरीको सहभागिता भव्य समारोहबीच हुन्छ । तिलकोत्सव कार्यक्रमका लागि जानकी मन्दिरबाट राम मन्दिरमा थरीथरीका मिठाई, फलफूल र कोसेलीहरू (भार) पठाउने चलन छ । तिलकोत्सव कार्यक्रममै सम्धी भेटघाट हुने गर्छ । यो कार्यक्रमलाई स्थानीय युवा क्लबहरूले विशेष रूपमा आयोजन गरी भव्य बनाउने गर्छन् ।

पाँचौं दिन

महोत्सवको पाँचौं दिन मटकोर हुन्छ । पवित्र गंगासागर पोखरीबाट माटो खनेर ल्याएपछि सोही माटोले विवाहको मडवा (मण्डप) लिप्ने विधिलाई मटकोर भनिन्छ । मटकोर कार्यक्रम गर्न जानकी मन्दिरबाट सीताको सवारी निस्केपछि त्यसलाई लाखौं श्रद्धालुहरूले गीत गाउँदै र नृत्य गर्दै आशीर्वाद दिने गर्छन् ।

छैटौं दिन

साताव्यापी मनाइने विवाह पञ्चमीको छैटौं दिन विशेष हुन्छ । आइतबार जानकी मन्दिरबाट निस्कने माता सीताको डोली र राममन्दिरबाट निस्कने भगवान् रामको डोली ऐतिहासिक बा¥ह बिघा मैदानमा परिक्रमा गराएर लाखौं श्रद्धालुहरू र अयोध्याबाट आएका साधुसन्तको जन्तीको अगाडि स्वयम्बर गराइन्छ । स्वयम्बरपश्चात् डोलीहरू मन्दिर फर्किन्छन् र साँझबाट जानकी मन्दिरको परिसरमा बनाइएको भव्य मडवामा वैवाहिक कार्यक्रम सम्पन्न गरिन्छ ।

सातौं दिन

महोत्सवको अन्तिम दिन रामकलेवा हुन्छ । रामकलेवामा अयोध्याबाट विवाहमा सहभागी हुन आएका साधुसन्तहरू र सहभागी सबै श्रद्धालुहरूलाई जानकी मन्दिरको तर्फबाट भोजको आयोजना गरिन्छ । भोजपछि साधुसन्तलाई कोसेली दिँदै बिदाइ गरिन्छ । यसरी विवाहपञ्चमी सम्पन्न हुन्छ।

यस्तो छ जनकपुरधामको इतिहास

विवाह पञ्चमीको सुरुआत कहिलेदेखि भयो भने यकिन साथ भन्न नसकिएपनि आधुनिक जनकपुरधामको निर्माणसँगै रामनवमी तथा विवाह पञ्चमी जस्ता मेला, उत्सवहरूको सुरुवात भएको जनविश्वास रहेको छ ।

भनिन्छ, सत्रौँ शताब्दीको अन्त्यसम्म मिथिला वा जनकपुर गुमनाम नै थियो । ‘द हिस्ट्री अफ जनकपुरधाम’ किताबमा मानवशास्त्री रिचर्ड बरघर्टले यस बिचको समयलाई जनकपुर हराएको समय अर्थात् जनकपुरको ‘अन्धकार युग’ भनेर उल्लेख गरेका छन् ।

सन् १९७० भन्दा करिब तीन सय वर्षअगाडिको जनकपुरको इतिहासबारे उनले चर्चा गरेका छन् । सोह्रौँ–सत्रौँ शताब्दीतिर गङ्गा किनारमा रामको पूजा र भक्ति चारैतिर फैलिएको थियो । त्यही बेला रामानन्दीसाधुहरू त्रेतायुगको मिथिला सहर कहाँ छ भनेर खोज्दै हिँडेका थिए ।

भारतको बद्रीनाथबाट चतुर्भुज गिरी नामका साधु मिथिला खोज्दै अहिलेको जनकपुर आइपुगे । सपनामा उनले भगवान् रामलाई देखे । रामले भने, “तिमी जुन रूखमुनि सुतेका छौ, त्यही ठाउँमा पुरानो जनकपुर छ, जुन विदेहहरूको राजधानी थियो ।” यतिबेलै अर्का साधु सुरकिशोर दास पनि उत्तरी मिथिला आइपुगे ।

चतुर्भुज दसनामी सम्प्रदायका थिए भने सुरकिशोर रामानन्दी सम्प्रदायका । उनि पश्चिम भारतको लोहागढ शिखरमा बस्थे । जनकपुरको खोजीमा हिँडेका उनी एकदिन नीमको रुखमा आराम गरिरहेका बेला सीताको मूर्ति त्यहीँ ठाउँमा देखे । सीताको जुन जन्मभूमिको खोजीमा निस्केका उनी यहीँ ठाउँ नै सीताको जनकपुर हो भने सम्झे ।

जानकी मन्दिर स्थापित गर्ने श्रेय भने सत्रौँ शताब्दीका सन्त सुरकिशोर दासलाई दिइने गरिन्छ । भारतको टिकमगढ राज्यकी रानी वृषभानु कुँवरले १९१० सालमा नौलक्खा मन्दिर बनाएकी थिइन् । मुगल शैलीको यो मन्दिर बनाउन ९ लाख खर्च लागेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved