उत्तरी नाका खोल्न कर्णालीका उद्योगीको माग

उत्तरी नाका खोल्न कर्णालीका उद्योगीको माग

सुर्खेत । कर्णालीका उद्योगी तथा व्यवसायीहरूले कर्णालीका उत्तर नाका खोल्न प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग माग गरेका छन् । चीनसँग जोडिएका नाकाहरू खोल्नका लागि पहल गरिदिन कर्णालीका उद्योगी तथा व्यावसायीहरूले माग गरेका हुन् ।

कोरोना कालदेखि बन्द गएका उत्तरी नाकाहरू अझै नखुलेका कारणले उत्तरी नाका खोल्न माग गरिएको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले जानकारी दिए । ‘चीनसँग जोडिएका कर्णालीका मुगुको नाक्चे नांग्ला, हुम्लाको हिल्सा र डोल्पाको मरिम्ला नाका खोल्न आग्रह गरेका छौं ।’ उनले भने,‘सुर्खेत उद्योग वाणिज्य संघका तर्फबाट विभिन्न १९ बुँदे मागपत्र प्रधानमन्त्री प्रचण्डलाई बुझाएको छौं ।’

मागपत्रमा लामो समयदेखि रोकिएर रहेका चौकुने र लखरपाटामा सिमेन्ट कारखाना स्थापनाका लागि सडक, विद्युत् लगायतका आवश्यक पूर्वाधार एवं संरचना बनाउनुपर्ने, सुर्खेतको साटाखानीमा प्रस्तावित एक हजार बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाका लागि यथाशीघ्र कार्यारम्भ गर्नुका साथै यस प्रदेशअन्तर्गत प्रत्येक जिल्लामा औद्योगिक ग्राम स्थापना गर्नुपर्ने माग राखेको अध्यक्ष कँडेलले बताए ।

‘विगतमा अन्वेषण प्रारम्भ गरिएको दैलेखको पञ्चकोशीमा पेट्रोलियम पदार्थ उत्खनन प्रक्रिया तीव्र गतिमा अगाडि बढाउनुपर्ने, सुर्खेतलाई विद्युतको १३२ केभीए राष्ट्रिय प्रसारण लाइनमा जोड्ने उद्देश्यले सुरु गरिएको हाइटेन्सन लाइन विस्तारका क्रममा देखिएका अवरोध हटाई निर्धारित अवधिमै काम सम्पन्न गर्न प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने माग राखेका छौं ।’ उनले भने,‘कर्णालीमा अर्गानिक कृषिको प्रवर्द्धन तथा व्यावसायिकीकरणका लागि अर्गानिक कृषि अनुसन्धान केन्द्र तथा अन्य आवश्यक पूर्वाधार एवं नीतिगत तयारी गर्न पहल गरिनुपर्ने, जाजरकोट र कालीकोटमा पाइने बहुमूल्य रत्नपत्थर उद्योग स्थापना गर्नुपर्ने माग गरेका छौं ।’

सुर्खेतमा प्रस्तावित प्रदेशस्तरीय मेडिकल कलेज स्थापनाका लागि तत्काल ठोस काम सुरु गर्नुपर्ने, कम्पनी रजिस्ट्रारको प्रादेशिक कार्यालय सुर्खेतमा स्थापना गरी सेवा आरम्भ गर्नुपर्ने, नेपाल राष्ट्र बैंकको सुर्खेत कार्यालयलाई पूर्वाधार तथा अधिकार सम्पन्न गराई क्षेत्राधिकार अनुसार सेवा प्रवाह योग्य बनाउनुपर्ने, कर्णालीमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै आयोजना गर्नका लागि पर्याप्त बजेटलगायतको व्यवस्थापन गर्नुपर्ने, पछिल्लो समय देखिएको आर्थिक संकटको अन्त्यका लागि बजारमैत्री नीति अवलम्बन गर्नुपर्ने र एक प्रदेश एक शीत भण्डारण स्थापना गर्नुपर्ने माग गरेको अध्यक्ष कँडेलले बताए।

सुर्खेत उद्योग वाणिज्य संघले राखेको माग प्रति प्रधानमन्त्री सकारात्मक रहेको र चीनतर्फका उत्तरी नाका खोल्नका लागि आगामी प्रधानमन्त्रीको चीन भ्रमणका बेला त्यो विषय राख्ने जानकारी दिएको अध्यक्ष कँडेलले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved