जाजरकोट भूकम्प : पीडितलाई न गाँस, न बास

घर पूर्णरूपमा क्षति भएकाहरू घर न घाटमा

नेपालभ्युज

जाजरकोट भूकम्प : पीडितलाई न गाँस, न बास
भेरी नगरपालिका-३ थाप्लेका सर्वसाधारणहरु भूकम्पकाे त्रासले सडकमा सुत्दै ।तस्बिरः हेमन्त केसी / रासस

काठमाडौं। जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पले गर्दा जाजरकोट र पश्चिम रुकुममा अधिकांश मानिस बारीमा त्रिपाल टाँगेर बसिरहेका छन् ।

दैनिक रूपमा बढ्दै गइरहेको गएको चिसोका कारण उनीहरूको परिवारै प्रभावित बनेको छ ।

त्रिपालमा बस्नु पर्दा चिसो र भूकम्पको डरले रातमा निदाउन नसकेको पीडितहरू बताउँछन् । भूकम्पले घर पूर्ण रूपमा क्षति भएपछि अहिले घरको न घाटको भएका छन् ।

कतिपयको घर पूर्ण रूपमा क्षति भयो । कतिपयको घर चिरा परेको छ। आंशिक क्षति भएर बस्न नमिल्ने भएको छ । माटो र ढुंगोको जोर लगाएर बनाएका शतप्रतिशत घर बस्न नमिल्ने भएको छ ।

सिमेन्ट प्रयोग गरी बनाइएका घरहरू मात्रै सुरक्षित छन् । यसैले गाउँ क्षेत्र भएकाले धेरै माटोका घर छन्। माटोको घर चर्किएको कारण स्थानीय घर नजिकैको बारीमा त्रिपाल टाँगेर बसिरहेका छन् । दैनिक रूपमा बढ्दै गइरहेको गएको चिसोका कारण कतिपय बिरामी भएका छन् ।

पीडितहरू भन्छन्, ‘‘घर भित्र पस्न सकिँदैन । त्यहाँ बस्ने जस्तो पनि छैन । चिसोमा खुला आकाशमुनि बस्नुपरेको छ ।’

कतिपयको भूकम्पका कारण भत्किएको घरले अन्नपात तथा लत्ताकपडा पुरिएको छ । राम्रोसँग खाना खान पाएका छैनन् । यसले गर्दा पीडित परिवार गाँस र बासको चिन्तामा परेका छन् ।

सम्बन्धित निकाय अहिलेसम्म क्षतिको सङ्कलनमा जुटेका छन् । तर, राहत उपलब्ध गराउन सबै ठाउँमा सकिएको छैन । जसकारण भूकम्पले घर क्षति भएका पीडित परिवार गाँस र बासको चिन्तामा परेका स्थानीय बताउँछन् ।

शुक्रबारदेखि आंगनमा बस्नु पर्दा डरले राम्रोसँग निदाउन नपाएको र पेटभरी आफ्ना परिवारलाई खुवाउन नसकेको भूकम्प पीडित बताउँछन् ।

जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा अधिकांश घरहरू भत्किएका छन् । बाँकी घर चर्किएका छन् ।

रुकुम पश्चिममा २ हजार १३६ घर पूर्ण क्षति

रुकुम पश्चिममा भूकम्पले २ हजार १३६ घर पूर्ण क्षति भएका छन् । २ हजार ६४२ आंशिक र ४ हजार ६७० सामान्य क्षति भएका छन् ।

जिल्ला प्रशासन कार्यालय रुकुमका अनुसार प्रारम्भिक विवरणमा रुकुममा २ अर्बभन्दा बढीको क्षति भएको देखिएको छ । हालसम्म घाइते भएका ३०९ मध्ये १८१ डिस्चार्ज भएका छन् ।

२७ गम्भीर बिरामीको काठमाडौं, सुर्खेत, नेपालगन्जमा उपचार भइरहेको छ । हालसम्म ५२ को मृत्यु भएको सिडिओ हरिप्रसाद पन्तले बताएका छन् ।

सरोकारवाला र प्रभावितले राहत पर्याप्त नपुगेको गुनासो गरेका छन् ।

भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १ सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पमा परी दुई सयभन्दा बढी घाइते भएका छन् भने स्थानीयवासीको हजारौँ घरगोठलगायत भौतिक संरचनामा क्षति पुगेको छ ।

जाजरकोटका ९ सय ५ घरमा पूर्ण क्षति

भूकम्पमा परी जाजरकोटमा मात्रै ३ हजार ६ सय ५० घरमा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटको प्रारम्भिक तथ्यांकअनुसार भूकम्पका कारण जाजरकोटमा मात्रै ९ सय ५ घर पूर्णरुपले क्षतिग्रस्त भएका छन् ।

प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार भूकम्पका कारण जिल्लाभर ३ हजार ६ सय ५० घरमा क्षति पुगेको हो । त्यसमध्ये ९ सय ५ घर पूर्णरुपले क्षतिग्रस्त भएका छन् भने २ हजार ७ सय ४५ घरमा आंशिक क्षति पुगेको छ ।

सबैभन्दा धेरै भेरी नगरपालिकामा ३ सय ४४ वटा घर पूर्णरुपले क्षतिग्रस्त भएका छन् । नलगाड नगरपालिकामा २ सय घरमा क्षति पुग्दा छेडागाड नगरपालिकामा एक सय घरमा क्षति पुगेको छ ।

त्यस्तै, कुशे गाउँपालिकामा ९५, बारेकोट गाउँपालिकामा १ सय ६०, शिवालय गाउँपालिकामा १ र जुनिचाँदे गाउँपालिकामा ५ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

भूकम्पका कारण जाजरकोटमा मात्रै १ सय ५ जनाको मृत्यु भएको छ । मृतकमध्ये सबैभन्दा धेरै नलगाड नगरपालिकाका छन् ।

प्रमुख जिल्ला अधिकारी सुनारका अनुसार नलगाड नगरपालिकाका मात्रै ५५ जनाको मृत्यु भएको छ । भेरी नगरपालिकाका ३८, छेडागाड नगरपालिकाका १, कुशे गाउँपालिकाका ७ र बारेकोट गाउँपालिकामा ४ जनाको मृत्यु भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved