अर्थतन्त्र छिट्टै निकै गतिमा आउने प्रधानमन्त्री प्रचण्डको दाबी

नेपालभ्युज

अर्थतन्त्र छिट्टै निकै गतिमा आउने प्रधानमन्त्री प्रचण्डको दाबी
पुष्पकमल दाहाल ‘प्रचण्ड’/फाइल तस्वीर

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमको भूगोल र यहाँका जनतासँग, यहाँको विकास प्रक्रियासँग आफ्नो बेग्लै प्रकृतिको सम्बन्ध रहेको बताएका छन् ।

सुदूरपश्चिम महोत्सवको आज धनगढीमा उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले हामीले खोजेको समृद्ध संघीय नेपालको निर्माणमा सुदूरपचिम प्रदेशले महत्वपूर्ण भूमिका खेल्ने बताए । सुदूरपश्चिम प्रदेशले भोग्नुपरेको भौगौलिक, सामाजिक र सांस्कृतिक विभेदविरुद्ध हिजो संघर्षका क्रममा, शान्ति प्रक्रिया र संविधान जारी भएपछि पार्टी र सरकारको नेतृत्वमा रहँदा आफुले सुदूरपश्चिम प्रदेश लाई महत्व दिएको दावी दाहालले गरे । तेश्रोपटक प्रधानमन्त्री हुँदा सबैभन्दा धेरै भ्रमण र सरकारका तर्फबाट समेत निर्णायक प्रकृतिका कामहरु सुदूरपश्चिमका लागि नै गरेको बताए ।

प्रधानमन्त्री भएलगत्तै सुदूरपश्चिमबाटै विकास आयोजनाहरुको अनुगमन तथा निरीक्षण गर्ने घोषणा गरे अनुसार आफुले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको कार्यदेखि खप्तड क्षेत्रलाई सांस्कृतिक तथा प्राकृतिक पर्यटनको केन्द्र बनाउने घोषणासहित त्यहाँ भ्रमण गरेको उनले भनाइ राखे । सुदूरपश्चिम विकास आयोगको गठनदेखि सुदूरपश्चिम विश्वविद्यालयको स्थापना, सुदूरपश्चिम क्षेत्रमा रोजगारी र विकासका लागि उत्तर दक्षिण कनेक्टिभिटी जोडने महाकाली करिडोर, उत्तरतर्फ उरै भञ्ज्यांगदेखि दक्षिणतर्फ भारतको सीमाना जोडने सडक, कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र तथा वेदकोट नगरपालिकाको छेलामा औद्यौगिक क्षेत्र स्थापनाको घोषणा, महाकाली नदीमा मोटरेबल पुल, महाकाली सिँचाई आयोजनाको तेश्रो चरणको काम आफुले गरेको उनले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको अर्थतन्त्र सुधारका लागि मौद्रिक नीतिको कार्यदिशालाई लचिलो बनाएको बताएका छन् । मौद्रिक नीति ल्याउँदा ६ दशमलव ५ प्रतिशत नै राखिएको नीतिगत दरलाई पहिलो त्रैमासमा लचकता अपनाई ५ दशमलव ५ प्रतिशतमा झारिएको बताउँदै दाहालले यो काम सरकारकै पहलमा भएको दावी गरे । पहिलो त्रैमासमै राष्ट्र बैंकले मौद्रिक नीतिका प्रमुख औजारहरुलाई लचिलो बनाएर आगामी दिनमा ब्याजदर थप घट्ने संकेत दिए जस्तै प्रधानमन्त्री दाहालले केही महिनाभित्रै अर्थतन्त्र निकै गतिमा आउने दावी गरे ।

प्रधानमन्त्री दाहाललाई महोत्सव आयोजक कैलाली उधोग बाणिज्य संघले सुदूरपश्चिमका बिकास सम्बन्धी विभिन्न १० मागसहित १० किलोको माला लगाएको थियो । सेती प्रादेशिक अस्पतालमा आइसियू स्थापना, क्षेत्रीय खेलकुद रंगशाला, विश्वविद्यालय स्थापना, अप्टिकल फाइबर विस्तार र दुग्ध प्रशोधन केन्द्रको स्थापना गरी पाँच बुँदा मागको सुनुवाई भइसकेको छ । अन्तराष्ट्रिय क्रिकेट रंगशाल, प्रदेश सभा सम्मेलन गृह, दोधारा–चाँदनी सुक्खा बन्दरगाह, प्रदेशस्तरीय पर्यटन केन्द्र निर्माण, गेटा विमानस्थल धावनमार्ग कालोपत्रे तथा अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास गरिनुपर्ने र सेती प्रादेशिक अस्पताललाई सुविधासम्पन्न बनाउने बुँदाहरु आंशिक रुपमा सरकारले सुनुवाई गरेको अध्यक्ष कुँवरले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved