एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक भोलि, मंगलबारदेखि केन्द्रीय समिति बैठक बस्ने

नेपालभ्युज

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक भोलि, मंगलबारदेखि केन्द्रीय समिति बैठक बस्ने

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठक यही भदौ ३ गते (भोलि)बाट सुरु हुने भएको छ ।

शनिबार काठमाडौंको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले भदौ ३ र ४ गते पोलिटब्यूरो बैठक बस्ने औपचारिक निर्णय गरेको हो । त्यसैगरी भदौ ५, ६ र ७ गते केन्द्रीय कमिटी बैठक पनि बोलाइएको छ ।

दुवै बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभार नै मुख्य एजेण्डा हुने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

पोलिटब्यूरो बैठकले केन्द्रीय कमिटी बैठकको तयारी गर्ने र त्यसले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे महत्वपूर्ण निर्णय गर्ने पनि उनले बताए ।

‘भोलि र पर्सीको पोलिटब्युरो बैठकमा वर्तमान परिस्थिति, वर्तमान राजनीति अथवा समसामयिक परिस्थिति र हाम्रो पार्टीको आगामी कार्यभार नै हाम्रो मुख्य विषय बनेको छ’ प्रवक्ता खतिवडाले भने, ‘यसैको सेरोफेरोमा पोलिटब्युरो सदस्यहरुले आफ्नो धारणा राख्नु हुनेछ । र, पर्सी हामी यो बैठकको समापन गर्नेछौं ।’

उनले आइतबार बेलुका ६ बजे समाजवादी मोर्चाको बैठकमा पनि बस्ने पनि जानकारी दिए । ‘सबै बैठकपछि ७ गते हाम्रो केन्द्रीय कमिटी बैठक निश्कर्षमा पुग्छ’ उनले भने, ‘धेरै महत्वपूर्ण निर्णय र प्रस्तावहरू त्यही बेला पारित हुँदैछन् ।’

नेकपा एस आगामी माघमा सम्पन्न हुनेगरी राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । सम्मानित नेता झलनाथ खनालले नेतृत्वका लागि आफ्नो दाबी हुने/नहुने भन्ने कुरा महाधिवेशन हलले नै तय गर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved