विद्यालय परिसरमा छुरा प्रहार गरी एक शिक्षकको हत्या, दुई घाइते

नेपालभ्युज

विद्यालय परिसरमा छुरा प्रहार गरी एक शिक्षकको हत्या, दुई घाइते
सांकेतिक तस्वीर

एजेन्सी । उत्तरपूर्वी फ्रान्सको अरास शहरमा रहेको एक विद्यालयमा शुक्रबार भएको छुरा आक्रमणमा परी एक शिक्षकको मृत्यु हुनुका साथै अन्य दुई जना गम्भीर घाइते भएको प्रहरी तथा क्षेत्रीय अधिकारीहरूले बताएका छन् ।

आक्रमणकारी रूसको मुस्लिम बहुल दक्षिणी काकेशस क्षेत्र चेचन्याका रहेको र उनी सम्भावित सुरक्षा खतराका रूपमा फ्रान्सको राष्ट्रिय निगरानी सूचीमा पहिल्यै देखि नै थिए ।

घाइते हुनेमा एक सुरक्षाकर्मी र कम गम्भीर अवस्थामा रहेका एक शिक्षक रहेको स्रोतले जनाएको छ ।

विद्यालयका कुनै पनि विद्यार्थी घाइते नभएको प्रहरी स्रोतले जनाएको छ ।

गृहमन्त्री गेराल्ड डार्मानिनले ट्वीटरमा लेखेेका छन्, “ती व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ ।” स्थानीय प्रहरीले स्थिति नियन्त्रणमा आइसकेको र अब सर्वसाधारणका लागि कुनै खतरा नरहेको बताएको छ ।

आक्रमणपछि केही समय विद्यालयका विद्यार्थी र शिक्षकलाई विद्यालय परिसरमै सीमित गरिएको थियो ।

“अपराधीले अरबी वाक्यांश ‘अल्लाहु अकबर!’ (ईश्वर महान् हुनुहुन्छ) भनेर चिच्याएको थियो,” अनुसन्धानको प्रारम्भिक जानकारीबारे बताउँदै नाम नबताउने शर्तमा एक प्रहरी स्रोतले एएफपीसँग भन्यो । थप अनुसन्धानपछि अन्य जानकारी आउने उनले बताए ।

फ्रान्सले तत्काल उक्त आक्रमणको बारेमा आतङ्कवादी अनुसन्धान सुरु गरेको राष्ट्रिय आतङ्कवाद विरोधी अभियोजनकर्ताहरूले बताएका छन् ।

यस देशमा सन् २०१५ देखि इस्लामी चरमपन्थीहरूले शृङ्खलाबद्ध आक्रमणहरू भोगेका छन् । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved