बारामा एसएलसी सकेर नेपाल वेदविद्याश्रममा छोटो समय संस्कृत पढेकै भरमा उनले आफूलाई ‘आचार्य’ दाबी गर्छन्। बाराका दिनेश पण्डित कसरी ‘आचार्य श्रीनिवास’का रूपमा रूपान्तरित भए। ‘धार्मिक गुरु’ को परिचय दिने उनको नक्कली नाम र सक्कली कर्मको अन्तर यहाँ चिरफार गर्दैछौँ।
नेपालभ्युज
काठमाडौं। जनकपुरमा आयोजित धार्मिक सभामा ‘खुकुरी’ देखाउँदै उत्तेजक अभिव्यक्ति दिएपछि पक्राउ परेका ‘कथित धर्मगुरु’ आचार्य श्रीनिवास नाम राखेका दिनेश पण्डित छुटिसकेका छन्।
माफी दिएर आइन्दा हिंसा भड्काउने अभिव्यक्ति नदिने सर्तमा ५ सय रुपैयाँ जरिवानामा उनलाई छाडियो।
हातहतियार तथा खरखजना जस्तो गम्भीर कसुरमा सामान्य धरौटीमा छुटेका दिनेश पण्डित अहिले फेरि धार्मिक दङ्गा फैलाउने कसुरमा पनि छुटकारा पाउने भाग्यमानी कसुरदार ठहरिए।
‘‘गौ हत्या गर्ने जो कोहीलाई हत्या गरेर आए त्यसको आफूले जिम्मा लिने’’ भन्दै उनले विवादित अभिव्यक्ति दिएका थिए। उनले सार्वजनिक सभामै खुकुरी देखाएर भाषण गरेको भिडिओ सञ्जालमा छ।
गौहत्या प्रकरणले अशान्त बनेको धरान क्षेत्र बल्ल शान्त भएको बेलामा दिनेश पण्डितले दिएको भड्काऊ भाषण सामाजिक सञ्जालमा भाइरल छ।
बारामा एसएलसी सकेर नेपाल वेदविद्याश्रममा छोटो समय संस्कृत पढेकै भरमा उनले आफूलाई ‘आचार्य’ दाबी गर्छन्। बाराका दिनेश पण्डित कसरी ‘आचार्य श्रीनिवास’का रूपमा रूपान्तरित भए। पछिल्लो १० वर्षका गतिविधि हेर्ने हो भने त्यसले उनको असली चरित्र देखाउँछ। ‘धार्मिक गुरु’ को परिचय दिने उनको नक्कली नाम र सक्कली कर्मको अन्तर यहाँ चिरफार गर्दैछौँ।
बारामा एसएलसी पास, सुनसरीमा ‘आचार्य श्रीनिवास’
दिनेश पण्डित आफूलाई धर्मगुरु भनाउँछन्। यसका लागि उनले आफ्नो नाम नै बदलेका छन्। आफूलाई ‘धार्मिक गुरु’ बताउने उनको मुकुन्डो भने उनकै दुष्कर्मले उतारिरहेको छ। पछिल्लो १० वर्षका गतिविधि हेर्दा उनको असली चरित्र देखाउने जानकारहरू विश्लेषण सुनाउँछन्।
मुलुकमा गणतन्त्र आएसँगै राजावादी र हिन्दूवादीका ससाना समूह हिन्दुराष्ट्रको पक्षमा आवाज उठाउन थालेका थिए। त्यही समूहमा एक सदस्य थिए बाराका दिनेश पण्डित पनि। उमेर पनि १७- १८ को मात्र थियो। दिनेश २०६५ सालदेखि नै हिन्दू राष्ट्र र धर्म परिवर्तनविरुद्ध आन्दोलनमा सहभागी हुन थालेको उनलाई चिन्नेहरू बताउँछन्।
२०४८ सालमा जन्मिएका उनी अहिले ३२ वर्षका भए। स्थायी घर बाराको जितपुरसिमरा उपमहानगर–२ भए पनि उनको जन्म भने नुवाकोटमा भएको हो । नुवाकोट दिनेश पण्डितको मामाघर हो।
२०६८ साल अर्थात् २० वर्षको उमेरदेखि सुनसरीको चक्रघट्टीमा बस्दै आएका हुन्। उनी त्यो बेलादेखि नै पुराण वाचन गर्थे। उनको वाचनशैली आफ्नै खालको थियो। सो शैलीका कारण धेरै मानिस प्रभावित थिए । जसकारण उनलाई केही सप्ताहमा बोलाइन्थ्यो।
१६ वर्षको उमेरबाटै श्रीमद्भागवत पुराण वाचन गर्न थालेका उनलाई चिन्नेहरू बताउँछन्। दिनेश पण्डितले नेपाल वेदविद्याश्रम, वनकालीमा गएर छोटो समय मात्रै संस्कृत अध्ययन गरे। तर, उनले ‘आचार्य’ अर्थात् ‘स्नातकोत्तर’ गरेनन्। केही वर्ष मात्रै संस्कृत पढेका उनले ‘आचार्य’ नभइकनै नामको अगाडि आचार्य राखे।
उनले बाराकै निजी स्कुलमा कक्षा ५ सम्म पढेका थिए। त्यसपछि सामुदायिक विद्यालय भर्ना भएर एसएलसी उत्तीर्ण गरेका थिए। धार्मिक अभियानमा जोडिएपछि उनी संस्कृत पढ्न वनकाली आएका थिए।
यसरी उनी दिनेश पण्डितबाट ‘आचार्य श्रीनिवास’का रूपमा रूपान्तरित भए। युवा जोस, जाँगर भएका व्यक्ति देशमा हिन्दूराष्ट्र हुनुपर्छ भनेर आउँदा साथ दिनुपर्छ भनेर उनलाई सुनसरीमा धेरैले सहयोग गरेको स्थानीय बताउँछन्। एकताका उनी देशलाई हिन्दूराष्ट्र बनाउनपर्छ भन्दै काठमाडौंको शान्तिवाटिका र टुँडिखेलमा अनशन पनि बसेका थिए।
दिनेश पण्डितले आफूलाई धर्मगुरु भने पनि उनको काम भने पछिल्लो १० वर्षका गतिविधिले प्रष्ट पार्छ। असली चरित्र देखाउन केही उदाहरण नै काफी छन्।
१२ असोजमा जनकपुरमा आयोजित धार्मिक सभामा हिंसा फैलाउने उद्देश्य दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएपछि पक्राउ परेका थिए, दिनेश पण्डित। उनी तीन दिनपछि छुटे।
पछिल्लो समय नेपालगञ्जमा धार्मिक विवाद चर्किएको छ। नेपालगञ्ज शान्त बनाउन कर्फ्यु लगाइएको बेलामा उनी पक्राउ परेका थिए। सामाजिक सद्भाव बिथोल्न खोज्ने समूहहरू सक्रिय रहेपछि नेपालगञ्जमा आगो बल्दै थियो।
यही बेलामा पक्राउ परेका दिनेश पण्डित निकटकाले समेत प्रदर्शन गरेर उनको रिहाइको माग गर्दै प्रदर्शन गर्न थालेका थिए। आन्दोलन नहोस् भनेर प्रशासनले उनलाई कागज गराएर छाड्यो।
तर, दिनेश पण्डितले हिंसा भड्काउने अभिव्यक्ति दिएको पहिलोपटक भने यो होइन। डेढ महिनाअघि धरानमा चर्किएको विवादमा पनि उनले भूमिका थियो। सुनसरीको धरान–१५, श्यामचोकमा १० साउनमा चर्किएको आन्दोलनका बेला पनि दिनेश पण्डितले हिंसा भड्काउने अभिव्यक्ति दिएका थिए।
धरान–१४, सिंहदेवी चोक नजिकै बालगोपाल मन्दिर अगाडि चर्च बनाएको विषयमा उनले उत्तेजक अभिव्यक्ति दिएका थिए। युट्युबमा अन्तरवार्ता दिँदै उनले अरू समुदायप्रति आक्षेप लगाए।
धरानका मेयर हर्कराज साम्पाङलाई पनि गाली गरे। फरक सम्प्रदायका व्यक्तिलाई लाञ्छित गर्दै विवादास्पद अभिव्यक्ति दिएपछि उनीहरू आक्रोशित बनेका थिए।
उनले इसाई धर्मालम्बीविरुद्ध भड्काउपूर्ण अभिव्यक्ति मात्र दिएनन्, धार्मिक सद्भाव खलबलाउने दुस्साहस गरे। दुई समुदायबीच असहजता सिर्जना गर्न भड्काऊ गतिविधि गरे।
धरानमा धार्मिक साम्प्रदायिक हिंसा भड्किने स्थिति देखिएपछि भदौ ९ मा कर्फ्यु जारी गरियो। लगातारको कर्फ्यु र संयमताले त्यो घटना विस्तारै मत्थर भयो। सुरुमा पूर्व धरान, लगत्तै मधेसको सर्लाहीमा पनि उस्तै घटना भयो। तैपनि, दिनेश पण्डित उक्साउन पछि परेनन्।
दिनेश पण्डित धार्मिक हिंसा भड्काउन कतिसम्म गर्छन् भन्ने २५ चैत २०७४ को घटनाले देखाउँछ। उनले आफैँलाई गोली हान्नसमेत लगाएका थिए। हिन्दू धर्मगुरुमाथि अरू समुदायकाले आक्रमण गरेको प्रचार गर्दै हिंसा भड्काउनु उनको मूख्य योजना थियो। घटनको महिना दिनपछि २४ वैशाख २०७५ मा दिनेश पण्डित पक्राउ परे।
गोली लागेर घाइते भएका आचार्य श्रीनिवास
उनी स्वयंले पनि राष्ट्रवाद र हिन्दू धर्मका लागि आफूले आफैँलाई गोली हान्न लगाएको स्वीकारे। हातहतियार तथा खरखजानासम्बन्धी मुद्दामा केही समय जेल बसेपछि उनी छुटेका हुन्।
अहिले पश्चिम नेपालगञ्जमा सद्भाव कायम गर्न डेढ महिनायता मात्र तीन सहरमा कर्फ्यु लगाउनुपरेको छ। यो अवस्थामा संयमित हुनुपर्नेमा फरक धार्मिक समुदायलाई लक्षित गरी उत्तेजना फैलाउन फेरि सक्रिय छन्, उनी।
Facebook Comment
Comment