राष्ट्रपति एर्दोगान र संयुक्त राष्ट्रसंघका प्रमुखबीच ब्ल्याक सी खाद्यान्न सम्झौताबारे छलफल

नेपालभ्युज

राष्ट्रपति एर्दोगान र संयुक्त राष्ट्रसंघका प्रमुखबीच ब्ल्याक सी खाद्यान्न सम्झौताबारे छलफल

अङ्कारा । ‘ब्ल्याक सी’ मा भएको खाद्यान्न सम्झौतालाई पुन: कार्यान्वयनमा ल्याउने मध्यस्थताका लागि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान संयुक्त राष्ट्रसङ्घीय अधिकारीसँग निकट सम्पर्कमा रहेको टर्कीले जानकारी गराएको छ ।

एर्दोआनलाई उद्धृत गर्दै अर्धसरकारी अनादोलु एजेन्सीले दिएको समाचारमा मङ्गलबार भनिएको छ, “छिट्टै नै ‘राम्रो परिणाम’ प्राप्त हुने विश्वास लिइएको छ ।”

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सोमबार रूसको ‘ब्ल्याक सी’ रिसोर्ट सोचीमा भएको भेटपछि अनादोलुले मङ्गलबार उल्लेख गरेको छ, “टर्की ‘ब्ल्याक सी ग्रेन इनिसियटिभ’ पुनः सुरु गर्न संयुक्त राष्ट्रसङ्घसँग राष्ट्रपति एर्दोगान निकट सम्पर्कमा रहनुभएको छ र आगामी महासभाका अवसरमा न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँग यस विषयमा छलफल गर्नुहुनेछ ।”

टर्कीका राष्ट्रपतिले पुटिनसँग सम्झौतालाई पुन: जीवित गर्नका लागि रूसका दुई मुख्य शर्तहरू रहेको बताएका छन् । मस्कोले खाद्यान्न निर्यातको भुक्तानी सहज गराउन आफ्नो कृषि बैङ्कलाई स्विफ्ट भुक्तानी प्रणालीमा पुनः जडान गर्ने र सम्झौतामा सम्लग्न रूसी जहाजहरूको लागि बीमा प्रदान गरिनुपर्ने मुख्य दुई शर्तहरू रहेको महासचिव गुटेर्रेसलाई जानकारी गराएको एर्दोगानले बताए ।

एर्दोगानले संयुक्त राष्ट्रसङ्घले हालै रूसको एउटा मागलाई सम्बोधन गर्ने प्रस्ताव अघि सारेको पनि बताए ।

“अगस्ट २८ मा पठाएको पत्रमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले रूसले चाहेजस्तो स्विफ्ट नभई स्विफ्ट कारोबारबाट प्राप्त हुने मध्यस्थ संयन्त्रको प्रस्ताव गर्नुभएको छ,“ एर्दोगानले रूसबाट टर्की जाने क्रममा सञ्चारकर्मीसँग बताए।

सन् २०२२ को जुलाईमा इस्तानबुलमा टर्की र संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएको खाद्यान्न सम्झौतालाई रूसले जुलाईमा आफ्नो समकक्षीहरूको अपूर्ण दायित्वको आरोप लगाउँदै यसबाट पछि हट्ने निर्णय गरेपछि सम्झौता भङ्ग भएको थियो । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved