हमासले लगेका भनिएका विपिन जोशीलाई कहाँ राखिएको छ ? खोज्न के गर्दैछ सरकार ?

नेपालभ्युज

हमासले लगेका भनिएका विपिन जोशीलाई कहाँ राखिएको छ ? खोज्न के गर्दैछ सरकार ?

काठमाडौं। इजरायलको किबुजस्थित कृषि फार्ममा रहेका १७ जनाको समूहमध्ये बंकरमा सुरुमै हमासको आक्रमणमा परेका कञ्चनपुरको भीमदत्त नगरपालिका– ३ का विपिन जोशी एक सातादेखि बेपत्ता छन्। उनको अवस्था अझै अज्ञात छ।

आक्रमणमा परी घाइते भएका हिमाञ्चल कट्टेलले हराइरहेका विपिन जोशीलाई हमासले बन्धक बनाएर लगेको आफूले देखेको बताएका छन्।

घाइते हिमाञ्चलले अस्पतालबाट एक भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो साथी विपिन जोशीलाई दुई–तीनजना थाइसँगै हमासले बन्धक बनाएर लगेको आफूले देखेको बताएका छन्।

आक्रमणमा घाइते अवस्थाका चारमध्ये एक जना स्वदेश फर्केका छन्। तीनजना इजरायलमै उपचाररत छन्।

शुक्रबार स्वदेश फर्केका विद्यार्थी तथा त्यहीँ उपचाररत विद्यार्थीले जोशीलाई थाई नागरिकहरूसँगै हमास समूहले कब्जामा लिएको बताएका थिए। नेपाली दूतावासले भने जोशीको अवस्था अझै अज्ञात रहेको जनाएको छ । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले जोशीको स्थिति अझै अज्ञात रहेको बताइन् । उनले भनेकी छिन् ‘‘अहिलेसम्म पत्ता लागेको छैन।’’

हमासले बन्धक बनाएका नागरिकमा नेपाली विद्यार्थी पनि !

अघिल्लो शनिबार बिहान हमास समूहले गरेको ग्रिनेड आक्रमणमा चारजना नेपाली विद्यार्थी घाइते भए । सल्यानका विधान सेजवाल, दाङका रविन डाँगी, कैलालीका धनबहादुर चौधरी र गोरखाका हिमाञ्चल कट्टेल घाइते भएका थिए । हमास समूहले दुईवटा ग्रिनेड फालेकोमा एउटा जोशीले समाएर बाहिर फालेका थिए । अर्को भने पड्केको थियो ।

जोशीले ग्रिनेड बंकरबाहिर फालेका कारण चारजना नेपालीहरूको ज्यान बचेको त्यहाँबाट फर्केका विद्यार्थीहरूले बताएका छन् । इजरायलबाट आएका २५३ जनाको विद्यार्थी टोली शुक्रबार स्वदेश फर्केर शनिबारसम्म गाउँ पुगिसकेको छ ।

इजरायलस्थित नेपाली दूतावासले पछिल्लो समय गाजाआसपाससहित इजरायलको दक्षिणी तथा उत्तरी सीमा क्षेत्रमा थप जोखिम बढेको जनाएको छ । त्यहाँबाट सुरक्षित स्थानमा सर्न नेपालीहरूलाई दूतावासले आग्रह गरेको छ । दूतावासले स्वदेश फर्कन चाहनेका लागि अनलाइन फर्म भर्न तथा रोजगारदाता नभएकाहरूले पनि सम्पर्क गर्न आग्रह गरेको छ ।  सुरक्षित आश्रयस्थल नभएकाहरूले दूतावासमा सम्पर्क गर्न भनिएको छ ।

इजरायलका अस्पतालमा पनि भेटिएनन् विपिन, कता हराए ?

कूटनीतिक नियोगहरूलाई आग्रह

सरकारले विपिन जोशीको जोशीको स्थिति पत्ता लगाइदिन अन्तर्राष्ट्रिय संघ-संस्था र कूटनीतिक नियोगहरूलाई आग्रह गरेको छ। परराष्ट्रमन्त्री एनपी साउदले विपिन जोशीको स्थिति पत्ता लगाइदिन अन्तर्राष्ट्रिय संघसंस्था र कूटनीतिक नियोगहरूलाई आग्रह गरेका हुन्।

आइतबार ललितपुरको भैंसेपाटीस्थित निवासमा अन्तर्राष्ट्रिय समाचार संस्थाका प्रतिनिधिसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री साउदले बेपत्ता विद्यार्थी जोशीको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय संघसंस्था र कूटनीतिक नियोग एवं मिसनहरूसँग आग्रह गरे।

बंकरबाट ग्रिनेड फालेर साथीलाई बँचाएका विपिन नै बेपत्ता

कुराकानीका क्रममा परराष्ट्रमन्त्री साउदले प्रत्यक्षदर्शी नेपाली विद्यार्थीले बताएअनुसार विपिन आक्रमणकारी हमास समूहको कब्जामा रहेको हुनसक्ने बताए ।
‘‘विपिनसहितका नेपाली विद्यार्थीहरू बंकरमा लुकेर बसेको बेलामा आक्रमणकारीले छोटो समयमा पटक-पटक आक्रमण गरेको देखिन्छ । पहिले गोली चलाएको र त्यसपछि ग्रिनेड फालेको देखिन्छ’’, परराष्ट्रमन्त्री साउदले भने, ‘‘प्रत्यक्षदर्शी विद्यार्थीले भनेअनुसार दुईवटा ग्रिनेड फाल्दा एउटा नपड्किँदै विपिनजीले एउटा ग्रिनेट बाहिर फ्याँकेको देखिन्छ ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved