आलेख

गिरोहको कब्जामा वैकल्पिक राजनीति

नागरिक अहिलेका दलहरूको क्रियाकलापबाट वाक्क भएका छन् । यो परिस्थितिलाई आफूअनुकूल बनाउन यो समूह लागि परेको छ । यसले जनताको मनोभावना बुझेर फाट्टफुट्ट राम्रा काम पनि गर्छ । यस्ता कामले जनतालाई भ्रमित गरेको देखिन्छ ।

गिरोहको कब्जामा वैकल्पिक राजनीति

नयाँ संविधान घोषणा भएपछि नेपालको राजनीति नयाँ चरणमा प्रवेश गर्‍यो । तर, विडम्बना नै भन्नुपर्छ कि पुराना दलले संविधानमा उल्लेख भएका कुरालाई वास्तविकता बनाउने योजना र क्षमता देखाएनन् । त्यसैले पछिल्ला केही वर्षदेखि देशमा पुराना दलको विकल्पबारे बहस चलिरहेको छ । पछिल्लो समय संघ र प्रदेश सरकार अस्थिर हुनुमा यी दल प्रत्यक्ष जिम्मेवार देखिँदा विकल्प खोज्नुपर्ने आवश्यकता झन् बलियो बन्दै गएको छ ।

नयाँ दल कसरी निर्माण गर्ने भन्ने विषयमा चाहिँ प्रमुखतः दुई राय देखिन्छन् । एउटा हो पुरानै विचार र सङ्गठनको सुधारबाट गर्न सकिन्छ भन्ने । अर्को, हो यसका लागि विचार र नेतृत्वको नवनिर्माण गर्नु पर्दछ भन्ने । यद्यपि, पछिल्लो करिब १५ वर्षको अनुभवले के देखाउँछ भने पछिल्लो राय राख्नेहरूबीच एकता हुन सकिरहेको छैन ।

पछिल्लो निर्वाचनपछि विकल्पको छलफलमा नयाँ विचारले पनि प्रवेश पाएको छ । त्यो हो सङ्गठन महत्त्वपूर्ण हो, ‘वाद’ चाहिन्छ भन्ने छैन । यसको गतिलो उदाहरण रास्वपा हो । यो विचार राख्नेहरूबीच तीव्र गतिमा एकता बनेको देखियो तर, चुनाव जित्दानजित्दै विचलित हुने समस्या आयो । अर्थात् यसले नयाँ परिस्थितिको आवश्यकतालाई पुरा गर्न सक्ने भएन ।

वास्तवमा पछिल्लो निर्वाचन पछि विकल्पमा कुरा गर्नेहरूको एक अर्को नयाँ तप्का पनि बलियो बन्दै गएको छ । यो लगातार विस्तार हुँदै गएको छ । यो विचार र सङ्गठन दुवै चाहिँदैन भन्नेहरूको तप्का हो । यस समूहले विचारबिना नै राजनीति हुन्छ भन्ने ‘विचार’ बोक्छ । यसले काठमाडौं महानगरमा आफ्ना उमेदवारलाई जितायो पनि । यस लेखमा यही समूहको विचार र प्रवृत्तिलाई परिभाषित गर्ने प्रयास गरिएको छ ।

वास्तवमा यो अर्धभूमिगत समूह हो । जसले खुला वैचारिक बहसमा मात्रै होइन, लोकतान्त्रिक प्रक्रियामा पनि विश्वास गरेको देखिँदैन । काठमाडौंमा उमेदवार छान्ने यसको प्रक्रिया के थियो त्यो जनतालाई थाहा छैन । हुन त यसका अन्य गतिविधि पनि पारदर्शी देखिँदैनन् । यिनको कथित ‘कोर टीम’ हुन्छ रे ! त्यो कुन हो ? यसको निर्णय प्रक्रिया कस्तो हुन्छ ? कस्ता विचार बोकेका मानिस यसमा छन् ? भन्ने कुरा थाहा हुँदैन । वास्तवमा यो संस्था नभएर एक गिरोह (सिण्डिकेट) जस्तो देखिन्छ । जसको काम गर्ने तरिका पनि माफियाको जस्तै अपारदर्शी छ ।

यस्तो गिरोहका देखाउने र गर्ने फरकफरक उद्देश्य हुन्छन् । जनतालाई भन्ने एउटा कुरा हुन्छ भने पूरा गर्नुपर्ने उद्देश्य अर्कै । यसले मिडियाको प्रयोग कसरी गर्ने ? जनताको मनोविज्ञान हेरेर कस्ता कन्टेन्ट दियो भने तिनलाई आफूअनुकूल गर्न सकिन्छ ? यस्तै काममा ध्यान, ऊर्जा र धनको लगानी गरेको देखिन्छ । वास्तवमा कानूनको दायरामा नभएको अहिलेको अराजक सोसल मिडिया हुँदैन्थ्यो भने यो जमात सायदै जन्मिन्थ्यो ।

यो गिरोहले जनताको मानसिकता तोडमोड गर्नका लागि फासीवादी तरिका अपनाएको छ । यसले जनताको अज्ञानतालाई दोहन गर्न राष्ट्रवादका साथै भय र आक्रोश पनि प्रयोग गर्दछ । एक निश्चित वर्ग वा समुदायप्रति लक्षित घृणा फैलाएर आफ्नो प्रभुत्व काय राख्न खोज्दछ । अहिले सम्म यसले पुराना दल, सडक व्यापारी तथा सुकुम्बासीलाई विकासका बाधकका रूपमा देखाएको छ । भोलि यसले कुनै समुदाय वा धर्म विशेषलाई यसरी नै टार्गेट गर्न सक्छ ।

प्रियतावाद र व्यक्ति केन्द्रीयता यस गिरोहका प्रमुख विशेषता हुन् । यसले कुनै एक व्यक्तिलाई ‘सुपर ह्यूमन’ बनाउँछ । एक व्यक्ति सबै गुणयुक्त भएको जस्तो गरी प्रचार गर्छ । उसले सबै समस्याको समाधान गर्न सक्छ भन्ने तरिकाले भ्रम छर्ने काम हुन्छ । ज्ञान पनि उसैको, बल पनि उसैको, रणनीति पनि उसैको लगभग सबै उसैको जस्तो उसलाई ‘डेमी गड’ बनाएर पछाडिबाट गिरोहले आफ्नो स्वार्थ परिपूर्ति गर्दछ । यस्तो गिरोह कहिल्यै सार्वजनिक हुँदैन । यसमा जोडिएका व्यक्तिको जुन कुनै बेला उपादेयता सकिन सक्छ । त्यस्तो भयो भने व्यक्तिलाई कुनै प्रक्रियाबिना नै हटाइन्छ ।

कुनै अपराधका घटना भए भने जिम्मेवारी लिने सङ्गठन हुँदैन । सामूहिकता हुँदैन । कस्तो देखिन्छ भने यस्तो गिरोह बनाउनुको कारण नै उत्तरदायीत्वबाट बच्नका लागि हो । यहाँ जति काम हुन्छन्, ती एक व्यक्तिको वरिपरि घुम्छन् । यदि उक्त व्यक्ति भाग्यो, देश छाड्यो वा उसलाई कारबाही नै गरियो भने पनि उक्त गिरोहको जालो समाउन गाह्रो हुन्छ । अन्तमा एक व्यक्ति मात्रै सबै अपराधको जिम्मेवार हुन्छ ।

नागरिक अहिलेका दलहरूको क्रियाकलापबाट वाक्क भएका छन् । यो परिस्थितिलाई आफूअनुकूल बनाउन यो समूह लागि परेको छ । यसले जनताको मनोभावना बुझेर फाट्टफुट्ट राम्रा काम पनि गर्छ । यस्ता कामले जनतालाई भ्रमित गरेको देखिन्छ । झुट, अर्धसत्य, अभिप्रायगत असत्य (सही कुरा गलत मनसायले उठाउने), अवसरवाद यसका विशेषता हुन् । यसको अर्को प्रवृत्ति हो सत्य यसको स्वार्थ प्रतिकूल भयो भने पानी धमिल्याउने, अन्य विवाद उठाउने, मिथ्याकरण गर्ने तथा गुपचुप विषयान्तर गर्ने ।

यो गिरोहले गर्ने कामको प्रकृति बुझ्न सोसल मिडियाको दुरुपयोगलाई हेर्दा हुन्छ । यसले जनतालाई मन पर्ने वा छुने शब्दहरू राखेर विभिन्न पेजहरू बनाउँछ । उक्त पेजबाट जनजीविकाका कुरा उठाए जस्तो गर्ने, देशका जल्दाबल्दा समस्या उठाए जस्तो पनि गर्ने तर बीचबीचमा आफ्नो स्वार्थअनुकूलका कन्टेन्ट मिसाएर दिने । त्यस्ता कन्टेन्ट समाधानमा भन्दा पनि प्रतिस्पर्धीलाई बदनाम गर्न र एक व्यक्तिलाई महान् बनाउनमा बढी केन्द्रित हुन्छन् ।

यसले सोसल मिडिया कम्पनीसँग मिलेर विज्ञापनका रुपमा आधारहीन सूचना, समाचार, स्वार्थअनुकूलका भनाइ प्रचार गर्ने काम गर्दछ । उदाहरणका लागि ‘रुटिन अफ नेपाल बन्द’ ‘भ्रष्टाचारविरुद्ध महाअभियान’ जस्ता अनेकौं फेसबूक पेजहरू छन् । युट्यूब, स्टाग्राम, एक्स्लगायतका सोसल मिडियामा तिनका गतिविधिलाई प्रशस्तै देखिन्छन् ।

सोसल मिडियामा पेज बनाउन कुनै आधिकारिकता जरुरी नपर्ने हुँदा यस्ता फोरम (आइडी, पेज, समूह) जतिबेला पनि निर्माण गर्न सक्ने र बन्द गर्न सकिने हुन्छन् । सबैको हातमा मोबाइल पुग्दा सोसल मिडिया सबै भन्दा प्रभावकारी माध्यम बनेको छ । तर, यसको नियमन नहुँदा उक्त अराजनीतिक गिरोहलाई जवाफदेहीताबाट बँच्न सहयोगी भइरहेको छ ।

यसले आफूअनुकूल भ्रम फैलाउन वा पानी धमिल्याउन सोसल मिडियाको प्रयोग गर्दछ । काँटछाँट गरेर हालिएका भिडिओमा अनुकूलका शीर्षक हालेर भाइरल बनाउने यसको तरिकाले सामाजिक चेतनालाई भ्रष्ट बनाएको छ । यसो गर्दा नागरिकको बौद्धिक विकासमा अपूरणीय क्षति मात्रै पुगेको छैन, बरु चेतना ऐतिहासिक विकासक्रमको ‘लिक’बाट बाहिर धकेलिएको छ । यसो हुँदा आलोचनात्मक चेत नष्ट हुन्छ । जडता र अन्धभक्ति मौलाउँछ । वास्तवमा गिरोहले सोसल मिडियाबाट गरिरहेको काम मानवता विरोधी अपराध हो ।

यसको समधान के ?

यसलाई रोक्न राज्य सञ्चालनमा पारदर्शीता र जनसहभागिताको सुनिश्चितता जरुरी छ । तर, अवस्था कस्तो छ भने दलहरूमै आन्तरिक लोकतन्त्र छैन । संविधानले भने उच्च लोकतान्त्रिक संस्कारको अपेक्षा गर्दछ । कतिसम्म भने यसले एक व्यक्तिलाई स्वतन्त्र रूपमा चुनाव उठ्न सक्ने अधिकार दिएको छ ।

कतिपय स्थानीय तहमा यसरी नै जनप्रतिनिधि चुनिएका छन् । तर, समस्या कहाँ उत्पन्न भएको छ भने यो अधिकारलाई सदुपयोग गर्नका लागि आवश्यक लोकतान्त्रिक संस्कारको अभाव दलहरूमा मात्रै होइन, सबैमा छ । उक्त स्वतन्त्र भनिएको व्यक्तिमा पनि छ ।

यसको मतलब के हो भने हाम्रो समाज कुनै विधि तथा प्रक्रियाबिना नै उठ्ने व्यक्तिलाई विश्वास गरेर चल्न सक्ने अवस्थामा छैन । यो भन्नुको अर्थ व्यक्ति गैरदलीय रूपमा उठ्न पाउनु हुँदैन भन्ने होइन । यहाँ के भन्न खोजिएको हो भने स्वतन्त्र उमेदवार बन्नका लागि पनि प्रक्रिया चाहिन्छ । त्यसलाई अनुमोदन गर्न नागरिक स्तरमा एउटा विधि र वैधानिकताको जरुरी पर्दछ । यहि संवैधानिक प्रक्रिया नहुँदा गिरोह जन्मिने हो ।

स्वतन्त्र उमेदवारको छनोटलाई वैधानिक बनाउन नागरिक प्राइमरीको आयोजना गर्नु पर्दछ । यस विषयमा लेखेका अन्य लेख पनि पढ्न सक्नुहुन्छ । नागरिक प्राइमरीले मतदाताले उमेदवारलाई परीक्षण गर्न पाउने अवसर दिन्छ । दलीय चलखेलबाट टिकट ल्याएर होइन, नागरिकका सामु आकाङ्क्षीले आफूलाई प्रमाणित गरेर जनप्रतिनिधि हुनु पर्दछ भन्ने यसको मान्यता हो । यसको सुरुवात स्थानीय तहबाट गर्न सकिन्छ ।

गैरदलीयकरण भनेको स्वतन्त्र उमेदवार उठ्न पाउने कुरा मात्रै होइन, यो प्रत्यक्ष लोकतन्त्रको लागि हो । दलले चुनेका उमेदवारलाई भोट दिने नभएर जनताले नै उमेदवार चुन्ने पद्धति हो । दलहरूबाट उपयुक्त उमेदवार पाउने सम्भावना नभएको अहिलेको अवस्थामा सही विकल्प हो ।

नागरिक प्राइमरीको संवैधानिक व्यवस्था हुँदा उमेदवारले जनतासामु उभिएर अर्को प्रतिस्पर्धीलाई परास्त गर्न तर्क र बुद्धिको प्रयोग गर्दछन् । यसले जनतालाई कुन आकाङ्क्षी कस्तो हो बुझ्ने अवसर दिन्छ भने उमेदवारका लागि राम्रो तयारी हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved