पुष्पालाई लागेको छ, दाजु नआएसम्म यो तिहार भन्ने दिन कहिले नआइदिए हुन्थ्यो । कास उनको बसमा भए सबै, यो समयको सुइ दबाएर त्यो ‘तिहार’लाई दाजु आएपछि मात्रै ल्याइदिन्थिन् । तर, विवश छिन् उनी सत्यलाई स्विकार्न । उनी, के नै गर्न सक्छिन् र सहन बाहेक ।
कञ्चनपुर भीमदत्त ३ की १७ वर्षीया पुष्पा जोशी र इजरायलमा हमासले अपहरण गरेर लगेका भनिएका दाजु विपिन
तिहारसँगै कञ्चनपुरको भीमदत्त अरू ठाउँ जस्तै झिलिमिली छ । तिहार बिदासँगै केटाकेटी लिङ्गे पिङ मच्चाइरहेका छन् । ‘आहा ! तिहार आयो’ भन्दै रमाइरहेका छन् ।
भीमदत्तका हरेक बस्तीमा घरका आँगन र मुलढोका माटोले पोतिएका छन् । सबैको आँगनमा रंगोलीको रङ्गिन चित्र कोरिएको छ। फूल पसलमा बाक्लै भीड छ । घर र पसल सजाउन फूल किन्नेहरूको घुइँचो छ । कतिपय फूलबारीमै पुगेका छन् । फूल पनि कति थरि, सयपत्री मखमली, हजारी, यस्तै यस्तै फक्रिरहेका देखिन्छन् । बजारमा किनमेल गर्नेको उस्तै ताँती ।
जताततै तिहारको माहौलले छपक्कै छाइसकेको छ । कतिपय भनिरहेका छन् ‘दशैँभन्दा अझ तिहार रमाइलो’ ।
सिङ्गो देशसँगै कञ्चनपुर पनि दीपावलीमय बनेको छ । काठमाडौं र अरू शहर कर्मथलो बनाएका डेरावालाहरूको गाउँ फर्किएका छन्, तिहार मनाउन ।
अधिकांशका घरका आँगनमा तिहारकालागि साँचेर राखेका सयपत्री फूलले बारी ढकमक्क बनेका छन् । दिदीबहिनीहरू फुलको माला गाँसिरहेका छन् । भाइमसला किनेर ल्याइसकेका छन् । गृहिणी सेल पकाउन व्यस्त देखिन्छन् । सबैभित्र टाँगिएका देखिन्छन्, झिलिमिली बत्तीहरू ।
सबैतिर तिहारको छाएको छ। तर, भीमदत्त ३ की १७ वर्षीया पुष्पा जोशीको घरको दृश्य फरक छ । त्यहाँ भने अँध्यारो छ । सबैको घरमा दाजु बहिनी जम्मा भैसकेका छन् । मिठामिठा सेलरोटीहरू पाकिरहेका छन् । देउसी भैलोले गाउँ नै गुञ्जायमान भइरहेको छ। तर, पुष्पाको परिवारलाई त्यो माहौलले छोएको छैन ।
आँगनमा सयपत्री र मलमली फूल ढकमक्क नफुलेको पनि होइन छ। पुष्पाले माला उन्ने तयारी नगरेकी पनि होइनन् । तर, आँगनीको फूल आइलिन लागिसक्यो ।
अघिल्ला वर्षहरूका तिहार आएलगतै पुष्पा घर रङ्ग लगाउन, रंगोली बनाउन र झिलिमिली पार्न अघि सर्थिन् । दाइ विपिनले उनलाई सबै काममा सघाउँथे । तर, यसपटक उनी एक्ली छिन् ।
आँगनीको डिलमा बसेर दाइ विपिनको बाटो कुरेर बसिरहेकी छिन् । मोबाइलमा दाइसँग म्यासेन्जरमा पहिला भएका कुराकानीका हेरिरहेकी छिन् । यताबाट एकोहोरो म्यासेज लेख्छिन्, कुनै जवाफ नआउँदा चिन्तित छिन् ।
पुष्पाका दाइ २३ वर्षिय विपिनी उनै हुन्, जो इजरायलबाट अपहरणमा परेका थिए । १० जना नेपाली मारिएकै दिन उनी बेपत्ता भए । दुई महिनाअघि इजरायल गएका दाइ विपिन हमास–इजरायल द्वन्द्वसँगै सम्पर्कविहीन भएका हुन् ।
नेपाल फर्किएका उनका साथीहरूका अनुसार विपिनलाई हमासका सेनाले लगेका थिए । इजरायली सरकारले विपिन हमासको नियन्त्रणमा रहेको पुष्टि गरेको छ। तर, हालसम्म उनको अवस्थाबारे थाहा छैन ।
सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गतको टीकापुर बहुमुखी क्याम्पसमा कृषि संकायमा अध्ययनरत थिए विपिन । भदौ २६ मा ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल गए । इजरायल जानुअघि उनी भदौ १४ मै घरबाट काठमाडौं गएका थिए । जाने बेला विपिनले बहिनीलाई काम र पढाइ दुवै राम्रो भएकाले छिट्टै घर फर्किने वाचा गरेका थिए ।
पुष्पाले भन्छिन्, ‘‘दादा सकुशल फर्किनुहोला भन्ने आश छ । दशैँ तिहार रोकिए पनि अहिलेसम्म कुनै वर्ष पनि हाम्रो तिहार रोकिएको थिएन । मलाई थाहा भएदेखि दादालाई टीका लगाउन छुटाएकी छैन । यसपालि पनि माला उनेर राखेकी छु । तर टीकाको अघिल्लो दिनसम्म कुनै खबर आएको छैन ।’’
तिहारको आगमनसँगै गाउँमा छरछिमेकका दाइभाइहरू घर फर्किरहेका छन् । तर, पुष्पाका दाजुको तिहारमा कुने टुङ्गो छैन । दाजुको अनिश्चयको कारण प्रतिक्षारत पुष्पाको आँखाबाट आँसु अविरल बगिरहेका छन् । विपिनको घरपरिवारमा सन्नाटा छाएको छ ।
पुष्पालाई लागेको छ, दाजु नआएसम्म यो तिहार भन्ने दिन कहिले नआइदिए हुन्थ्यो । कास उनको बसमा भए सबै, यो समयको सुइ दबाएर त्यो ‘तिहार’लाई दाजु आएपछि मात्रै ल्याइदिन्थिन् । तर, विवश छिन् उनी सत्यलाई स्विकार्न । उनी, के नै गर्न सक्छिन् र ।
०००
चाडपर्वको पनि आ–आफ्नै महत्त्व छ, तिहार भनेको विशेष गरेर दाजु र दिदीबहिनी बीचको मिलन हो । दिदीबहिनीले दाजु भाइलाई टीका लगाएर जुगाैँजुग जिउने आशीर्वाद दिन्छन् ।
भाइटिकाको दिन नजिकिएसँगै पुष्पा पनि दाजुको तस्बिरसँगै छिन् । फोटो हेर्दै अनेकौँ प्रश्न गर्छिन् । विगतमा दाजुसँग बिताएका क्षणहरू सम्झिन्छिन् । बरर… आँसुहरू झर्छन्, मनको बाँध फेरि भत्किन्छ। अनि फेरि अघिल्लो तिहारको दिनको याद उसको मानसपटलमा नाचिरहन्छ, चलचित्रको दृश्य जस्तै बनेर ।
जसोतसो आफूलाई सम्हालिन खोज्दै भन्छिन्, ‘‘अघिल्लो तिहारमा उहाँले फोटो फ्रेम उपहार दिनुभएको थियो । हामी दुवै जनाको सानो छँदाको फोटो छ । २ महिनाअघि इजरायल जानुअघि रक्षा बन्धनमा राखी बाँधिदिएकी थिए । त्यही दिन उहाँ घर छाडेर जानुभएको हो। फर्किँदा तिम्रा लागि राम्रो उपहार ल्याउँला भन्नुभएको थियो ।’’
रक्षा बन्धनको बिहान दाजु बहिनी स्थानीय विष्णु र रौतेल मन्दिर गएका थिए । पूजा गरेर पुष्पाले रक्षाबन्धन बाँधिन् । आफ्नो दाजुलाई ‘काँडाले पनि नकोरोस्’ भन्दै आर्शिवाद् दिइन् । घर फर्किएर खाना खाएपछि विपिन काठमाडौं गएका थिए । ११ महिनापछि अर्को साल दशैँमा घर फर्किने विपिनले बाचा गरेका थिए ।
तर, उनी इजरायल गएको २४ दिनमै आक्रमण भयो । दशैं अघिको घटना थियो । विपिनसँगैका १० जना मारिए । अरू साथीहरूलाई सरकारले उद्धार गरेर ल्याएको थियो । विपिन भने हराए । सम्पर्कविहीन भएको विपिन पनि दशैँमै फर्केलान् भन्ने जोशी परिवारलाई आशा थियो ।
तर, उनको केही पत्तो नलागेपछि जोशी परिवारमा दशैँ दशैँजस्तो भएन । निरस र खल्लो भयो । दशैँमा घरमा नआए पनि तिहारमा त दाजु, पक्कै आउँछन् भनेर पुष्पाले आशाको झिनो त्यान्द्रोमा आफूलाई बाँधिरहिन् । यस्तैमा दसैँ सकियो । तिहार पनि आयो । जताततै फूलहरू फुलेर ढकमक्क भए । तर, अझै विपिनको पत्तो छैन ।
दाइको फोटो नियाल्दै पुष्पाले भनिन्, ‘‘त्यही आशा त हो मान्छेको सबैभन्दा ठूलो सहारा’ । मेरो एक्लो दाइ हुन्, म पनि एक्लै बहिनी हुँ, तिहार आउँदै छ, मलाई नियाँस्रो लाग्दै छ । यो तिहारमा टिका लगाउन नपाए पनि छिट्टै आउनेछन् भन्ने आशा छ।’’
विपिन हमासको अपहरणमा परेको जानकारी पाएर पनि सरकारले खासै पहल नगरेको जोशी परिवारको गुनासो छ । अपहरणमा परेको भन्ने थाहा भइसक्दा सरकारले हमास र प्यालेस्टाइन सरकारसँग कूटनीतिक पहल नगरेकोमा दुखी छन् ।
विपिनकी हजुरआमा ८४ वर्षीय कल्पना जोशी पनि नाति विपिनको खोजी कार्य गरिदिन हारगुहार गर्छिन् । आमा पद्मा जोशीको पनि उही बिन्ती गर्छिन् ।
विपिनका बुवा महानन्द जोशीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेरै छोराको खोजी गरिदिन आग्रह गरेका थिए । विपिनको खोज कार्य भइरहेको र विभिन्न अन्तर्राष्ट्रिय संघसंस्था तथा कूटनीतिक नियोगसँग पनि सहयोग मागेको सरकारले जनाए पनि परिणाममुखी काम नहुँदा परिवार चिन्तित बनेको छ ।
Facebook Comment
Comment