तस्वीरमा हेर्नुहोस् मंसिरमा सुरु भएको ऐतिहासिक कार्तिक नाच

१६९७ साल अर्थात नेपाल संवत् ७६१ देखि सुरु भएको पाटनको ऐतिहासिक कार्तिक नाच सुरु भएको छ । ३७६ वर्ष पुरानो यो नाच शनिबारदेखि सुरु भएको हो ।

तस्वीरमा हेर्नुहोस् मंसिरमा सुरु भएको ऐतिहासिक कार्तिक नाच

ललितपुर। १६९७ साल अर्थात नेपाल संवत् ७६१ देखि चलिरहेको पाटनको ऐतिहासिक कार्तिक नाच सुरु भएको छ । ३७६ वर्ष पुरानो यो नाच शनिबारदेखि सुरु भएको हो ।

भगवान् विष्णुका १७ कथाहरूसँग जोडिएको यो नाच पाटनका तत्कालीन राजा सिद्धिनरसिंह मल्लले चलाएका थिए।

मल्लले आफ्ना गुरुहरू हरिवंश राजोपाध्याय र विश्वनाथ उपाध्यायको सल्लाहअनुसार तत्कालीन दरबार चोकभित्र रहेको भगवान् कृष्णको मन्दिर निर्माण सम्पन्न भएको उत्सव मनाउन पहिलोपटक यो नाच सुरु गरेको इतिहासमा उल्लेख छ ।

कार्तिक नाच हरेक वर्ष कार्तिक महिनामा प्रदर्शन गरिने संगीतमा आधारित नृत्य र नाटक हो। यो नाच पाटन दरबार क्षेत्रमा रहेको कार्तिक डबलीमा मञ्चन गरिन्छ।

सुरुमा यो नाच राजा सिद्धिनरसिंह मल्लले दुई दिनको लागि नाशल चोकमा देखाएर यसको सुरुवात गरेका थिए। तर पछि उनका छोरा श्रीनिवास मल्लले यसलाई सात दिनसम्म देखाउन थाले।

यसै गरी श्रीनिवास मल्लका छोरा राजा योग नरेन्द्र मल्लले यसलाई १५ दिनसम्म मञ्चन गर्न थाले।

कार्तिक नाच, सुरुमा ‘बाथः प्याखँ’ बाट सुरु हुन्छ । यो तीन दिनसम्म देखाइन्छ । त्यसपछि भगवान् विष्णुको विभिन्न कथाहरूमा आधारित नाचहरू प्रस्तुत गरिन्छ। अन्तिम दिन ‘दधि लीला’ मञ्चन् भएसंगै यो नाच सकिन्छ।

तत्कालीन समयमा देशमा शान्ति, समृद्धि र मनोरञ्जनको हेतुले यो नाच सुरु भएको मानिन्छ।

कुनै समय कार्तिक महिनामा २७ दिन अर्थात् महिना दिनसम्म देखाइने हुँदा यो नाच कार्तिक नाचको नामले परिचित भएको हो।

यस वर्ष कार्तिक नाच मंसिर २ गतेदेखि ११ गतेसम्म १० दिन प्रदर्शन गरिने भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved