जिउँदै मान्छे जलाउने आलमको मुद्दा विवादित न्यायाधीशको इजलासमा, कस्तो आउला फैसला ?

न्यायाधीशसँग सेटिङ मिलाएको भन्दै समर्थकले मनाए खुसीयाली

मुद्दाको फैसला हुने दिन नजिकिँदै जाँदा आलम पक्षधरले गाउँमा खुशीयाली मनाइरहेका छन् । न्यायाधीशसँग सेटिङ मिलाएको र जेलमुक्त हुने भन्दै समर्थकले आलमको रौतहट राजपुर नपा– ४ फरहदवास्थित गाउँमा पटका पड्काएर खुसीयाली मनाइरहेका छन् ।

नेपालभ्युज

जिउँदै मान्छे जलाउने आलमको मुद्दा विवादित न्यायाधीशको इजलासमा, कस्तो आउला फैसला  ?

काठमाडौं । अफताव आलमविरुद्ध जिल्ला अदालत रौतहटमा दायर भएको मुद्दामा चार वर्षपछि अन्तिम फैसला हुँदै छ । बुधबारसम्म बहस सकिएकाे छ।

बुधबार अदालतले मुद्दाको गाम्भीर्यता र जटिलता विचार गरी सरकारी वकिल र आलमका वकिललाई १५ दिनभित्र बहस नोट पेश गर्न आदेश दिएको छ ।

२०६४ साल चैतमा संविधानसभा चुनावका बेला मानिस जलाएको घटनाका आरोपित आलमको मुद्दा जिल्ला न्यायाधीश बाबुकाजी बानियाँको इजलासमा सुनुवाइ भइरहेको हो ।

सरकारी वकिल कायार्लालयले बहस नोट पेश गर्न गरेपछि फैसला  गर्ने जिल्ला अदालत रौतहटको तयारी छ ।

आफ्नै कार्यकर्तालाई जिउँदै इँटाभट्टाको भुंग्रोमा हालेको उजुरी परेको १२ वर्षपछि मात्र २०७६ असोजमा मुद्दा दायर भएको थियो । त्यसयता पनि आलम पक्षले चाहेजस्तै सुनुवाइ ढिलो हुँदा दबाबमा परेका पीडित परिवारको बयान फेरिन थालेको छ ।

सत्ताको दुरुपयोग र कानुनी तिकडमका आधारमा आलमले सुनुवाइ लम्ब्याउने, पीडित परिवारलाई गलाउने र मुद्दा आफ्नो पक्षमा पार्ने कोसिस जारी राखेका छन् ।

जिल्ला अदालत रौतहटका अनुसार आलमविरुद्धको मुद्दामा सरकारी वकिल पक्षको बहस मंगलबार सकिएको थियाे। आलम पक्षका वकिलको बहस पनि मंगलबार नै सकिएको छ । बाँकी केही वकिलको बहस बुधबार सकिएकाे जिल्ला अदालत रौतहटका स्रेस्तेदार उद्धव ढोडारीले बताए ।

उनले भने, ‘‘बहस नोट पेश गर्ने आदेश भएको, आएलगत्तै मुद्दाको फैसला होला ।’’

जिल्ला न्यायाधीश बाबुकाजी बानियाँको आचरणमा यसअघि कैफियत देखिएको थियो । यसअघि उनी न्यायपरिषद्बाट तीन वर्ष निलम्बनमा परेका थिए ।

जिल्ला अदालत काठमाडौंमा छँदा घुस लिएको घटनामा उनी मुछिएका कारण तीन वर्ष निलम्बनमा परेका थिए । न्यायपरिषद्ले निलम्बन फुकुवा गरेपछि मात्रै उनी न्यायाधीशमा पुनर्वहाली भएका थिए ।

मुद्दाको फैसला हुने दिन नजिकिँदै जाँदा आलम पक्षधरले गाउँमा खुशीयाली मनाइरहेका छन् । न्यायाधीशसँग सेटिङ मिलाएको र जेलमुक्त हुने भन्दै समर्थकले आलमको रौतहट राजपुर नपा– ४ फरहदवास्थित गाउँमा पटका पड्काएर खुसीयाली मनाइरहेका छन् ।

रौतहट– २ संविधानसभा निर्वाचन २८ चैत ०६४ का उम्मेदवार थिए मोहम्मद अफताव आलम । चुनाव जसरी पनि जित्नु थियो । बुथ कब्जा गर्नका लागि उनले बम बनाउने कालिगढ भारतबाट ल्याएका थिए । आफ्ना काका इद्रिसको गाईगोठमा बम बनाइरहेको बेलामा विस्फोट भएको थियो ।

केही युवा घटनास्थलमै ढले । सामान्य घाइते ज्यान बचाउन भाग्न थाले । घटना बाहिरिने डरले आलमका सहयोगीले घाइतेलाई खोजी–खोजी समातेर  जिउँदै ईटाभट्टामा हालेर जलाएका थिए ।

सबैलाई खरानी पारी प्रमाण नष्ट गरिएको थियो । बम विस्फोटको १२ वर्षपछि रौतहट प्रहरीले घटनालाई नयाँ ढंगले अनुसन्धान गरेपछि आलम पक्राउ परेका थिए ।

०६४ चैत २८ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन घटना भएको थियो । १५ वर्षमा स्वयम् आलम दुई पटक सांसद भए । एक पटक मन्त्री पनि भएका थिए ।

अफताव आलमलाई रिहा गर्न सर्वोच्चद्वारा अस्वीकार

घटनाको १२ वर्षसम्म आरोपीतविरुद्ध अनुसन्धान र कारबाही किन भएन भनेर जानकारी माग्दै अदालतको मानहानिको प्रक्रिया सुरु भएको जनाउ सर्वोच्चले दिएपछि २६ असोज ०७६ मा प्रहरी बल्ल तातेको थियो । त्यही दिन आलम पक्राउ परे ।

पक्राउपछि आलमले आफूलाई पक्राउ गर्ने डीएसपी नवीन कार्कीलाई भनेका थिए, ‘‘आग लाग्छ, रौतहटमा आग लाग्छ ।’’ उनको यो धम्कीलाई ध्यान दिएर जनकपुरदेखि प्रहरी ओसारिएको थियो ।

सरकारी वकिल कार्यालयले अनुसन्धानको २६ औँ दिनमा पेस गरेको मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै जिल्ला अदालत रौतहटले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

न्यायाधीश दीपक ढकालको इजलासले २९ कात्तिक ०७६ मा दिएको आदेशमा भनिएको छ, ‘‘विस्फोटक पदार्थ भण्डारण गरेको, घाइतेलाई जिउँदै इँटाभट्टामा हालेको भन्दै फौजदारी मुद्दा चलेको हुँदा अभियोगको गाम्भीर्यता हेरी प्रतिवादीलाई थुनामै राखेर मुद्दा चलाउनू ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved