नयाँ नोट सटहीमा विद्युतीय भुक्तानीलाई प्राथमिकता

नेपालभ्युज

नयाँ नोट सटहीमा विद्युतीय भुक्तानीलाई प्राथमिकता

काठमाडौं। नेपाल राष्ट्र बैंकले नजिकिँदो चाडबाडलाई लक्षित गर्दै नयाँ नोट सटहीको प्रक्रिया सुरु गर्ने भएको छ । बैंकले बर्सेनि चाडबाड लक्षित नयाँ नोट सटही सुविधा खुलाउँदै आएकोमा यस वर्ष पनि ५, १०, २०, ५० र १०० दरका एक एक बन्डल नोट सटहीको सुविधा उपलब्ध गराउने भएको भएको हो ।

दशै, तिहार र छठलाई लक्षित गरी घटस्थापनादेखि नयाँ नोट सटही सुविधा सुरु गर्ने गरी आन्तरिक गृहकार्य भइरहेको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख नरेश शाक्यले बताए । उनले अघिल्ला दुई वर्षमा झैं यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध गरिने जानकारी गराएका छन् ।

नयाँ नोट सटही सुविधा सुरु गर्नलाई राष्ट्रबैंकका प्रादेशिक कार्यालय र नोट कोष सुविधा लिएका बैङ्कहरूसँग नयाँ नोटको विवरण मागेको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख शाक्यले बताए । उनले भने, ‘हामीले राष्ट्रबैंकका प्रादेशिक कार्यालय र नोट कोष सुविधा लिएका बैङ्कहरूसँग नोटको विवरण मागेका छौँ, नोटको विवरण सङ्कलन भइसकेपछि घटस्थापनाको आसपासदेखि नयाँ नोटको सटही प्रक्रिया सुरु हुनेछ ।’

उनले बैंक तथा वित्तीय संस्थालाई भने ग्राहकको सङ्ख्या र संस्थाको माग अनुसार राष्ट्र बैंकले नयाँ नोट उपलब्ध गराउने बताए । पछिल्ला वर्षमा राष्ट्र बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्दै आएको छ । विस्तारै नगद कारोबारको सीमा घटाउँदै जाने रणनीति राष्ट्र बैंकले लिएको शाक्य बताउँछन् ।

उनका अनुसार पछिल्ला वर्ष झैँ यस वर्ष पनि राष्ट्रबैंकले नयाँ नोट सटही प्रक्रियामा विद्युतीय भुक्तानीलाई प्रोत्साहन दिने भएको छ । उनले भने, ‘क्युआर कोड मार्फत भुक्तानीमा जोड दिन्छौँ तर क्यास भुक्तानी गर्दा नोट साट्न पाइँदैन भन्ने चाहिँ होइन, सबैले पाउँछन् ।’

शाक्यका अनुसार बर्सेनि ६० देखि ७० अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही हुन्छ । यसमध्ये १२ देखि १५ अर्ब रुपैयाँ नयाँ नोट मात्र सर्वसाधारणले पाउँछन्, बाँकी बैंक तथा वित्तीय संस्थाले राख्छन् । उनले विशेषतः राष्ट्र बैंकको चाडबाड लक्षित नयाँ नोट सटहीमा सयभन्दा साना नोटहरू साटिने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved