‘झ्यापको ताल’मा अन्तरवार्ता दिएपछि सांसद बजगाईँ विवादमा, भन्छन्- रक्सी पिएर गाडी पो चलाउन हुँदैन

नेपालभ्युज

‘झ्यापको ताल’मा अन्तरवार्ता दिएपछि सांसद बजगाईँ विवादमा, भन्छन्- रक्सी पिएर गाडी पो चलाउन हुँदैन

काठमाडौं। मदिराले मातेर अन्तरवार्ता दिएपछि सांसद राजेन्द्र बजगाईँ विवादमा तानिएका छन्। उनले आइतबार राति प्राइम टाइम्स टेलिभिजनमा ऋषि धमलासँग दिएको अन्तरवार्तामा अस्वाभाविक प्रस्तुति देखिन्छ।

अस्वाभाविक आवाज, हाउभाउमा दिइएको अन्तरवार्ता युट्युब र फेसबुकमा आएलगत्तै कमेन्टको वर्षा भयो। सांसद राजेन्द्र बजगाईँले मदिराको सुरमा अन्तरवार्ता दिएको भन्दै गालीको वर्षाको भयो।

उनको हाउभाउ र लर्बरिएको आवाजले सहज अवस्थामा लिइएको अन्तरवार्ता होइन भन्ने स्पष्टै देखिन्थ्यो। अझ रोचक कुरो त सांसद बजगाईँ अन्तरवार्तामा बस्दा ‘क्याप टोपी’ पछाडि फर्काएर लगाएका थिए।

पछि उनले बोल्दाबोल्दै टोपी फुकालेर हातमा लिए। केही प्रश्नमा उनको जवाफ असान्दर्भिक र उत्तेजकसमेत थिए। अन्तरवार्तामा उनले ‘शेखर कोइरालालाई गगनले साथ नदिएको भन्दै उनी गगन थापासँग असन्तुष्टि पोखेका’ थिए।

अन्तरवार्तापछि बजगाईँले आफूले हल्का मात्रै पिएको स्विकारेका थिए। गाली खाइरहेका सांसद बजगाईँले भने फेसबुकमा लेखेका छन्, ‘मदिरा खाएपछि सवारी साधन पो चलाउन हुँदैन।’

युट्युब र फेसबुकमा पोस्ट गरेको भिडिओमा व्यापक गाली आएपछि अन्तरवार्ता हटाइएको छ।

टेलिभिजनको अफिसियल पेजबाट हटाइएपनि धेरैले भिडिओ डाउनलोड गरेर पोस्ट गरिरहेका छन्। गोरखा १ बाट निर्वाचित कांग्रेस सांसद बजगाईँ राजनीतिमा मात्र नभएर पर्यटन व्यवसायमा पनि स्थापित व्यवसायी हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved