बजारमा चिनी सकिएको कि लुकाइएको ? यस्तो छ यथार्थ

काठमाडौँमा प्रतिकिलो ९० रुपैयाँको चिनी १२५ रुपैयाँमा किनबेच हुन थाल्यो । र अहिले त्यही महँगो चिनी पनि बजारमा सकिएको छ ।

बजारमा चिनी सकिएको कि लुकाइएको ? यस्तो छ यथार्थ

काठमाडौं । अहिले बाजारमा चिनीको चरम अभाव छ । औसत किराना पसलमा त चिनी पाउनै छाडिइसक्यो । यतिसम्म कि, सरकारले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरेको सुपथ मूल्य पसलमा समेत चिनी नपाएको गुनासो गर्छ, उपभोक्ताहरु । असारदेखि सुरु भएको चिनी अभाव दशैं नजिकिएसँगै उत्कर्षमा पुगेको छ ।

साउनको पहिलो सातादेखि नै बजारमा चिनी रित्तिन थाल्यो । त्यसपछि खुला सीमाबाट चिनी भित्रिन थाल्यो । काठमाडौँमा प्रतिकिलो ९० रुपैयाँको चिनी १२५ रुपैयाँमा किनबेच हुन थाल्यो । र अहिले त्यही महँगो चिनी पनि बजारमा सकिएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अर्थ मन्त्रालयलाई भन्सार महसुलमा ५० प्रतिशत छुट पाउने गरी ६० हजार टन चिनी आयात गर्न दिन भदौमा प्रस्ताव पठाएको थियो । उक्त प्रस्तावमा अर्थ मन्त्रालयले जम्मा २० हजार टन मात्र चिनी आयातका लागि स्वीकृति दियो ।

सोही २० हजार टन चिनीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भागबन्डा गर्दै साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १०–१० हजार टन आयात गर्न स्वीकृति दिएको छ । तर दुवै कम्पनीले आधा भन्सार सहुलियतको सो चिनी दशैं तिहारअगाडि नेपालमा ल्याउन नसकिने बताएका छन् । कम्पनीहरूका अनुसार ग्लोबल टेन्डरको प्रक्रियामा जानुपर्ने भएकाले स्वीकृत भएको चिनी नेपाल भित्र्याउन अझै करिब डेढ महिना लाग्ने छ ।

बजारमा चिनी सकिएकाले उपभोक्तालाई खाली हात पठाउनुपरेको खुद्रा व्यवसायी सन्तोष चन्द बताउँछन् । ‘चिनी सकिएको करिब एक महिना जति भइसक्यो’, उनले भने, ‘चिनी किन्न आउने ग्राहकहरूलाई खाली हात पठाउन परेको छ ।’

खुद्रा व्यवसायी संघका कोषाध्यक्ष वसन्त श्रेष्ठका अनुसार अधिकांश होलसेल पसलमा चिनीको अभाव छ । उनले भने, ‘एक महिनादेखि नै होलसेल पसलहरूमा चिनीको अभाव देखिएको थियो अहिले त अधिकांश होलसेल पसलहरूमा चिनी पाउन पनि छोडेको छ ।’ चाडबाडमा बजारमा चिनी सकिएर ग्राहकहरूलाई खाली हात पठाउन परेको दुखद रहेको उनले बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चाडबाडमा बजारमा चिनीको अभाव हुन नदिने बताएको थियो । यद्यपि, अहिले बजारमा चिनीको हाहाकार नै मच्चिएको छ । यतिबेला मन्त्रालय चिनी आपूर्ति गर्न विभिन्न दौडधुपमा लागेको मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले जानकारी दिएका छन् ।

उनका अनुसार सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले १०–१० हजार टन चिनी ल्याउन अनुमति पाएका थिए । जहाँ खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४५ दिने म्याद सहित असोज १० गते टेन्डर आह्वान गरेका थिए । जुन अवधि कात्तिक २५ गते सकिन्छ । यद्यपि, साल्ट ट्रेडिङले आह्वान गरेको टेन्डरको म्याद भने असोज २० गते नै सकिसकेको छ ।

सरकारले जिटुजी प्रक्रियामार्फत पनि ५० हजार टन चिनी भित्र्याउन कूटनीतिक पहल गरिरहेको प्रवक्ता ठाकुरले बताएका छन् । बजारमा चिनी सक्किएसंगै उपभोक्ताहरू चिनी किन्न साल्ट ट्रेडिङमा लाम लागेका छन् । साल्ट ट्रेडिङले उपभोक्ताहरूलाई प्रतिव्यक्ति २ किलोका दरले चिनी उपलब्ध गराइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved